इलाम यी पर्यटकीयस्थल बारे तपाईं कतिको जानकार हुनुहुन्छ ?

 1152 पटक हेरिएको

11-sandakpur

भौगोलिक बनोट, चिया अम्लिसो, अदुवा, अलैँची, अकबरे खोर्सार्नी, ओलन जस्ता नगदेबालीले, सुधारिएको जीवन शैली, जैविक विविधता, धार्मिक क्षेत्र, जातीय संस्कृति, प्राकृतिक सुन्दरताले इलाम विश्वमा नै प्रख्यात छ ।

प्राकृतिक सौन्दर्य, भौगोलिक विविधता, अनुकूल हावापानी, जैविक विविधताको प्रचुरता र विभिन्न जनजातिहरुको मौलिक संस्कृतिको अवलोकन गर्न पर्यटक इलाम आउँछन् । सिंहलीला पर्वतश्रृंखला र महाभारत पर्वतश्रृंखला, तिनबाट उत्पत्र नदी प्रणाली, धपक्क चियाले ढाकेका डाँडाहरु, विश्वमै दूर्लभ एवं लोपोन्मुख जीव र वनस्पतिहरु, मिहेनती किसानहरुले गरेको कृषि र पशुपालन आन्तरिक र वाह्य आगन्तुकको मन लोभ्याउने गरेको छ । पहाडकी रानी उपनामले परिचत इलाममा प्रकृति र संस्कृतिको संगम इलामको पर्यटन विकास तथा व्यवसाय मुख्य आधार हुन् भनिन्छ । यसकारण यहाँ पर्यापर्यटन, कृषि–पर्यापर्यटन, चिया पर्यटन, धार्मिक–सांस्कृतिक पर्यटन र मनोरञ्जन पर्यटनको सम्भावना छ भन्दा अनर्थ नहोला ।

सन्दकपुर :

उत्तरी सीमावर्ती सन्दकपुर पूर्वाञ्चलकै प्रमुख पर्यटकीय गन्तव्य हो । सदरमुकाम इलामबाट माबुबाट कालपोखरी हुँदै मोटरबाट यात्रा गरि सन्दकपुर पुग्न सकिन्छ ।

यस्तै सदरमुकामबाट माइपोखरी माइमझुवा हुदै सन्दकपूरको यात्रा गर्न सकिन्छ । सदरमुकामबाट सन्दकपुरको दूरी करिब ४५ किलोमिटर छ ।

३ हजार ६ सय ३६ मिटरको उचाईमा अवस्थित सन्दकपुरबाट सगरमाथा, कञ्चनजङ्घा हिमाललार्ई १ सय ८० डिग्रीको सोझो सतहमा देख्न सकिने दक्षिण एसियाकै एक मात्र स्थान हो ।

यहाँबाट सूर्योदय र सूर्यास्तको राम्रो अवलोकन गर्न सकिन्छ । यहाँ पूग्ने पर्यटक दर्जनौं प्रजातिमा फुल्ने लालीगुराँस हेरेर आनन्द लिने गरेका छन् । यहाँ असोज, कात्तिक, चैत र वैशाखमा पर्यटकको चाप रहेको छ । पुस र माघ महिनामा हिमपात हुने भएकाले यो मौसममा हिउँ खेल्ने पुग्ने पर्यटकको संख्या बढ्दै गएको छ ।

माईपोखरी :
इलाम सदरमुकामबाट करिब १८ किलोमिटर उत्तरमा रहेको माइपोखरी नेपालको मात्र नभएर विश्वको एक संरक्षण क्षेत्र तथा पर्यटकीय गन्तव्य हो । यो पोखरी धार्मिक आस्थाको केन्द्र हुनुका साथै जैविक विविधताले धनी रहेको छ । माइपोखरीलाई सन् २००८मा विश्व रामसार सुचीमा सुचिकृत गरी नेपालको नवौं र मध्यपहाडी क्षेत्रको पहिलो रामसार क्षेत्र घोषणा गरे पछि यसको विश्वव्यापी पहिचान समेत स्थापित गर्न मद्दत पुगेको छ । नौवटा कुनामा फैलिएको माइपोखरीको नामाकरणका बारे बताउँदा माई अर्थात आमा र पोखरी अर्थात तलाउ जसबाट जल देवता भएको विश्वास गरिन्छ । बलिप्रथा निषेध रहेको यस पोखरीमा मनोकामना पुर्ण होस् भनेर भाकल गर्ने र परेवा उडाउने प्रचलन रहेकोछ । कुनै समयमा पोखरी वरिपरिका रुखबाट खसेका पातपतिङ्गरहरु चराचुरुंङ्गीहरुले टिपेर बाहिर फ्याँक्ने, पोखरीमा पञ्चेबाजा, शंखघण्ट बज्ने र पोखरीबाट अकस्मात अनौठो ज्योति निस्केर तुरुन्तै लोप हुने रहस्य रहेको स्थानीयबासी बताउँछन् । वैशाखे पुर्णिमा र ठुली एकादशीका दिन माईपोखरीमा विशेष पुजा अर्चना र मेला लाग्ने प्रचलन रहेकोछ । माईपोखरीमा रैथाने गलैंचे झ्याउ, रुख भ्यागुतो, ठकठके दुर्लभ जन्तु एवं वनस्पति पाइनुका साथै ३ सयभन्दा बढी चराको आवाजबाट पर्यटक आनन्द लिने गरेका छन् । २ हजार १ सय २१ मिटरको उचाइमा अवस्थित माईपोखरीमा २ हेक्टर जलासयसहित १२ हेक्टर क्षेत्रमा फैलिएको छ । संरक्षित क्षेत्रमा पाइने पानी गोहोरो पाँचथरबाहेक नेपालका अन्य ठाउँमा पाइँदैन् । पोखरी वरिपरि विभिन्न प्रजातिका गुराँस, १६ प्रकारका सुनाखरी तथा ६२ प्रकारका जडीबुटी पाइन्छन् । माईपोखरी क्षेत्रमा ३ प्रजातिका रैथाने माछा, ६ प्रजातिका उभयचर, १२ प्रजातिका सरिसृप, १४ प्रजातिका स्तनधारी प्राणि पाइन्छ ।
सिद्धिथुम्का :
इलाम जिल्लाको सदरमुकाम इलाम बजारबाट १५ किलोमिटर पश्चिममा रहेको सिद्धिथुम्का समुद्र सतहबाट १६९३ मिटरमा अवस्थित छ । सिद्धिथुम्का चुली सूर्याेदय र सूर्यास्त दृश्यावलोकन हत्केलामा राखेर झै हेर्न सकिन्छ । अजम्बरे डाँडा, खान्द्रुङ गुफा, नामथला, फुलबारी, पोखरीगाउँ, पङ्खेलुङ झर्ना, रातोपानी, फाल्गुनन्द माङ्हिम, सिंहदेवीस्थान, जलकन्यादेवी लगायतका आर्कषक पर्यटकिय गन्तव्यहरु छन् ।
अन्तु
अन्तुडाँडा सूर्योदयका लागि उत्कृष्ट गन्तव्य हो । यहाँबाट कञ्चनजङ्घा हिमाल र भारतीय सीमावर्ती क्षेत्रको राम्ररी अवलोकन गर्न सकिन्छ ।
नेपालको पूर्वी सिमाना मेची नदीको उद्गम स्थल समेत रहेको अन्तु क्षेत्रमा सूधारिएको जीवनशैली पर्यटकका लागि अध्ययनको विषय बन्दै आएको छ ।
समुदायबाट अन्तु पर्यटन क्षेत्रमा ग्रामीण पर्यटनको योजनावद्ध शुरुवात गरेकाले पर्यटन प्रवद्र्धनमा यहाँको समुदाय निरन्तर सक्रिय रहेको छ ।
अन्तु पोखरी र लोपोन्मुख लाप्चा जातिको संस्कृति यहाँ पूग्ने जो कोही पर्यटकका लागि अर्को खोजीको विषय हुदै आएको छ ।
यहाँ पर्यटक बस्नका लागि होमस्टे दर्ता गरी संचालन गरिएकाले पर्यटकलाई अन्तुबासीले स्थानीय क्षेत्रमा पाइने परिकार खुवाउने गरेका छन् ।
छिन्तापू
