सुनकान्डमा एसएसपी खत्री जेल चलान, गरे यस्तो खुलासा

साढे ३३ किलो सुन तस्करी प्रकरणका अभियुक्त प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्री जेल चलान भएका छन् ।

बिहीबार जिल्ला अदालत मोरङले बयान र थुनछेक बहसपछि खत्रीलाई पुर्पक्षका लागि मोरङ जिल्ला कारागार पठाउने आदेश दिएको हो । सुन तस्करीका मुख्य अभियुक्त भनिएका चूडामणि उप्रेती ‘गोरे’ पनि सो कारागारमा रहेका छन् ।बिहीबारै बिहान जिल्ला अदालत मोरङमा आत्मसमर्पण गरेका खत्रीले बयानमा अवकाशप्राप्त प्रहरी नायव महानिरीक्षक गोविन्द निरौला र चूडामणि उप्रेती ‘गोरे’को विशेष सम्बन्ध रहेको खुलासा गरेका थिए ।

आफूभन्दा माथिल्लो तहका गोरे र निरौलाबीचको सम्बन्धका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत् रहँदा सुन तस्करी रोक्न नसकेको बयान खत्रीले दिएका छन् ।उनले सुन तस्करीमा प्रहरीका अरु धेरै अधिकारीको संलग्नता रहेको बताएपनि नाम भने खुलाएनन् ।

खत्री यसअघि पनि ३३ किलो सुन प्रकरणमा पक्राउ परी अदालतबाट सफाइ पाएका थिए ।साढे ३३ किलो सुन प्रकरणमा यसअघि पक्राउ परेकालगायत मुख्य अभियुक्त मानिएका गोरेले सुनकान्डका मुख्य अभियुक्त श्याम खत्री नै भएको बयान दिएका थिए ।

खत्री ३३ किलो सुनकान्डबाट सफाइ पाएपछि नक्सालस्थित प्रहरी प्रधान कार्यालयमा हाजिर भइसकेका थिए ।फेरि साढे ३३ किलो सुनकान्डमा नाम मुछिएपछि फरार रहेका खत्रीले आत्मसमर्पण गरेलगत्तै उनीमाथि थप अनुसन्धान थालिएको होे ।खत्री बेपत्ता भइ सम्पर्कमा नआएपछि प्रहरीले खोजीका लागि अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मार्फत् डिफ्यूजन नोटिस नै जारी गराएको थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार