ग्रामीण सडकमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द

जिल्लाको अधिकांश ग्रामीण सडकमा वर्षा लागेदेखि नै सवारी आवतजावत बन्द भएको छ ।

धादिङबेसी–सल्यानटार सडकखण्ड, सांकोष–तिप्लिङ सडकखण्ड, आदामघाट–किराञ्चोक सडक लगायतका ठाउँहरुमा निर्माण सुरु हुँदै गरेको बाटो पानीले बिगारेको छ । बाटो बिग्रिएका कारण सवारी साधन चल्न सकेको छैन भने यातायात सञ्चालनमा आउन नसक्दा यात्रुहरू समस्यामा परेका छन् ।

सडकमा जमेको पानी र सडक भत्किएर खाल्टाखुल्टी बनेपछि अहिले सडकहरुको अवस्था बिजोग बनेको छ । सामान्य वर्षा सुरु हुँदादेखि नै सडकमा सवारी चल्न नसक्दा उत्तरी धादिङका गाउँहरुमा खाद्यान्न लगायतका सामानहरु लैजान कठिन भएको छ ।

सडकमा सवारीका साधनहरु सहज रुपमा चल्न नसक्दा सडक छेउछाउमा व्यापार चलाएर बस्नेहरु पनि प्रभावित बनेका छन् । सवारी नचल्दा एम्बुलेन्स सञ्चालनमा समेत असहज भएको छ ।

दैनिक ६० भन्दा बढी सवारी साधन चल्ने जिल्लाको ग्रामीण क्षेत्रमा अहिले एउटा पनि सवारी चलेको छैन । जिल्लाको सल्यानटार, मुलपानी, फूलखर्क, मैदी, खरी, दार्खा लगायतका ठाउँमा धादिङ यातयात र ग्रामीण यातयातका बस संचालन भएपनि बिग्रिएको सडकका कारण कुनै पनि सवारी चल्नसकेका छैनन् । यतायात सञ्चालन नहुँदा आवत जावतमा समस्या भएको छ भने भूकम्पको अनुदान रकम लिएर घर बनाउनका लागि निर्माण सामाग्री लैजानसमेत समस्या परेको स्थानीयले बताएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार