समाचार वाचन प्रतियोगितामा इवारा जबेगू प्रथम

  युद्धबहादुर बोहोरा
49 Shares

पाँचथरः नेपाल पत्रकार महासंघको ७१ औँ स्थापना दिवसको अवसरमा महासंघ पाँचथर शाखाले सोमबार फिदिममा समाचार वाचन प्रतियोगिता आयोजना गरेको छ। युवापुस्तामा समाचार लेखन तथा वाचनप्रति रुचि अभिवृद्धि गर्ने उद्देश्यले आयोजित प्रतियोगितामा २२ जना प्रतिस्पर्धी सहभागी भएका थिए। प्रतियोगितामा पत्रकार इवारा जबेगूले उत्कृष्ट प्रस्तुति दिँदै प्रथम स्थान हासिल गरिन्। उनले सात हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गरिन्। यस्तै, कमल घिमिरे द्वितीय हुँदै पाँच हजार रुपैयाँ नगद र प्रमाणपत्रबाट सम्मानित भए भने भीम चेम्जोङ तृतीय स्थान हासिल गर्दै तीन हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्राप्त गर्न सफल भए।

विद्यालय तहका सहभागीहरूमध्ये फिदिम माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा–७ की साम्भावी श्रेष्ठ तथा कक्षा–९ का सुविज्ञा राई र पूजा तुम्बापोले सान्त्वना पुरस्कार प्राप्त गरेका छन्। उनीहरूलाई जनही एक हजार रुपैयाँ नगदसहित प्रमाणपत्र प्रदान गरिएको आयोजकले जनाएको छ। प्रतियोगितामा सहभागीहरूले समसामयिक विषयवस्तु, सामाजिक सरोकार र समाचार प्रस्तुतिको शैलीलाई समेटेर समाचार वाचन गरेका थिए। उनीहरूको प्रस्तुति पत्रकार मंगल बेघा, खबिन लुईटेल र सन्देश सुब्बाले मूल्याङ्कन गरेका थिए। निर्णायकहरूले समाचार वाचनको स्पष्टता, उच्चारण, आत्मविश्वास, प्रस्तुति शैली तथा भाषाको शुद्धतालाई आधार मानेर मूल्याङ्कन गरेका थिए।

कार्यक्रममा तुम्बेवा गाउँपालिकाका अध्यक्ष बाबुराम खड्का प्रमुख अतिथिका रूपमा सहभागी थिए। साथै प्रमुख जिल्ला अधिकारी बासुदेव दाहाल, नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य लवदेव ढुंगाना, फोनिज प्रदेश अध्यक्ष विजयबोध लाओती, पूर्व अध्यक्ष लक्ष्मी गौतम, गिरिराज बाँस्कोटालगायतले पत्रकारिता क्षेत्रमा युवाको सहभागिता बढ्दै जानु सकारात्मक पक्ष भएको उल्लेख गर्दै शुभकामना व्यक्त गरेका थिए। कार्यक्रममा वक्ताहरूले पत्रकारिता क्षेत्रलाई थप जिम्मेवार, मर्यादित र व्यावसायिक बनाउन नयाँ पुस्ताको सक्रियता आवश्यक रहेको धारणा राखेका थिए। समाचार लेखन र वाचनप्रति युवापुस्ताको आकर्षण बढाउन यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका खेल्ने उनीहरूको भनाइ थियो।

महासंघ पाँचथरका उपाध्यक्ष सरोज शर्माले पत्रकारिता क्षेत्रमा दक्ष जनशक्ति उत्पादन गर्न तथा विद्यार्थी र युवाहरूलाई समाचार प्रस्तुतीकरणतर्फ प्रेरित गर्न प्रतियोगिता आयोजना गरिएको जानकारी दिए। शाखा अध्यक्ष भीमकुमार बाँस्कोटाको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव रविन्द्र काफ्लेले गरेका थिए।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार