
दोहा (कतार) : २०२२ मा स्थापित युमा साम्यो महासभा कतारले प्रथम अधिवेसन आगामी १३ डिसे्म्बर २०२४ मा गर्ने भएको छ । अधिवेसनका लागि आवश्यक तयारी पुरा भई सकेको बताउदै उपाध्यक्ष योगेन माखिमले प्रथम अधिवेसन सव्यभव्य रुपमा सम्पन्न गर्न लागेको बताए ।
विविध सांस्कृतिक कार्यक्रम सहित सम्पन्न हुन लागेको प्रथम अधिवेसनले २०२५–२०२७ को लागि नयाँ कार्य समिति चयन गर्नेछ । विभिन्न सामाजिक संघसस्थाहरु, व्यक्ति व्यक्तित्वहरुलाई अधिवेसनमा निमन्त्रणा पठाई सकिएको समेत आयेजक संस्थाले जानकारी दियो ।
याक्थुङ लिम्बु जातिले पुर्खादेखि मान्दै आएको, धान्दै आएको, चलाउदै आएको भाषा, लिपि, धर्म, सस्कार, संस्कृति तथा याक्थुङ जातिको सभ्यता, सम्पदा, धरोहरहरुको संरक्षण सम्बर्धन र प्रवर्धनको लागि स्थापित धार्मिक, सामाजिक सांस्कृतिक संवाहक सस्था युमा साम्यो महासभा हो र कतारमा रहेका आस्थावान याक्थुङ लिम्बु जातिहरुले आफनो आस्था विश्वासलाई बचाईराख्न परिवारको रुपमा संस्थागत भएर बस्नुपर्दछ भन्ने उद्देश्यले युमा साम्यो महासभा कतार स्थापना भएको संस्थाका उपाध्यक्ष माखिमले बताए ।
माखिमले जानकारी दिएअनुसार नेपाल बाहिर विभिन्न राष्ट्रमा रहेका युमा साम्यो महासभा समिति युमा साम्यो महासभा केन्द्रिय कार्यालय नेपालको सम्बन्धन प्राप्त संस्थाहरु हुन् भने यी संस्थाहरुले विभिन्न राष्ट्रहरुको साझा संस्थाको स्थापित युमा साम्यो महासभा अन्तराष्ट्रिय समन्वय समिति (असस) संग पनि समन्वयात्मक सहकार्य गर्दछन् ।
कतारस्थित सवै सामाजिक संघ सस्थाहरुसंग सहकार्य र समन्वय गर्दै युमा साम्यो महासभा कतारले विशुद्ध सामाजिक संस्थाको रुपमा नेपाली समुदायको विचमा सक्रिय रुपमा स्थापनाकाल देखि नै आफनो कार्यक्रमहरु निरन्तर गरिरहेको जनाइएको छ ।



















