समुद्री सतहबाट तीन हजार दूई सय मिटरमा अवस्थित मनोरम स्थान, जैविक विविधता र प्रकृतिले सिंगारिएको रुपमा इलामको छिन्तापु रहेको छ । इलामको माइमझुवा र पाँचथर जिल्लाको सीमा क्षेत्रमा रहेको छिन्तापू फागुन, चैत र बैशाखमा थरिथरिका गुराँसहरुको फुलले रमणीय बन्दै आएको छ । छिनछिनमा फेरिने मौसम, चिसो बतासले रमाउने पर्यटकलाई हिमश्रृङ्खलाहरुको दृश्यावलोकले चकित पार्ने गरेको छ । कञ्चनजङ्घा, सगरमाथा लगायतका नेपाल, भारत र भुटानका हिमश्रृङ्खलाहरु आँखै अगाडी देख्न सकिन्छ । लालीगुराँसको घना जङ्गल, भौगोलिक बनावटको अवलोकन छिन्तापुमा जसरी अन्य स्थानमा पाउन सायदै गाह्रो पर्ला । छिन्तापु क्षेत्र वरिपरि रहेका आधा दर्जन बढी पोखरीले यहाँ आउने पर्यटकलाई सिमसार क्षेत्रको अध्ययनका लागि सहयोग पुग्ने निश्चित छ । यहाँ इलाम सदरमुकाम बरबोटेको बिब्ल्याँटे माईपोखरी हुँदै पुग्न सकिन्छ ।
पाथीभरा
भक्तजनको भिडले खचाखच हुने पाथिभरा मन्दिर इलाम जिल्लाको दक्षिणपूर्वी कोल्बुङ्ग गाविसमा रहको छ । पाथिभरा मन्दिर कोल्बुङ्ग गाविसको कुटिडाँडादेखि करिब ८०० मिटर उकालो पैदल यात्रापछि पुग्न सकिन्छ । धार्मिक महत्वको क्षेत्र पाथिभरा समुद्री सतहबाट १ हजार ८ सय चालिस मिटरमा अवस्थित रहेको छ । कोल्बुङ्ग गाविसको कुटिडाँडा खण्डबाट १ हजार तेत्तीस वटा खुट्किला चढ्दा पर्यटकले आनन्दायी अनुभुति गर्दै आएका छन् । ताप्लेजुङ्ग जिल्लामा रहेको पाथिभरा देवीको अन्तरी बहिनी भनेर चिनिने भएकाले यहाँलाई सानो पाथिभरा पनि भन्ने गरिन्छ । यहाँ प्रत्येक शनिबार र मङ्गलबार भक्तजनको भिड लाग्ने गरेको छ । मन्दिरमा विवाह ब्रतबन्ध तथा पुराण जस्ता उत्सव पनि हुने गरेको छ । यहाँ नेपाल बाहेक भारत, बंगलादेश र भुटानसम्मका भक्तजनको भिड लाग्ने गरेको छ । वि.सं.२०५१ सालमा विधिवत रुपमा पाथिभरा मन्दिर संरक्षण समिति गठन भएपछि यहाँको विकास गर्दै आएको पाइन्छ । इलाम जिल्लाको सदरमुकामबाट ४९ किलोमिटर दक्षिण पुर्वमा रहको पाथिभरादेवीको मन्दिर नेपालको एक प्रसिद्ध धार्मिक स्थल मानिन्छ ।
टोड्के झर्नाः
माइमझुवा गाविसको वडा नं. ३ मा समुन्द्री सतहबाट एक हजार ६०० मिटर उचाईमा अवस्थित टोड्के झर्ना ८५ मिटर अग्लो छ । माईखोला भन्दा करिब ४० मिटर पश्चिममा रहेको यो झर्ना इलामकै अग्लो झर्ना हो । घना जंगलको बिचमा रहेको पहराका बिचबाट झर्ने यस झर्ना माबु गाविसको वडा नम्बर तीनको सोयाङ्बा गाउँबाट आँखै सामु देखिने भएकाले पर्यटकले झर्नाको अवलोकन गरि आनन्द लिन सक्नेछन् ।
रेडपाण्डा पाइने वनः
इलाम जिल्लाकै उत्तरपुर्वी गाविसहरुमा लोपोन्मुख वन्यजन्तु रेडपाण्डा पाइन्छ । विश्वमा दूर्लभ रहेको रेडपाण्डा जिल्लामा २ हजार १ सय देखि ३ हजार  ६ सय  मिटरको उचाईका वनहरुमा पाइन्छ । नेपालमा पाइने रेडपाण्डा भारतको दार्जिलिङ्ग, सिक्किम, अरुणाचल प्रदेश, भुटान, चीन र म्यानमारमा मात्र पाइन्छ । दूर्लभ रेडपाण्डा पाइनाले विश्वभरका पर्यटक इलामको उत्तरी क्षेत्रमा अवलोकनका लागि आउँने गरेका छन् । पछिल्लो समयमा जमुना गाविसस्थित चोयाटार सामुदायिक वन र माबु गाविसको राष्ट्रिय वनमा विश्वकै दुर्लभ वन्यजन्तु रेडपाण्डाको संरक्षण र ग्रामीण पर्यटनको प्रारम्भ समेत गरिएको छ । स्थानीय समुदायले यस वन क्षेत्रमा रेडपाण्डाको बासस्थान संरक्षण गरी आन्तरिक तथा बाह्य पर्यटकहरुको लागि रेडपाण्डा अवलोकन गर्ने व्यवस्था मिलाउँदै आएका छन् ।
कन्यामः
इलाम सदरमुकामबाट ४४ किलोमिटरमा रहेको मेची राजमार्गमा पर्ने पर्यटकीय स्थल हो कन्याम । मेची राजमार्गमै पर्ने भएकाले कन्याम सबैको पहुँचमा पर्दछ । चियाबगानको रमणीय दृश्यका लागि प्रसिद्ध कन्यामले देशी विदेशी सबैलाई आकर्षित गर्दै आएको छ । दिनहुँ सयौंको संख्यामा आन्तरिक तथा बाह्य पर्यटकहरु चियाबगानको दृष्य अवलोकन, पिकनिक तथा घुमफिरका लागि आउने गर्दछन् । यहाँको चियाबारीको मनोरम दृष्य र चिसो हावापानीले आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आकर्षित गरीरहेको छ । लेप्चा जातीको संस्कृति तथा ग्रामीण रहनसहन यहाँका अन्य पर्यटकीय आकर्षणहरु हुन् ।
माङमालुङ्ग :
1-mangmalung-photo
इलाम जिल्लाको पश्चिमी क्षेत्रको उत्कृष्ट पर्यटकीय गन्तव्य र धार्मिक आस्थाको केन्द्रको नाम हो माङमालुङ्ग । इभाङ्ग गाविस वडा नं. ५ र बाँझो गाविस वडा नं. ६ को सिमानामा रहेको माङमालुङ्ग क्षेत्रमा विशेष गरी राई किराँत समुदायको बाहुल्यता रहेकोछ । माङमालुङ्गको घना र प्राकृतिक रुपमा रमणीय वन, वनको दृश्यले यस क्षेत्रलाई निकै आकर्षक बनाएको छ । माङमालुङ्ग धार्मिक क्षेत्र समेत रहेकोले यसको दर्शन गर्न वर्षेनी झापा, मोरंग, सुनसरी, तेह्रथुम, पाँचथर, ताप्लेजुङ्ग देखिका भक्तजन र पर्यटकहरु आउने गर्दछन् । हिउँदको समयमा सडक यातायातको राम्रो सुविधा भएकाले वर्षेनी यसरी घुम्न आउनेहरुको संख्या बढिरहेको छ । माङमालुङ्ग क्षेत्रमा एउटै औलाले हल्लाउन सकिने तर धेरैजनाले बल गर्दा समेत पल्टाउन नसक्ने अलौकिक ढुंगा, दर्जन बढी प्राकृतिक गुफा, ढुंगाका विभिन्न आकृति र देवस्थलहरु रहेकाछन् । त्यही पवित्र धार्मिक र पर्यटकीय क्षेत्रको काखमा माङमालुङ्ग पोखरीको छेउमा रहेको छ । पोखरीको छेवौमा ढुंगा रहेको छ, जुन पहिले एउटै थियो । त्यसको बाटो मानिसहरु हिड्दै नाग (माउ)ले मान्छे खाने गर्दथ्यो । धेरैपटक यस्तो भएपछि महारानी विजुवानी आएर जोखाना हेर्दा माउ रहेको थाहा पाएपछि मार्न सकिन्छ कि सकिदैन भनेर थालले ढुंगालाई हान्दा ढुंगा सात टुक्रा भयो । अहिले त्यस स्थानमा सात टुक्रा ढुंगा देख्न सकिन्छ । माउ मारिसकेपछि त्यसको रगतले पोखरी राताम्य भयो र पोखरीको अर्को छेउबाट फुटी हालको रतुवा खोलामा निस्कियो । त्यस पछि त्यो खोलालाई रक्तुवा भनिन्थ्यो । त्यहि रक्तुवाबाट अपभ्रशः हुदै अहिले त्यसखोलाको नाम रतुवा रहन गएको किम्बदन्ती रहेको पाइन्छ ।
माङसेबुङ्ग :
mangsebung
शिवालिक क्षेत्र अन्तर्गत बाँझो गाविसको वडा नं .८ र ९ मा पर्ने लारुम्बा माङसेबुङ किरात धर्म र संस्कृतिका आस्थावानहरुका लागि प्रमुख आस्थाको केन्द्र हो । राष्ट्रिय विभूति महागुरु फाल्गुनन्द लिङ्देनद्वारा प्रारम्भ गरिएका समाज सुधारका कार्यहरुलाई गति प्रदान गर्दै किरात धर्म र संस्कृतिको पनि समयानुकूल व्याख्या गरी उनकै पनाति किरात धर्मगुरु आत्मानन्द लिङ्देनद्वारा आस्थावानहरुलाई संगठित गरी यो क्षेत्रलाई एउटा धार्मिक र सांस्कृतिक केन्द्रको रुपमा स्थापित गरिएको छ । यो स्थान किरात भाषा र लिपीको अध्ययन केन्द्र पनि हो । हरेक वर्षको मंसिर १८ गते किरात धर्मगुरु आत्मानन्दको जन्मदिन र फागुन ३ गते गुरुमाको जन्मदिनका दिन नेपाल र नेपाल बाहिर धेरै ठाउँबाट यस स्थानमा धेरै संख्यामा मानिसहरु भेला हुने गर्दछन् । डाँडाको टुप्पामा गुरुद्वारा एक किरात शिवालय केन्द्रीय मन्दिरको स्थापना भएको छ । डाँडाको बिचमा चक्रपथमा भक्तजनका आश्रम तथा घरहरु छन् । खासगरी द्वन्द्वका कारण २०५८ सालदेखि सुरक्षा समेतलाई ध्यानमा राखी पूर्वाञ्चलका दश जिल्लाका किरात धर्मावलम्वी मानिसहरु यस स्थानमा आएर बसोबाास गर्न सुरु गरेपछि यहाँ घना बस्ती विकास भइरहेको छ ।
गजुरमुखी :
इलाम जिल्लाको पश्चिमी क्षेत्रमा देउमाई खोलाको किनारमा अवस्थित गजुरमुखीधाम हिन्दु तथा किराँत धर्मावलम्बीहरुका लागि पवित्र धार्मिक स्थल हो । समुन्द्री सतहबाट ७८० मिटर उचाईमा अवस्थित यो धाममा वर्षेनी धार्मिक पर्यटकहरु आउने गर्दछन् । गजुरमुखीदेवीलाई वाणी र सन्तान दायिनी देवीका रुपमा लिइने गरिन्छ । विगत केहि वर्षदेखि यस क्षेत्रमा ग्रामीण पर्यटनको अवधारणाले ठाउँ पाउन थालेकोछ । यस स्थानमा आउने पर्यटकहरुका लागि धाम नजिकैको सानो बजारमा बस्न र खानाको सुविधा उपलब्ध रहेकोछ ।
इलाम सदरमुकाम :
इलाम जिल्लाको इलाम सदरमुकाम आन्तरिक तथा बाह्य पर्यटकहरुका निम्ति अर्को आकर्षक गन्तब्य हो । इलाम बजारका बार्दली सहितका गोविन्दे शैलीका घरहरु, सबैभन्दा पुरानो चियाबगान, ऐतिहासिक चिया कारखाना तथा सिंहबाहिनी, नारायणस्थान, सेतीदेवी, शंकरीदेवी, माईस्थान, भीमसेनस्थान, मन्दिर, बौद्ध गुम्बा आदि आकर्षक स्थलहरु रहेका छन् । पर्यटकहरुका लागि बस्न र खानका लागि केहि सुविधासम्पन्न होटलहरु यहाँ सञ्चालित छन् । इलाम जिल्लाका पर्यटकीय सुचनाहरु प्रवाहका लागि पर्यटन सुचनाकेन्द्र इलाम सदरमुकाममा रहेका छन् ।
पशुपतिनगर :
भारतको दार्जिलिङ्ग जिल्लासँग सीमा जोडिएको पशुपतिनगर भारततिरबाट नेपाल प्रवेश गर्ने प्रमुख पहाडी नाका हो । यहाँ दैनिक ठूलो संख्यामा दार्जिलिङ्गतिरबाट भारतीय पर्यटकहरु आउने गर्दछन् । यहाँको बजारमा तेस्रो मुलुकका सामग्रीहरु पाइने हुनाले दार्जिलिङ्ग भ्रमणमा आएका भारतीय पर्यटकहरु किनमेल गर्न यहाँ आउँदछन् । यहाँका होटेलहरुले पर्यटकहरुका आधारभूत मागलाई सम्बोधन गरेको छ । धार्मिक दृष्टिबाट पनि पर्यटकहरु यहाँ आउँदछन् । यहाँ पशुपतिनाथको मन्दिर छ । इलामको शैक्षिक क्षेत्रमा महत्वपूर्ण योगदान गरेका सन्त स्वामी सोमेश्वरानन्दले यहाँ आश्रम बनाई बसेका थिए । उनले प्रयोग गरेको पानीको कुवा लगायतका ऐतिहासिक कुराहरुलाई संरक्षण गर्ने प्रयास भइरहेको छ । पशुपतिको रुङ्गसुङ्गमा रहेको दुईतले झर्ना अत्यन्त सुन्दर छ । त्यस्तै यसै गाविसको मेहेलबोटेमा अवस्थित मंगलधाम मन्दिर यस क्षेत्रका कृष्ण प्रणामी संप्रदायका मानिसहरुको मुख्य तीर्थस्थल रहिआएको छ । यस गाविसमा पुराना बौद्ध गुम्बाहरु समेत रहेका छन् । पशुपतिनगरको रुङ्सुङमा अवस्थित तीन तले झर्ना रहेको छ ।
फिक्कल :
झापा–इलाम मेची राजमार्गको बीच खण्डमा पर्ने फिक्कल इलामको पूर्वी व्यापारिक केन्द्र हो । यहीबाट सीमावर्ती पशुपनिनगर जाने बाटो छुट्दछ । यसले इलामको उत्तर पूर्वी भागमा रहेका नयाँ बजार, गोर्खे लगायतकका क्षेत्रसँग सोझो व्यापारिक कारोबार गर्दछ । व्यापारिक दृष्टिले मात्रै होइन पर्यटनका दृष्टिबाट पनि यो ठाउँ महत्वपूर्ण रहँदै आएको छ । मेची राजमार्गमा चल्ने सवारी साधनको मुख्य बिसौनी थलो पनि फिक्कल नै हो । लाप्चाहरुको बसोबास भएको फिक्कल क्षेत्र साँस्कृतिक दृष्टिबाट पनि महत्व राख्दछ । यस क्षेत्रमा रहेका फेन्सोङ गुम्बा (वडा नं ६) र याङथोङ गुम्बा (वडा नं. १) ऐतिहासिक गुम्बाहरु हुन् । पान्दाममा रहेको काजी कोठी लाप्चाहरुको ऐतिहासिक महत्वको थलो हो ।
जैविक विविधता :
इलाम जैविक विविधताका दृष्टिले सम्पन्न छ । समुद्री सतहबाट १४० मिटर देखि ३६३६ मिटरको उचाईसम्म फैलिएको जिल्लामा भूगोल र हावापानीको विविधताले पारिस्थितिक प्रणाली, प्राणी तथा वनस्पतिको विविधतापूर्ण उपस्थिति रहेको छ । चारवटा माईखोलाका जलाधार क्षेत्र र कञ्चनजङ्घा सिंहलिला भूपरिदृश्यमा रहको इलाममा विश्वमै दुर्लभ मानिएका रेडपाण्डा लगायतका वन्यजन्तु, गिद्ध, कालिज, श्वेनबाज, गरुड लगायतका चराचुरुङ्गीहरु, अनेकौँ प्रजातिका पुतली र किराहरु, पानीगोहोरो, पाहा लगायत उभयचरहरु, विभिन्न प्रजातिका लालीगुराँस, चाप, चिमाल, लौठ सल्ला, साल सिसौ, सुनाखरी, गलैंचे झ्याउ लगायत वनस्पतिहरु, चिराइतो, पाँचऔले, लगायतका जडिबुटीहरु पाइन्छ । इलाममा लोपोन्मुख वन्यजन्तु, चराचुरुङ्गीहरु, उभयचर, वनस्पति र जडिबुटी अध्ययन अनुसन्धान गर्न चाहाने व्यक्तिका लागि पनि एक गन्तव्य हो ।
विभिन्न जातिको संस्कृति तथा महत्वपूर्ण जात्रा :
लेप्चा, लिम्बु, क्षेत्री, नेवार, बाहुन, तमाङ, राई, शेर्पा, गुरुङ्ग, मगर, कामी, दमाई, सार्की, थारु, यादव, ठकुरी, कुमाल, सुनुवार, थामी, माझी र माडवारी समुदायको बसोबास रहेको छ । यी जातिको आ–आफ्नै जातिको भेषभुषा, रहनसहन, सास्कृतिक झाँकीले पर्यटकलाई लोम्याउने गरेको छ । २०५८ को जनगणना अनुसार इलाम जिल्लाको जनसंख्या इलाम २ लाख ८२ हजार आठ सय २२ रहेको छ । लेप्चा जाति नेपालको इलाम जिल्लाको पूर्वी १५ गाविसमा मात्र बसोबास रहेको छ । लोपोन्मुख जातिमा सुचिकृत लेप्चा जातिको संस्कृति, रहनसहनको अध्ययनका लागि मानिसहरु आउने गरेका छन् । लेप्चा जातिको संस्कृति, नृत्य तथा पुराना सामग्रीहरु पर्यटकका आकर्षणका केन्द्र हुन् । लेप्चा जातिको दूई सय वर्ष पूरानो गुम्बा फिक्कल गाविस वडा नम्बर एक स्थित कजेनीमा रहेको छ । ५८ रोपनी क्षेत्रफलमा फैलिएको गुम्बा परिसरमा लाप्चा जातिले आफ्नो संस्कृति झल्किने भेषभुषामा नृत्य गर्दै आएका छन् । विभिन्न जातिको संस्कृति बाहेक इलाममा परम्परागत रुपमा मनाइने रोपाईजात्रा र गाईजात्रा यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पुर्याएका छन् । रोपाईजात्रा गाइजात्राको पछिल्लो दिन धुमधामसाथ परम्परादेखिनै मनाइदै आएको छ । पुरुषले महिलाको भेष लगाएर रोपाइ गर्दै मनाइने जात्रामा नेपाली मात्र नभएर विदेशी पर्यटकसँगै नाच्ने गरेका छन् । रोपाइ जात्रामा रमाउन इलाम, पाँचथर, ताप्लेजुङ्ग, झापा लगायत जिल्लाका हजारौ मानिसको भिड लाग्ने गरेको छ । एक सय ५० वर्ष पहिले देखि प्रचलनमा आएको  रोपाइजात्रामा रोपारले झ्याउरे गीतको तालमा कम्मर मर्काइ–मर्काइ नाँच्न र धान रोपेको अभिनय गर्ने कलाकारको संख्या उत्तिकै बढेको छ । जमिनदारले बेठी लगाएर पञ्चेबाजाको धुनमा रोपाई गर्ने पुरानो चलनको सिको गरी इलाममा राणाकालदेखिनै जात्रा मनाउने प्रचलन रहको छ । परम्परागत रुपमा मनाइदै आएको जात्रा लाखेजात्रा पनि हो । इलामको जिल्लाका विभिन्न गाउँमा मनाइएको छ । नेवार समुदायले परम्परागत रुपमा मनाउँदै आएको गाईजात्रा जात्रा नेपाल भाषा तथा संस्कृति समाजले आयोजना गर्दै आएको छ । यो जात्रा इलाम बजार मंगलबारे, पशुपतिनगर, फिक्कल लगायतका क्षेत्रमा मनाइदैँ आएको छ ।
माबुथाम :
इलामको उत्तरी गाविस माबुमा अवस्थित माबुथाम र आसपासका क्षेत्रहरु पर्यटकीय दृष्टिले निकै रमणीय क्षेत्रका रुपमा रहेकोछ । यस क्षेत्रमा रहेको बौद्ध समुदायको साधना केन्द्र डुख्याङ गुफा, बौद्ध गुम्बा, रमिते ढुङ्गा, माबुथाम, बालागुरु गुफा, दोबाटे, लालबास सिमसार क्षेत्र, विश्वकै दुर्लभ वन्यजन्तु पाइने बलुबन, भारतीय सिमावर्ती क्षेत्र, कालपोखरी र बिखेभञ्ज्याङ्ग पर्यटकीय आकर्षणका क्षेत्रहरु हुन् । यस स्थानबाट नजिकै रहेको अर्को पर्यटकीय गन्तब्य सन्दकपुर समेत जान सकिन्छ । प्राकृतिक दश्यावलोकन, जैविक विविधता अवलोकन तथा ग्रामीण रहनसहनको अध्ययनका लागि यो क्षेत्र महत्वपुर्ण रहेकोछ । इलाम सदरमुकामबाट बिब्ल्याँटे, सुलुबुङ्ग, माईखोला, सोमबारे बजार हुदै जीपबाट लगभग ३ घण्टाको यात्रामा माबुथाम पुग्न सकिन्छ । पर्यटकहरुका लागि सिमित संख्यामा होटल र होमस्टेहरु सञ्चालित रहेका छन् ।
पर्यटनमा भएका गतिविधि :
इलामको पर्यटक विकासका लागि सरकारी प्रयासमा काम हुदै आएका छन् । राष्ट्रिय स्तरमा कमै मात्रामा पर्यटन सम्बन्धि गतिविधि भएपनि जिल्ला विकास समिति, गाउँ विकास समिति र गैरसरकारी संस्थाको समन्वयमा पर्यटन मैत्री गतिविधि हुदै आएका छन् । जिल्ला विकास समिति इलामले लामो सयमपछि इलाम उद्योग वाणिज्य संघको प्राविधिक सहयोगमा पर्यटन गुरुयोजना तयार पारेको छ । पर्यटन गुरुयोजनामा इलामको पर्यटकीय क्षेत्रको पहिचान गरी संरचना निर्माणका लागि जोड दिएको छ । इलाममा नेपाल भ्रमण वर्ष–१९९८मा पर्यटन प्रर्वद्धन गतिविधि, पर्यटन विकास कार्यशाला, पर्यटन सम्भावना, विकास र प्रबद्र्धन विषयक प्रतिवेदन तयारी, ब्रोसर प्रकाशन, पर्यटकीय क्षेत्र पहिचान र होर्डिङ बोर्ड निर्माण, पर्यटकीय पदयात्रा मार्ग पहिचान, पर्यटक गाइड, इलाम जिल्लाको पर्यटकीय स्थल र पदयात्रा मार्ग पहिचान र प्रकाशन लगायतका काम भएका छन् । यस बाहेक सरकारी तथा गैरसरकारी संस्थाको पहलमा गरिएको इलाम महोत्सव, अन्तु महोत्सव, सिद्धिथुम्का महोत्सव, माईपोखरी महोत्सव, पाथिभरा महोत्सव, कन्याम महोत्सव, गजुरमुखी महोत्सव, माबु–सन्दकपुर महोत्सव, माङ्मालुङ्ग महोत्सव, लारुम्बा महोत्सव, माइमझुवा महोत्सवले समेत पर्यटकीयस्थलको प्रचार प्रसार र प्रवद्र्धनको काम गरेका छन् ।

चियाबारी दैनिकबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार