झरौं माईबेनी ?

  कुवेर निरौला
287 Shares

आयो माईबेनी मेला जाने होईन त ? वरपर साथीभाई भेलागरी मिलेर झरौं हामी पनि अब माईबेनी ल । इलामको गोदक, नामसालिङ र इलाम नगरपालिकाको तिल्केनीको फेदीमा, माईखोला र जोगमाई खोलाको संगम स्थल अर्थात् दोभानमा सालिन्ने लाग्ने धार्मिक तथा भाकल चढाउने पर्वका रुपमा लाग्ने मेलामा आन्तरिक तथा भारतका अधिकांश स्थानबाट मानिसहरुको मकर स्नान गर्नका लागि ओईरो लाग्ने गर्दछ ।

माईखोला र जोगमाई खोलाको दोभानमा लाग्ने धार्मिक तथा सांस्कृतिक मेलामा इलाम बजाराट अधिकांश व्यापारीहरु आफ्‌ना सामानहर बेच्नका लागि माईबेनीमा सेउला तथा पाल ओडाएर डेरा बनाई व्यापारका लागि नै पुसको अन्तिम सातादेखि बजार नै शुन्य बनाएर मेला मनाउन झर्दथे । तर आजकल मेलाको रौनक अलिक कम जस्तो महसुस भएको छ ।

मेलामा रमाईलो गर्नलाई झर्नेहरुले आपसमा झगडा, लडाई गर्नाले पनि मेलाको रौनक अलिक कम हुन थालेको बताईन्छ । अझ माईबेनी मेलालाई त माओवादीको १० वर्षे जन युध्दकै कारण डरके मारेपनि माईबेनी मेलाको रमाईलो पनमा अलिक ह्रास भने आएको हुन सक्दछ र माईबेनी मेला भर्नेहरुको जमघट कम हुन थालेको हो ।

माईबेनी मेला पहिले पहिले एब महिना नै लाग्ने गरेको र पछि गएर मेलाको रौनक हप्ता दिनमा सिमित रहेको जेष्ट नागरिकहरु बताउँछन् । माईबेनी मेलामा पहिलेका दिनहरुमा धनकुटा, भोजपुर, पाँचथर , ताप्लेजुग, झापा, मोरङ, धरानलगायत भारतका सिक्किम, दार्जिलिग, मिरिक हुँदै कलकत्ता ,पटना आदि स्थानबाट माईबेनि मेलामा मकर संक्रान्ति स्नान गर्न मानिसहरुको ओईरो लाग्ने गरेको बुढापाकाहरु बताउँछन् ।

माईबेनी मेला वास्तबमा पवित्र तीर्थस्थलका रुपमा मान्ने गरेको पाईन्छ । माई खोलामा उहिले नै भनौ मध्य रातमा आरती गरेको आवाज सँगै शंख, घण्ट बजेको पनि आवाज आउने गरेको र औशी, पूर्णिमामा, एकादशी अर्थात् पर्वहरुमा भजनकिर्तन गरेको आवाज आउने र बगरमा राँकोहरु बलेको देखिने गरेको पनि बताईन्छ । तर आजकल भने त्यो मात्र एकादेशको कथा भएको छ । साना नानीहरुलाई मिलाएर कथाहाल्दा पनि हुने भएको छ । माईबेनीको कथा भनेर ।

हामीलाई हजुरआमाहरुले भन्ने पनि गर्नु हुन्थ्यो, ठाढा ठाढाबाट आउने अर्थात् ठाढाबाट तीर्थाटनका लागि माईबेनि आउनेहरु स्नान गरीवरी एकाग्र चित्तका साथ माई भगवतीको ध्यान गरेर जे बरदान मागेपनि पाईने कथन आज पनि छ । पहिले मानिसहरु केही नलिकन चोखो मनले मात्र धार्मिक हिसाबले पूजाआजाका लागि माईबेनी झरेका तीर्थालुका लागि याचना मात्र गर्दा खाना पकाउने भाडावर्तनहरु तथा रहने र खाना पकाई खाई सफा गरेर सोही स्थानमा जस्ताको तस्तै राखि दिने परम्परा रहेको कथन पनि यदाकदा सुन्न पाईन्छ । एक पल्ट ताप्लेजुङ या कतैबाट माईबेनी आएका यात्रुहरुले माई भगवतीको ध्यान परी खाना पकाउनका लागि वर्तनहरुको याचना गरे पछि नभन्दै पति भाडाहरु उत्पति भई ती यात्रुहरुले पनि खाना पकाई वरि खाएपछि लोभका कारण भाँडाको लोभमा परि माईखोलाका भाँडाहरु माझिवरी ढाकरमा थन्क्याउन लाग्दा अचानक ढाकर सहित भाँढाहरु पनि गायब भएको र ति यात्रुहरुपनि घर फिर्न लाग्दा धेरै दिनमामात्र घर पुगी विरामी भई थलिएको र अन्त्यमा सपनामा बरबराई मैले किन यसो गरेको होला ? भन्दै फेरि माईबेनीमा आई पूजा लगाई त्यस्तै भाँडाहरु किनी माई भगवतीमा चढाएको र आफू ठीक भएको कथा सुन्नमा आएको पनि थियो ।

यदि ती भाँडाहरु त्यसरी नलुकाएको भए, अर्थात् मान्छेको मनमा लोभको भकारी नरहेको भए आजसम्म पनि त्यहि सत्यता रहीरहने थियो होला ? र मानिसहरुको आस्था अझ अटल रहीरहने पनि थियो हैन र ? तर मान्छेको जात न हो , पाएको नछोड्ने र भरसक पोको पारेर आफ्‌नो बनाउने मन ।

फाइल तस्बिर : इलामको माई र जोगमाई खोलाको संगलम स्थलमा पर्ने माईबेनी दोभानमा माघे सक्रान्तिको अवसरमा लागेको माईबेनी मेलामा सर्वसाधारणको भिड ।

कति मानिसहरु सन्तान प्राप्तिका लागि माईबेनिमा भाकल परी पूजाआजासहित भगवतीसँग सन्तानको याचना गर्दछन् र अन्तत सन्तानको सुख पाएको पनि छ भने, रोगबाट मुक्त हुने आशयले पनि मानिसहरु माईबेनी जाने गरेको पाईन्छ र माईखोलाको स्नानले अधिकांश मानिसको रोग निर्मुल भएको पनि छ । मेरी हजुर आमाले मलाई कोही कोही बेला यसो पनि भन्ने गर्नुहुन्थ्यो । तँ सानै हुँदा शरीरभरी खटिराहरु आएर हेरी नसक्नु भएको थियो । कति धामी झाँक्री र ओखतीमूलो गर्दा पनि केही सीप नलागेपछि अन्तत माईभगवतीकै शरणमा नगई नभएको र पूर्णिमाका दिन एकाबिहानै मैले तँलाई माईमा लगेर स्नान गराएपछि अनायस विस्तारै शरीरमा आएका खटिराहरु विस्तारै निको हुन थालेको रआज पनि केही सारो गाह्रो पर्दा माईभगवतीको शरणमा जाने गरेको बताउनुहुन्थ्यो । तर आजभोली माईखोलामा त नुहाउन, पूजाआजा नै गर्न बिजुली बत्तिका निँहुमा पानी नै हुँदैन भने, इलाममा कोही काल गतिले नै मरिहाल्यो भने शदगद गरेर चित्तको खरानी पखाल्न पनि पानीको अभाव खट्किन्छ भने, स्नानादीका लागि पनि घिनाउने अवस्था माईखोलामा सिर्जना भएको छ । राजदुवाली क्षेत्रमा स्थानीय बासिन्दाहरुले घरायसी फोहोर सँगै चर्पीको नाली समेत माई खोलाता नै बिसाएका छन् । हामी कोही पनि बोल्ने वाला छैनौ? अन्तत हाम्रो आस्थाको धरोहर त्यसरि फोहर बनाउँदा तपाई हम्रो बोली किन बन्द छ ? हामी आफ्‌नै खुट्टामा बन्चरो जानी जानी हानी रहेका त छैनौ ? एब पल्ट गम्भिर भएर सौच्ने कि ?

माईबेनी मेला भनेको एउटा परम्परा हो भने हामी हिन्दुहरुको आस्थाको केन्द्रबिन्दुसँगै मान्यताको धरोहर पनि हो । कोही भक्ति भावका साथ केही याचनाका साथ माईबेनी पुग्दछन् त कोही वनभोजकै लागि पनि बेनी जाने गर्दछन् । कोही कोही विविध माग र याचनाका साथ भगवतीको आराधनासँगै भक्तिभावले समर्पित भएर वर पनि माग्ने गर्दछन् । कोही सन्तान प्राप्त भएपछि हे भगवती म आराधना गर्न अनउने नै छु भनेर अर्को साल फेरि भगवतीको समिपमा उपस्थित भएको र सन्तोष व्यक्त गरेका पाईएको पनि छ । मानिसहरु आआफ्‌ना चलन अनुसार भाकल गर्ने गर्दछन् र हरेक बर्ष माईबेनिमा भाकल पूरा गर्न आउँदछन् पनि । कोहि पन्चेउली अर्थात हाँस, कुखुरा, परेवा , बोका, राँगाहरुको बलि चढाई भाकल बुझउँछन् भने शाकाहारी तीर्थाथालुहरुले सामान्य धूपदीप नैवेध्य अर्पण गरेर आफ्‌नो भक्तिभाव दर्शाउँदछन् र भगवतीमा समर्पित रन्छन् ।

इलामका विभिन्न स्थानमा वर्षको एक चोटी पर्वका अवसरमा मेला लाग्ने गर्दछ । कार्तिकको ठूलो एकादशिमा माई पोखरीको धार्मिक मेला त, कार्तिकको पूर्णिमामा गजुरमुखी धामको धार्मिक मेला, त्यसरी नै मंसिर महिनाको पूर्णिमामा पंचकन्या देवीको समिपमा झाम्टे मेला लगायत राकसेको फेदिमा लाग्ने रमाईलो मेला पनि रहेका छन् । तथापि माईबेनी मेला भनेको इलामकै ठूलो मेलमा गनिन्छ र यहाँ खाशगरि लिम्बू जातीका सोल्टासोल्टीनीहरु आपसमा हात समाएर माईपोखरी र गजुरमुखीको मेलापछि माईबेनी मेलामा भेट्ने बाचाका साथ माईबेनी मेलामा भेटहुन्थे र आपसमा नाच्दा नाच्दै जोडिको मन आपसमा पग्लीयो भने त ? आपसमा घरबार नै पो बसाएर रमाएको पनि पाइएको छ । माईबेनिमा कहिले काँही यस्तो पनि जुर्छ । आऊ अब तपाई, हामी, युवा, युवती, सोल्टा, सोल्टीनी यसपालि मिलेर झरौ माईबेनी ल ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार