पशुपतिनगर :
भारतको दार्जिलिङ्ग जिल्लासँग सीमा जोडिएको पशुपतिनगर भारततिरबाट नेपाल प्रवेश गर्ने प्रमुख पहाडी नाका हो । यहाँ दैनिक ठूलो संख्यामा दार्जिलिङ्गतिरबाट भारतीय पर्यटकहरु आउने गर्दछन् । यहाँको बजारमा तेस्रो मुलुकका सामग्रीहरु पाइने हुनाले दार्जिलिङ्ग भ्रमणमा आएका भारतीय पर्यटकहरु किनमेल गर्न यहाँ आउँदछन् । यहाँका होटेलहरुले पर्यटकहरुका आधारभूत मागलाई सम्बोधन गरेको छ । धार्मिक दृष्टिबाट पनि पर्यटकहरु यहाँ आउँदछन् । यहाँ पशुपतिनाथको मन्दिर छ । इलामको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सन्त स्वामी सोमेश्वरानन्दले यहाँ आश्रम बनाई बसेका थिए । उनले प्रयोग गरेको पानीको कुवा लगायतका ऐतिहासिक कुराहरुलाई संरक्षण गर्ने प्रयास भइरहेको छ । पशुपतिको रुङ्गसुङ्गमा रहेको दुईतले झर्ना अत्यन्त सुन्दर छ । त्यस्तै यसै गाविसको मेहेलबोटेमा अवस्थित मंगलधाम मन्दिर यस क्षेत्रका कृष्ण प्रणामी संप्रदायका मानिसहरुको मुख्य तीर्थस्थल रहिआएको छ । यस गाविसमा पुराना बौद्ध गुम्बाहरु समेत रहेका छन् । पशुपतिनगरको रुङ्सुङमा अवस्थित तीन तले झर्ना रहेको छ ।
फिक्कल :
झापा–इलाम मेची राजमार्गको बीच खण्डमा पर्ने फिक्कल इलामको पूर्वी व्यापारिक केन्द्र हो । यहीबाट सीमावर्ती पशुपनिनगर जाने बाटो छुट्दछ । यसले इलामको उत्तर पूर्वी भागमा रहेका नयाँ बजार, गोर्खे लगायतकका क्षेत्रसँग सोझो व्यापारिक कारोबार गर्दछ । व्यापारिक दृष्टिले मात्रै होइन पर्यटनका दृष्टिबाट पनि यो ठाउँ महत्वपूर्ण रहँदै आएको छ । मेची राजमार्गमा चल्ने सवारी साधनको मुख्य बिसौनी थलो पनि फिक्कल नै हो । लाप्चाहरुको बसोबास भएको फिक्कल क्षेत्र साँस्कृतिक दृष्टिबाट पनि महत्व राख्दछ । यस क्षेत्रमा रहेका फेन्सोङ गुम्बा (वडा नं ६) र याङथोङ गुम्बा (वडा नं. १) ऐतिहासिक गुम्बाहरु हुन् । पान्दाममा रहेको काजी कोठी लाप्चाहरुको ऐतिहासिक महत्वको थलो हो ।
जैविक विविधता :
इलाम जैविक विविधताका दृष्टिले सम्पन्न छ । समुद्री सतहबाट १४० मिटर देखि ३६३६ मिटरको उचाईसम्म फैलिएको जिल्लामा भूगोल र हावापानीको विविधताले पारिस्थितिक प्रणाली, प्राणी तथा वनस्पतिको विविधतापूर्ण उपस्थिति रहेको छ । चारवटा माईखोलाका जलाधार क्षेत्र र कञ्चनजङ्घा सिंहलिला भूपरिदृश्यमा रहको इलाममा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा लगायतका वन्यजन्तु, गिद्ध, कालिज, श्वेनबाज, गरुड लगायतका चराचुरुङ्गीहरु, अनेकौँ प्रजातिका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायत उभयचरहरु, विभिन्न प्रजातिका लालीगुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायत वनस्पतिहरु, चिराइतो, पाँचऔले, लगायतका जडिबुटीहरु पाइन्छ । इलाममा लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गीहरु, उभयचर, वनस्पति र जडिबुटी अध्ययन अनुसन्धान गर्न चाहाने व्यक्तिका लागि पनि एक गन्तव्य हो ।
विभिन्न जातिको संस्कृति तथा महत्वपूर्ण जात्रा :
लेप्चा, लिम्बु, क्षेत्री, नेवार, बाहुन, तमाङ, राई, शेर्पा, गुरुङ्ग, मगर, कामी, दमाई, सार्की, थारु, यादव, ठकुरी, कुमाल, सुनुवार, थामी, माझी र माडवारी समुदायको बसोबास रहेको छ । यी जातिको आ–आफ्नै जातिको भेषभुषा, रहनसहन, सास्कृतिक झाँकीले पर्यटकलाई लोम्याउने गरेको छ । २०५८ को जनगणना अनुसार इलाम जिल्लाको जनसंख्या इलाम २ लाख ८२ हजार आठ सय २२ रहेको छ । लेप्चा जाति नेपालको इलाम जिल्लाको पूर्वी १५ गाविसमा मात्र बसोबास रहेको छ । लोपोन्मुख जातिमा सुचिकृत लेप्चा जातिको संस्कृति, रहनसहनको अध्ययनका लागि मानिसहरु आउने गरेका छन् । लेप्चा जातिको संस्कृति, नृत्य तथा पुराना सामग्रीहरु पर्यटकका आकर्षणका केन्द्र हुन् । लेप्चा जातिको दूई सय वर्ष पूरानो गुम्बा फिक्कल गाविस वडा नम्बर एक स्थित कजेनीमा रहेको छ । ५८ रोपनी क्षेत्रफलमा फैलिएको गुम्बा परिसरमा लाप्चा जातिले आफ्नो संस्कृति झल्किने भेषभुषामा नृत्य गर्दै आएका छन् । विभिन्न जातिको संस्कृति बाहेक इलाममा परम्परागत रुपमा मनाइने रोपाईजात्रा र गाईजात्रा यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएका छन् । रोपाईजात्रा गाइजात्राको पछिल्लो दिन धुमधामसाथ परम्परादेखिनै मनाइदै आएको छ । पुरुषले महिलाको भेष लगाएर रोपाइ गर्दै मनाइने जात्रामा नेपाली मात्र नभएर विदेशी पर्यटकसँगै नाच्ने गरेका छन् । रोपाइ जात्रामा रमाउन इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा लगायत जिल्लाका हजारौ मानिसको भिड लाग्ने गरेको छ । एक सय ५० वर्ष पहिले देखि प्रचलनमा आएको रोपाइजात्रामा रोपारले झ्याउरे गीतको तालमा कम्मर मर्काइ–मर्काइ नाँच्न र धान रोपेको अभिनय गर्ने कलाकारको संख्या उत्तिकै बढेको छ । जमिनदारले बेठी लगाएर पञ्चेबाजाको धुनमा रोपाई गर्ने पुरानो चलनको सिको गरी इलाममा राणाकालदेखिनै जात्रा मनाउने प्रचलन रहको छ । परम्परागत रुपमा मनाइदै आएको जात्रा लाखेजात्रा पनि हो । इलामको जिल्लाका विभिन्न गाउँमा मनाइएको छ । नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा जात्रा नेपाल भाषा तथा संस्कृति समाजले आयोजना गर्दै आएको छ । यो जात्रा इलाम बजार मंगलबारे, पशुपतिनगर, फिक्कल लगायतका क्षेत्रमा मनाइदैँ आएको छ ।
माबुथाम :
इलामको उत्तरी गाविस माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रुपमा रहेकोछ । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु पाइने बलुबन, भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरु हुन् । यस स्थानबाट नजिकै रहेको अर्को पर्यटकीय गन्तब्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपुर्ण रहेकोछ । इलाम सदरमुकामबाट बिब्ल्याँटे, सुलुबुङ्ग, माईखोला, सोमबारे बजार हुदै जीपबाट लगभग ३ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । पर्यटकहरुका लागि सिमित संख्यामा होटल र होमस्टेहरु सञ्चालित रहेका छन् ।
पर्यटनमा भएका गतिविधि :
इलामको पर्यटक विकासका लागि सरकारी प्रयासमा काम हुदै आएका छन् । राष्ट्रिय स्तरमा कमै मात्रामा पर्यटन सम्बन्धि गतिविधि भएपनि जिल्ला विकास समिति, गाउँ विकास समिति र गैरसरकारी संस्थाको समन्वयमा पर्यटन मैत्री गतिविधि हुदै आएका छन् । जिल्ला विकास समिति इलामले लामो सयमपछि इलाम उद्योग वाणिज्य संघको प्राविधिक सहयोगमा पर्यटन गुरुयोजना तयार पारेको छ । पर्यटन गुरुयोजनामा इलामको पर्यटकीय क्षेत्रको पहिचान गरी संरचना निर्माणका लागि जोड दिएको छ । इलाममा नेपाल भ्रमण वर्ष–१९९८मा पर्यटन प्रर्वद्धन गतिविधि, पर्यटन विकास कार्यशाला, पर्यटन सम्भावना, विकास र प्रबद्र्धन विषयक प्रतिवेदन तयारी, ब्रोसर प्रकाशन, पर्यटकीय क्षेत्र पहिचान र होर्डिङ बोर्ड निर्माण, पर्यटकीय पदयात्रा मार्ग पहिचान, पर्यटक गाइड, इलाम जिल्लाको पर्यटकीय स्थल र पदयात्रा मार्ग पहिचान र प्रकाशन लगायतका काम भएका छन् । यस बाहेक सरकारी तथा गैरसरकारी संस्थाको पहलमा गरिएको इलाम महोत्सव, अन्तु महोत्सव, सिद्धिथुम्का महोत्सव, माईपोखरी महोत्सव, पाथिभरा महोत्सव, कन्याम महोत्सव, गजुरमुखी महोत्सव, माबु–सन्दकपुर महोत्सव, माङ्मालुङ्ग महोत्सव, लारुम्बा महोत्सव, माइमझुवा महोत्सवले समेत पर्यटकीयस्थलको प्रचार प्रसार र प्रवद्र्धनको काम गरेका छन् ।