कुलुङ लोककथाः ‘छेन्दीपत’ र ‘बीरमुख’

  निनाम लोवात्ती
217 Shares

विश्वकै प्राचीन महाजातिमा मानिने–गनिने किरातीभित्रका कुलुङ जातिमा विभिन्न मिथक, दन्त्यकथा, लोककथा, लोकमान्यता र लोकवार्ताहरु रहेका छन् । यहाँ कुलुङ जातिमा रहेको विभिन्न लोककथामध्ये दुई ठूला र अति नै जान्ने एवम् शक्तिशाली धामी (मोप) हरु छेन्दीपत र बीरमुखको कथा प्रस्तुत गरिएको छ । कुलुङ जातिको लोककथामा अति नै जान्ने एवम् शक्तिशाली भनी उल्लेखत ती दुई धामी (मोप) छेन्दीपत र बीरमुख महाकुलुङ क्षेत्रको छेम्सी गाऊँको बोक्सुवार भन्ने ठाऊँमा बस्थे भने, उनीहरु कुलुङ जातिभित्रको वालाखाम पाछा (थर) का थिए । ऊ वेलामा ती दुई दाजु्भाइको (छेन्दीपत र बीरमुख दुवै जना) को प्रसिद्धि धेरै टाढासम्म पैmलिएको थियो ।

यस्तैमा एकपटक ती अति नै जान्ने शक्तिशाली धामी (मोप) छेन्दीपत र बीरमुखलाई चेँवावेशी (हाल संंखुवासभाको खाँदबारी नगरपालिकामा पर्छ) । मा ती चिन्ता बस्न बोलाइयो । रीतअनुसार पाहुनाहरु (धामी एवम् ढोलेहरु) लाई खान्तेपिन्तेको राम्रोसँग व्यवस्था गरियो । मोप (धामी) हरु साँच्चै जान्ने हो, होइन ? भनी परीक्षणगर्ने विचारले मोप र उनीहरुका सहयोगीहरुका लागि खान्तेपिन्तेमा चेँवावेशीका मानिसहरुले खानामा मासुको व्यवस्था गर्दा माछो, भ्यागुतो, छेपारो, सर्प, बिच्छी, चील, गिद्ध लगायत पशुपंक्षीकोे मासु (परिकार) तयार पारे । गाउँलेको सो योजना धामीले पहिले नै थाहा पाएको हुनाले आप्mना सहयोगीका रुपमा लगेका आफ्ना ढोलेहरुलाई खाना खानुअघि सम्झाए ‘मासु बटुकोमै राख्नु र झोलसँग भात खाए जस्तो गर्नु, अनि झोलचाहिँ पोखाउनु ।’ ढोलेहरुले धामीले अह्राए जस्तै गरे ।

त्यसपछि धामी (मोप) ले आपूmहरुलाई कपटी गरेर माछो, भ्यागुतो, छेपारो, सर्प, बिच्छी, चील, गिद्ध लगायत पशुपंक्षीको मासु खुवाउने गाउँलेहरुलाई आप्mनो पाइन अर्थात् शक्ति देखाउने विचार गरे । त्यसैले मासुको रुपमा खान दिइएको माछो, भ्यागुतो, छेपारो, सर्प, बिच्छी, चील, गिद्ध लगायत पशुपंक्षीलाई मन्त्रद्धारा जगाएर घरभरि पैmलाए । घरका सबै मान्छेहरुलाई आप्mनो मन्त्रद्धारा मस्त निन्द्रामा पारेर उनीहरु त्यो घरमा भएभरको धन–सम्पत्ती बोकेर हिँडे । घर फर्कने क्रममा साल्पा डाँडामा आई पुगेपछि धामीले ती घरका मान्छेहरुलाई मन्त्रद्धारा ब्युँझाए । घरका मान्छेहरु ब्यँुझदा धामी र ढोलेहरु त्यहाँ थिएनन् । धामी र ढोलेहरु नभएको मात्रै होइन, उनीहरुको सबै श्री सम्पत्ती पनि थिएन । त्यपछि त झन् के चाहियो र ? ती शक्तिशाली धामी (मोप) छेन्दीपत र बीरमुखको नाम–सुवास सारा दुनियाँमा फैलियो ।

यस्तैमा काठमाण्डौको राजदरबारमा रानी बिरामी भइछिन् । काठमाण्डौमा समेत अति जान्ने र शक्तिशाली धामी (मोप) भनी छेन्दीपत र बीरमुखको प्रचारप्रसार भइसकेको थियो । त्यसैले उनीहरुलाई राजदरबारमा रानीको उपचारार्थ झिकाउने निर्णय गरियो । यसरी राजदरबारबाट बोलावट भएपछ छेन्दीपत र बीरमुख काठमाण्डौ आए । दुवैजना धामी (मोप) लाई राजदरबारले पनि परिक्षण गर्ने विचार गर्यो । नभन्दै उनीहरु (छेन्दीपत र बीरमुख) लाई दरबारमा खटिएका कर्मचारीहरुले राजदरबारबाहिरै राखेर उनीहरुको शरीरमा धागो बाँधेर दरबारको भित्तामा राखे, अनि सोधे ‘यो रानी हो ?’ छेन्दीपत र बीरमुख दुवैले एकै स्वरमा ‘होइन, भित्ता हो ।’ भनी जवाफ दिए । दरबारका कर्मचारीहरुले फेरि धागोलाई जाँतोमा बाँधेर ‘यो रानी हो ?’ भनी सोधे । दुवैजनाले ‘होइन, जाँतो हो ।’ भनी जवाफ दिए । फेरि कर्मचारीहरुले खाटलाई धागोले छुवाएर ‘यो रानी हो ?’ भनी सोधे । दुवैले एकै स्वरमा ‘होइन खाट हो ।’ भनी जवाफ दिए । चौथोपटकमा धागोले रानीलाई छुवाएर ‘यो रानी हो हो त ?’ … भनी छेन्दीपत र बीरमुखलाई सोधी नसक्दै रानी निको भई छिन् ।

रानी निको भएपछि राजदरबारमा खुशीयाली छायो । दरबारबाट छेन्दीपत र बीरमुखलाई रानी निको पारेवापत के लाने ? भनी सोधनी भयो । छेन्दीपत र बीरमुखले केही नलाने भनी जवाफ दिए । तर, केही न केही त लानै पर्छ भनी दरबारबाट विशेष आग्रह गरिएपछि उनी (दुवै मोप) हरुले ‘दिने नै हो भने, यो दरबार अगाडिको ठूलो ढुंगा दिनू, त्यही ढुंगा लान्छौं ।’ भने छन् । राजा लगायत दरबारका भाइभारदार, कर्मचारी, सुसारे लगायत सबै छक्क परेछन् । हीरा, मोती, सुन, चाँदी, जवाहरत, धन, सम्पत्ति माग्लान् भनेको त जाबो ढुंगा पो माग्छन् !

तर,छेन्दीपत र बीरमुखलाई राम्रोसँग थाहा थियो, दरबार अगाडिको त्यो ठूलो ढुंगा केवल ढुंगा मात्रै नभएर त्यहाँ लच्छिन (लक्ष्मी) को बास पनि छ । स्मरणीय छ, कुलुङ मिथकअनुसार त्यो लच्छिन ‘छीर्मारिम’ थिइन भने ‘छीर्मारिम’को अलग्गै लोककथा छ ।

यसरी मोपहरुले धन, सम्पत्ति केही नलगी ठूलो ढुंगा मात्रै लाने भनेपछि उनीहरुको चाहनालाई कदर गर्दै दरबारले त्यो ठूलो ढुंगा लाने अनुमति दिए । किनभने, दरबारका कसैलाई पनि थाहा थिएन कि, त्यो ठूलो ढुंगा वास्तवमा ढुंगा मात्रै नभएर लक्ष्मीको वास पनि हो ! यसरी ढुंगा लाने अनुमति पाएपछि मोप (धामी) हरुले आप्mनो मन्त्रले राजदरबार अगाडिको सो ठूलो ढुंगालाई मन्त्रद्धारा सानो बनाइ आप्mनो सर्दाम (सरसमान) राख्ने बुन्ये (डेली÷झोला) मा राखे । त्यसपछि मोपहरु आप्mनो बाटो लागे । मोपहरु आप्mनो बाटो लाग्ने बित्तिकै राजदरबारको सबै चिजबिजले मोपहरुलाई पछ्याउन थाले । हँुदाहुँदा स्वयम् राजाले समेत मोपहरुलाई पछ्याएछन् । अन्तमा राजाले सो ढुंगा दरबारमै छोड्न मोपहरुसँग बिन्ती गरेछन् । मोपहरुले पनि राजाको आग्रह टार्न नसकेर सो ढुंगामा बस्ने लच्छिन (लक्ष्मी) आपूmहरुले राखेर पहिले जत्रो थियो, त्यत्रै ढुंगा बनाएर ढुंगा मात्रै छाडेर गए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार