फाकफोकथुमकै पहिलो बेलीब्रिज उद्घाटन, अब आवतजावतमा सहज

  युद्धबहादुर बोहोरा
175 Shares

इलाम : फाकफोकथुम गाउँपालिकाको फाकफोक खोलामा निर्माण गरिएको पालिकाकै पहिलो बेलिब्रिज शुक्रबार (साउन १ गते) उद्घाटन गरिएको छ। पुलको उद्घाटन कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री राम बहादुर राना मगरले रिवन काटेर गरेका हुन्।

पुल २ करोड २० लाख ८ हजार ९ सय ६५ रुपैयाको लागतमा माछापुच्छ्रे इन्जिनियरिङ प्रालिले ठेक्का पारेर  निर्माण गरेको हो। यो पुल गाउँपालिकाको गौरवको योजना अन्तर्गत निर्माण गरिएको हो। माछापुच्छ्रे इन्जिनियरिङ प्रालिले निर्माण कार्यको जिम्मा पाएको थियो। २०८१ असार ६ गते सम्झौता भई २०८२ बैशाख २५ गतेसम्म सम्पन्न गर्ने लक्ष्य भए पनि करिब एक महिनाको ढिलाइमा काम सम्पन्न भएको हो।

उद्घाटन कार्यक्रममा मन्त्री रानाले फाकफोकथुमलाई धार्मिक, सांस्कृतिक तथा विकासको दृष्टिकोणले विशेष महत्व दिँदै यस क्षेत्रका लागि निरन्तर योजना र बजेटको व्यवस्था हुँदै आएको बताए। उनले फाकफोकथुम सन्त ज्ञानदिल दासको जन्मभूमि भएको र यसलाई धार्मिक पर्यटनको केन्द्रका रूपमा विकास गर्नुपर्ने उल्लेख गरे।

गाउँपालिका अध्यक्ष दिपेन्द्र खनालले उद्घाटन समारोहको अध्यक्षता गर्दै आफ्नो कार्यकालमा नागरिकसँग गरेका प्रतिबद्धता पूरा हुँदै गइरहेको बताए। उपाध्यक्ष कल्पना राईले पुललाई विकासको एउटा उदाहरण भन्दै पालिकाका सबै वडालाई समान रूपमा हेरेर काम भइरहेको जानकारी दिइन्।

 

फाकफोकथुम ३ का वडाध्यक्ष दिपेन्द्र लिम्बुले पुललाई ‘सेतो पुल’ भनेर नामकरण गरिएको जानकारी गराए।पुल निर्माणपछि फाकफोकथुमको वडा नम्बर २, ६ र ७ का बासिन्दाले पालिकाको केन्द्रसम्म सहज रुपमा पुग्न सक्ने भएका छन्।  वर्षातमा पुलको अभावले सास्ती खेपिरहेका स्थानीयवासीले अब राहत पाउने छन्। साथै, उक्त पुलले पाँचथर जिल्ला र इलाम सदरमुकामबीचको यात्रा पनि सहज बनाएको छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार