फुटसलको उपाधि मानपुर एफसीलाई

इलाम : इलामको माङसेबुङ गाउँपालिका-२, याङरुपमा आयोजित फुटसल प्रतियोगिताको उपाधि मानपुर एफसीले जितेको छ ।

बिहीबार सप्पन्न फाइनलमा तोभाङ एफसीलाई ३-० गोल अन्तरमा पराजित गर्दै उपाधि जितेको हो ।

उपाधिसगै मानपुरले नगद २५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो । उपविजेता तोभाङले नगद १२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र हात पार्यो ।

प्रतियोगिताको उत्कृष्ट खेलाडी तोभाङ एफसीका बिबेक राई र उत्कृष्ट गोलरक्षक बिजेता मानपुर एफसीका पुष्पहाङ लिम्बू घोषित भए । सर्वाधिक गोलकर्ता विजेता मानपुर एफसीका आशिष लिम्बू घोषित भए । उनले प्रतियोगिताभर ६ गोल गरेका थिए ।

माङसेबुङ गाउँपालिका २ नम्बर वडा कार्यालयको सहयोगमा नव चुक्चीनाम्बा युवाक्लबको आयोजनामा भएको प्रतियोगितामा इलाम र पाँचथरका २४ टिमको सहभागिता थियो । प्रतियोगिता याङरुप खेलमैदानमा भएको थियो ।

त्यस्तै महिलतर्फको खेलमा टेलिटारले उपाधि चुम्यो । सिरिरेलाई टाइब्रेकरमा पराजित गर्दै टेलिटारले उपाधि चुमेको हो ।

प्रतियोगिताका विजेता र उपविजेता टिम र खेलाडीलाई माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङ, २ नम्बर वडा अध्यक्ष कृष्णबहादुर कार्की, रास्वपा नेता मिलन लिम्बूलगायतले पुरस्कार हस्तान्तरण गरे ।

आयोजकका अध्यक्ष इन्द्रहाङ लिम्बूको अध्यक्षता र माङसेबुङ गाउँपालिका अध्यक्ष हेमन्त राइको प्रमुख आतिथ्यतामा समापन भएको थियो । कार्यक्रममा उनले खेलमैदान मर्मत सम्भारका लागि गाउँपालिकाले सहयोग गर्ने प्रतिबद्धता जनाए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार