
इलाम : गत असोज १८ र १९ गते आएको प्राकृतिक प्रकोपपछि इलाम जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गरिए पनि अपेक्षित पुनर्निर्माण, मर्मत तथा स्तरोन्नतिको काम हालसम्म सुरु हुन नसकेको भन्दै सचेत इलामेली नागरिकहरूले बुधबार मेची राजमार्ग १ घन्टा बन्द गरेका छन् । सांकेतिक बिरोध स्वरुप उनिहरुले इलाम सदरमुकामको जिरो किलोमिटरमा बिरोध कार्यक्रमको आयोजना गर्दै बिहान ११ बजे देखि १२ बजे सम्म राजमार्ग बन्द गरेका हुन् । सरकारको गम्भीर ध्यानाकर्षण होस भन्ने हिसाबले बन्द गरेको सचेत इलामेली नागरिकका संयोजक ईस्वर चिपालुले जानकारी दिए ।
प्राकृतिक विपद्का कारण जिल्लाको भौतिक पूर्वाधार, विशेषगरी सडक सञ्जालमा व्यापक क्षति पुगेको भए पनि संकटग्रस्त जिल्ला घोषणा केवल औपचारिकतामै सीमित भएको उनीहरूको आरोप छ । संकटग्रस्त घोषणा पश्चात आवश्यक नीति, बजेट र कार्यक्रममार्फत् पुनर्निर्माणका अधिकांश काम सम्पन्न हुने अपेक्षा गरिएको भए पनि व्यवहारमा त्यो कार्यान्वयन हुन नसकेको हो ।
मेची राजमार्ग तथा वैकल्पिक सडकहरूको तत्काल पुनर्निर्माण आवश्यक रहेको जनाइएको छ ।
इलाममा प्राकृतिक प्रकोपपश्चात् आर्थिक गतिविधि संकुचित भएको, आर्थिक मेरुदण्डका रूपमा रहेको पर्यटन क्षेत्र लगभग शून्य अवस्थामा पुगेको, व्यापार तथा कृषि उद्योगहरूमा प्रत्यक्ष असर परेको तथा सरकारले घोषणा गरेका आर्थिक तथा मौद्रिक नीतिहरू कार्यान्वयन हुन नसकेको बताईएको छ ।
सचेत इलामेली नागरिकहरूले पहिलो चरणका आन्दोलनका कार्यक्रम सार्वजनिक गर्दै आम इलाम, पाँचथर र ताप्लेजुङवासीलाई सहभागी हुन अपिल गरेका छन् भने तोकेको समयभित्र माग पूरा गर्न काम सुरु नभए दोस्रो चरणको अझ सशक्त आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने पनि बताएका छन् ।
















































