
इलाम : विश्वका सिमित देशमा मात्रै पाइने रेडपाण्डा हेर्न इलामका उच्च पहाडी क्षेत्रमा तेस्रो मुलकका पर्यटक पुग्ने क्रम बढेको छ । उच्च पहाडी क्षेत्रका गाउँमा रेडपाण्डा अध्ययन गर्न बिदेशी पर्यटकहरु पुग्ने क्रम बढेपछि लेकाली गाउँका बासिन्दाको आयश्रोतको माध्यम पर्यटन भएको छ । ए
सन्दकपुर ४ माबुको दोबाटेमा अहिले युरोपका पर्यटकको चहलपहल छ । दोबाटेका होमस्टे व्यवसायी साङ्गे शेर्पा पर्यटकको सेवामा खटिएका छन् । घना जंगलको बिचमा रहेको गाउँमा पुगेका बिदेशी पर्यटक लोपउन्मुख वन्यजन्तु रेडपाण्डा अध्ययनका लागि पुगेका हुन् । रेडपाण्डाको संरक्षणमा क्रियासिल साङ्गे शेर्पा प्रथप्रदर्शक पनि हुन् ।
दोबाटे पुगेका पर्यटकहरुलाई रेडपाण्डाको अध्ययन गराउन स्थानीय होमस्टे व्यवसायी आफै खटिन्छन् । दोबाटेमा अमेरिका, अस्टे«लिया, न्युजल्याण्ड, भारत, बंगलादेशका पर्यटकहरु रेडपाण्डा अध्ययनमा पुग्ने गरेका छन् ।
दोबाटेबाट नजिकै रहेको कैयाकट्टामा पनि रेडपाण्डा हेर्न आउने पर्यटकको संख्या बढ्दो छ । सिंहलिला कंचनजंघा क्षेत्रमा पर्ने इलामको उत्तरी क्षेत्र रेडपाण्डाको बासस्थान हो । नेपाल, भारत, भुटान, चीन र म्यानमारमा मात्रै पाइने रेडपाण्डा हेर्नकै लागी तेस्रो मुलकका पर्यटकहरु इलामका उच्च पहाडी क्षेत्रमा पुग्ने गरेका छन् । रेडपाण्डाको संरक्षण र पर्यटन प्रवद्र्धनमा रेडपाण्डा नेटवर्क सक्रिय रहेको छ । रेडपाण्डाको संरक्षणकर्मी
इलामको सूर्योदय नगरपालिका १ को थुम्के, माईजोगमाई गाउँपालिकाको आहालभञ्ज्याङ्ग, सन्दकपुर गाउँपालिकाको टप्पु, छिन्टापु, दोबाटे, कैयाकट्टा, जौबारी, गैरीबास र चोयाटार क्षेत्रमा रेडपाण्डा पाइन्छ । यहाँ रेडपाण्डाको माध्यमबाट पर्यटन प्रवद्र्धनको काम भएपछि बिदेशी पर्यटक पुग्ने गरेका छन् ।
रेडपाण्डाको बढी बसोबास भएको क्षेत्र सन्दकपुर गाउँपालिका हो । जसका कारण रामसार क्षेत्र माईपोखरीबाट जौबारी जोड्ने ५२ किलोमिटर लामो पदमार्गलाई गाउँपालिकाले रेडपाण्डा पदमार्ग घोषणा गरि पर्यटन प्रवद्र्धन गर्दै आएको छ ।
सन्दकपुरमा रेडपाण्डासँगै सयौँ प्रजातीका चराहरु, ध्वाँसे चितुवा, चरिबाघ, मुनाल लगायतका वन्यन्तुहरुको अध्ययन गर्न पाइन्छ । जसका कारण तेस्रो मुलकका पर्यटकहरुको आकर्षण इलामका उच्च पहाडी क्षेत्रमा बढेको हो ।