काठमाडौं : जिल्ला वन कार्यालय बाराले विभिन्न कार्यक्रमका नाममा वार्षिक लाखौं रकम खर्च गरेको प्रतिवेदन देखाए पनि स्थलगत अनुगमन गर्दा अधिकतम कार्यक्रम कागजमै सीमित देखिएको आजको नागरिक दैनिकमा समाचार छ ।
वन मन्त्रालयका सहसचिव चन्द्रमान डंगोलको नेतृत्वमा गठित छानबिन टोलीले यस्तो अनियमितता पत्ता लगाएको हो ।
आर्थिक वर्ष २०७२–७३ मा जिल्ला वन कार्यालय बाराले राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास कार्यक्रममा १ करोड ८० लाख, वृक्ष सुधार, वृक्षारोपण तथा निजी वन कार्यक्रममा १ करोड १६ लाख, बहुसरोकारवाला वन कार्यक्रममा ८८ लाखलगायत विभिन्न शीर्षकमा लाखौं बजेट खर्च भएको प्रतिवेदनमा देखाएको छ । तर वन कार्यालयले प्रगति विवरणमा उल्लेख गरेको अधिकांश कार्यक्रम कागजमै सीमित पाइएको छानबिन टोलीको ठहर छ ।















































