दक्षिण कोरियामा राष्ट्रपतीय चुनाव: लोकतन्त्रको पुनःस्थापनाको लागि निर्णायक दिन 

तस्वीरः ईपिएस पेजबाट
सउल:  विश्वको दशौं ठूलो अर्थतन्त्र भएको गणतान्त्रिक दक्षिण कोरियामा मंगलबार राष्ट्रपतीय चुनाव हुँदैछ ।
जुन देशको लोकतान्त्रिक इतिहासमा एक महत्वपूर्ण मोडको रूपमा हेरिएको छ । पूर्व राष्ट्रपति युन सुक-योलले गत डिसेम्बरमा मार्शल ल लागू गरेपछि उत्पन्न राजनीतिक संकटपछि यो आकस्मिक चुनाव हुन लागेको हो ।
दक्षिण कोरियामा राष्ट्रपतिको चयन प्रक्रिया प्रत्यक्ष जनमतद्वारा  गरिन्छ । यसको मतलब, देशका सबै योग्य मतदाताहरूले आफ्नो मत प्रयोग गरेर सिधै कार्यकारी राष्ट्रपति छान्ने छलन छ ।
मुख्य प्रतिस्पर्धीहरू डेमोक्रेटिक पार्टीका तर्फबाट पूर्व मानवअधिकार वकिल र ग्येओङ्ग्गी प्रान्तका पूर्व गभर्नर ली जे-म्युंग  छन भने, पिपुल पावर पार्टीका तर्फबाट पूर्व श्रमिक अधिकारकर्मी र पूर्व गभर्नर किम मुन-सु  छन् । अन्य केही साना दल र स्वतन्त्र उम्मेदवार पनि मैदानमा छन् तर, उनीहरुको उपस्थिति निकै कमजोर देखिन्छ ।
देशभरिका तीन हजार ५६८ मतदान केन्द्रहरूमा केहि दिन अगाडीबाट नै मतदान प्रक्रिया सुरु भएको थियो । जम्मा मतदाता सख्याको ३५.७४ प्रतिशतले मतदा गरिसकेका छन् ।
पूर्व राष्ट्रपति युन सुक-योलले २०२४ डिसेम्बरमा मार्शल ल लागू गरेपछि देशव्यापी विरोध प्रदर्शनहरू भएको थियो । संसदको बहुमत संख्याले उनलाई अविश्वासको प्रस्ताव पारित गरेर पदबाट अपदस्थ गरेको थियो। साथै दक्षिण कोरियाको संवैधानिक अदालतले पनि राष्ट्रिय सभाको सो निर्णयलाई २०२५ अप्रिल ४ मा उक्त निर्णयलाई मान्यता दियो। त्यसपछि संविधान अनुसार ६० दिनभित्र नयाँ चुनाव गर्नुपर्ने भएकोले मंगलवार चुनाव तय गरिएको हो।
चुनावी एजेन्डा राष्ट्रपतिका उम्मेदवार ली जे-म्युंगले कृत्रिम बुद्धिमत्ता (एआई) को विकासलाई आफ्नो प्रमुख मुद्दाको रूपमा छनौट गरेका छन्।
राष्ट्रिय एकता, मध्यम र निम्न आय भएका परिवारहरूको लागि जीवनयापन खर्च घटाउने, साना व्यवसायहरूलाई समर्थन, र पारदर्शी शासन प्रणाली बनाउने मुख्य एजेन्डा छन् भने, अर्का उम्मेदवार किम मुन-सुले आर्थिक नियमहरूलाई खुकुलो बनाएर उद्योग गर्न सहज वातावरण सिर्जनाको नारालाई आफ्नो प्रमुख मुद्दा बनाएका छन्। राजनीतिक सुधार, राष्ट्रिय सुरक्षा सुदृढीकरण, आर्थिक उदारीकरण र अमेरिकी सम्बन्ध मजबुत पार्ने एजेन्डा छन् ।
हालैको ग्यालप कोरियाको अनलाइन सर्वेक्षणअनुसार, डेमोक्रेटिक पार्टीका उम्मेदवार ली जे-म्युंग ४९ प्रतिशत समर्थनका साथ अग्रस्थानमा छन् भने, पिपुल पावर पार्टीका उम्मेदवार किम मुन-सु ३५ प्रतिशत समर्थनमा छन् ।
यो चुनाव केवल नयाँ राष्ट्रपति चयन गर्ने प्रक्रिया मात्र नभएर दक्षिण कोरियाको लोकतन्त्रको पुनःस्थापनाको लागि निर्णायक क्षण पनि मानिएको छ ।
चुनावको नतिजा मतदान सकिएको २४ घण्टा भित्रै  सार्वजनिक गरिने भएको छ ।-ईपिएस कोरियाबाट

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार