
नेपालको राजनीतिमा फेरि एक पटक जनसमर्थन र जनआक्रोशको असामान्य मिश्रण देखापरेको छ। रास्वपाका अध्यक्ष रवि लामिछानेमाथि उठेको सहकारी प्रकरणलाई लिएर देशमा देखा परेको नागरिक प्रतिक्रिया, दलहरूको व्यवहार र रणनीतिक मौनताले वर्तमान सत्ता संरचनाका कमजोरीहरूलाई उजागर गरिरहेको छ।
नेकपा माओवादी केन्द्रको रणनीति यस पटक तुलनात्मक रूपमा परिपक्व देखियो। मुद्दाको केन्द्रमा नपरिकन, यदाकदा हल्का सहानुभूति देखाउँदै, आफूलाई जनआक्रोशबाट जोगाउन उनीहरूले मौनताको ढाल प्रयोग गरे। यो रणनीति अवलोकन गर्दा बुझिन्छ, कि दलले आफैलाई सिग्निफिकेन्स ड्यामेज हुनबाट सुरक्षित राख्न चातुर्य अपनाएको छ।
तर अर्कोतर्फ, नेपाली कांग्रेस र नेकपा एमालेले जुन ढंगले यो परिस्थितिमा प्रतिक्रिया जनाए, त्यो आत्मघाती कदमसरह देखिन्छ। एक समयको जनआन्दोलनका अगुवा शक्ति र दिग्गज नेताहरूको भरपूर उपस्थिति हुँदाहुँदै पनि यी दलहरू आज गम्भीर रणनीतिक चुक गर्दैछन्। अहिलेको अवस्था एकप्रकारको राजनीतिक सुसाइड गेम जस्तै भएको छ — जहाँ हरेक खेलाडी अस्तित्वको लागि संघर्षरत छ, तर खेलको अन्त्य कसैका लागि घातक बन्ने संकेत दिइरहेको छ।
राजनीतिक प्रणालीमा यस्ता आकस्मिक, तीव्र प्रतिक्रियात्मक घटनाक्रमहरू — चाहे त्यो जनलहरको रूपमा होस् वा आक्रोशको रूपमा — दीर्घकालीन स्थायित्वको आधार बन्न सक्दैनन्। राजनीति सधैं स्वाभाविक, संस्थागत र प्रक्रियागत बाटोबाट अघि बढ्नुपर्छ। जसरी कुनै प्राकृतिक प्रकोपले संरचना ध्वस्त पार्छ, त्यस्तै हतारो निर्णय र भावनात्मक उतारचढावले राष्ट्रलाई गम्भीर संकटमा पार्न सक्छ।
रास्वपाका लागि अहिलेको एकतर्फी ध्रुवीकरण र चुलिएको जनसमर्थन प्रारम्भमा उत्साहजनक लागे पनि, यसलाई सन्तुलित र रणनीतिक ढंगले राजनीतिक अवतरण गराउन सकिएन भने यही समर्थन भविष्यमा घातक पनि बन्न सक्छ। सहकारी काण्ड र रवि लामिछानेमाथिको आरोप उनीहरूको व्यक्तिगत एवं पार्टी छविका लागि निश्चय नै पीडादायी छ। तर, यो मुद्दाले पार्टीलाई अझ परिपक्व बनाउने, संगठन बलियो बनाउने र नीतिगत स्पष्टता ल्याउने अवसर पनि दिएको छ।
अबको समय रास्वपाका लागि चुनौतीपूर्ण हुनेछ – न केवल जनअपेक्षाको भार वहन गर्नुपर्नेछ, तर आन्तरिक सांगठनिक समृद्धि, नेतृत्वको परिपक्वता र नीति निर्माणमा पनि ठोस प्रगति देखाउनु पर्नेछ।
राजनीति केवल चुनाव जित्ने या आक्रोश शान्त पार्ने खेल होइन – यो दीर्घकालीन विचार, संस्थागत विश्वसनीयता र जनविश्वासको धरातलमा उभिने प्रक्रिया हो। यदि रास्वपाले अहिलेको जनलहरलाई मात्र हैन, दीर्घकालीन वैकल्पिक शक्तिका रूपमा आफूलाई प्रमाणित गर्न सक्यो भने मात्र आजको समर्थनले इतिहास रच्नेछ। नत्र भने, यो पनि नेपाली राजनीतिक इतिहासको अर्को क्षणिक उभारको कथा बन्न सक्छ।
(ई.महेन्द्र थापा – वैकल्पिक विचार र सामाजिक पुनर्इन्जिनियरिङ स्कूल)















































