चुलाचुली : इलामको चुलाचुली गाउँपालिकाको चालु आर्थिक वर्ष २०८१।०८२ को पहिलो सार्वजनिक सुनुवाई कार्यक्रम सोमबार सम्पन्न भएको छ ।
गाउँकार्यपालिकाको कार्यालय र विभिन्न शाखाहरुबाट भएका विकास निर्माण, सुशासन प्रवर्द्धन र सेवा प्रवाहको सम्बन्धमा सार्वजनिक सुनुवाई गरेको हो ।
जनप्रतिनिधि तथा कर्मचारीहरूमा जवाफदेही संस्कार बसाउने एवम् दोहोरो संवादबाट जिम्मेवार अधिकारी र नागरिक बीचको दूरी कम गरी सेवा, वस्तु र सुविधा प्रदायक अधिकारी सहजकर्तामा रुपान्तरित भई सुशासनको प्रत्याभूति दिने उदेश्यले गाउँपालिकाको कार्यालय प्राङ्गणमा सार्वजनिक सुनुवाई गरेको हो ।
चुलाचुली गाउँपालिकाको आयोजना र बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको सहजीकरणमा भएको कार्यक्रममा ८५ जनाको उपस्थिती रहेको थियो । कार्यक्रममा कार्यक्रममा १३ जना सेवाग्राहीले प्रत्यक्ष चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
कार्यक्रममा मिलन रुम्दाली, बुद्धराज बोहोरा, कालीदास भट्टराई, कुमार राई, पाण्डव बस्नेत, ओसन राई, सन्तोष थाम्सुहाङ, न्युसन राई, नरेन्द्र श्रेष्ठ, चक्र गजमेर, पर्वत लिम्बू, प्रकाश बम्जन र देउमान गिरीले चासो, गुनासो, प्रश्न र सुझाव राखेका थिए ।
प्रश्नकर्ताको प्रश्नको जवाफ गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङ, प्रमुख प्रशासकीय अधिकृत दिलकुमार लिम्बू, शिक्षा अधिकृत राम मिश्रलगायतले दिएका थिए ।
उनीहरुले आगामी दिनमा गुणस्तरीय सेवाप्रवाह गर्ने प्रतिवद्धता जनाए । चुलाचुली गाउँपालिका अध्यक्ष केरुङले सबै प्रश्नकर्ता र सुझावकर्ताहरुलाई धन्यवाद ज्ञापन गर्दै सेवाग्राहीको सुझावलाई आगामी दिनमा समेटेर अघि बढ्ने प्रतिवद्धता जनाए । ‘सौहार्दपूर्ण रुपमा प्रश्न र सुझावहरु राखिदिनुभयो । यसले हामीलाई काम गर्ने उर्जा थपेको छ’ गाउँपालिका अध्यक्ष केरुङले भने, ‘गाउँपालिका हामी सबैको साझा हो । सबै मिलेर काम गरौं । हामीलाई निरन्तर सुझावहरु दिनुहोला, हामी ग्रहण गर्नेछौं ।’
प्रमुख प्रशासकीय अधिकृत लिम्बूले सेवाग्राहीहरुबाट गुनासोहरु आउन स्वभाविक रहेको उल्लेख गर्दै आगामी दिनमा गुनासो नआउने गरी काम गर्ने प्रतिवद्धता जनाइन् ।
कार्यक्रमको स्वागत प्रशासकीय अधिकृत तीर्थराज खरेलले र गाउँपालिकाको हालसम्मको विकास निर्माण, सुशासन प्रवर्द्धन र सार्वजनिक सेवा प्रवाह सम्बन्धी जानकारी शिक्षा अधिकृत राम मिश्रले प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बुलन्द मल्टिटेक्निकल मिडिया प्रालिको तर्फबाट सहजकर्ता राम योङहाङले ३१ जनाको नागरिक अभिमत प्रतिवेदन पत्र र ३१ जनाको बहिर्गमन अभिमतको नतिजा प्रस्तुत गरेको थिए । नागरिक अभिमतबाट प्राप्त प्रतिक्रियामा आगामी दिनका लागि सुझावहरु र बहिर्गमन अभिमतबाट प्राप्त प्रतिक्रियामा राम्रो पक्षसँगै र सुधार गर्नुपर्ने विषयहरु औंल्याइएको थियो ।
सेवाग्राहीको गुनासो एवम् प्रश्नोत्तरको सवालमा पत्रकार प्रेम अधिकारीले सहजीकरण गरेका थिए । कार्यक्रमको प्रत्यक्ष प्रशारण नयाँ बुलन्द डटकमको अफिसियल पेज https://www.facebook.com/nayabulanda/ बाट भएको थियो ।
सार्वजनिक सुनुवाई कार्यक्रमले शासन सञ्चालनमा पारदर्शिता, नेतृत्वमा जवाफदेहिता र सार्वजनिक चासोका बिषयमा आम नागरिकहरूको सूचनामा पहुँचलाई मजबुत बनाउनुका साथै सार्वजनिक सेवा, वस्तु र निर्णय प्रकृयामा आम नागरिकको सहभागितालाई प्रवर्द्धन गर्नेछ ।
कार्यक्रमको पूरा भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस् :
कार्यक्रमका तस्विरहरु :