अस्ट्रेलियाले १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाएको छ। बालबालिकालाई सम्भावित जोखिमबाट जोगाउन १६ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन प्रतिबन्ध लगाउने विधेयक बिहीबार सिनेटले अनुमोदन गरेको छ। सबै प्रमुख दलले विधेयकको पक्षमा मतदान गरेका थिए। सो विधेयक तल्लो सदनबाट बुधबार पास भएको थियो।
यो प्रतिबन्ध कसरी लागू हुन्छ र कुन कुन सामाजिक सञ्जालका हकमा लागू हुन्छ भन्ने कुरा अझै प्रस्ट भइनसकेको भनेर द न्यूयोर्क टाइम्सले लेखेको छ।
सो विधेयक पास भएपछि प्रतिक्रिया दिँदै प्रधानमन्त्री एन्थोनी अल्बनिजीले यसले अस्ट्रेलियालाई बालबालिकाको मानसिक स्वास्थ्य र हितको संरक्षण गर्ने मामिलामा विश्वको अग्रपंक्तिमा पुर्याएको बताए।
उनका अनुसार यो कानुनले १६ वर्षमुनिकालाई सामाजिक सञ्जालमा अकाउन्ट खोल्नबाट रोक्न यथोचित कदम चाल्ने दायित्व सामाजिक सञ्जाल चलाउने कम्पनीमाथि पर्नेछ।
१६ वर्षमुनिकालाई रोक्न लगातार असफल भएका कम्पनीलाई अस्ट्रेलियन डलर चार करोड ९५ लाखसम्म जरिवाना लगाउन मिल्नेछ।
कानुन विपरीत १६ वर्षमुनिका सामाजिक सञ्जाल चलाउने बालबालिका वा उनीहरूका आमाबुबालाई भने कुनै सजाय हुने छैन।
‘हामीलाई थाहा छ केही केटाकेटीले चलाउने उपाय भेट्नेछन्। तर हामीले सामाजिक सञ्जाल कम्पनीहरूलाई प्रस्ट सन्देश दिएका छौं,’ उनले केही समयअघि भनेका थिए।
यो कानुनले खाता खोल्ने बेलामा प्रयोगकर्ताको उमेर यकिन गर्न सरकारी कागजात माग गर्न निषेध गरेकाले कम्पनीहरूलाई बालबालिकालाई रोक्न भने मुस्किल पर्नेछ।
अल्बनिजीले स्न्यापच्याट, टिकटक, इन्स्टाग्राम र एक्स (ट्विटर) लाई प्रतिबन्ध लाग्ने भनेका छन्। युट्युब र ह्वाटसएप लगायत मेसेजिङ एपका हकमा भने कानुन नलाग्ने अनुमान छ।
फ्रान्सले गत वर्ष १५ वर्षमुनिकालाई सामाजिक सञ्जाल चलाउन आमाबुबाको सहमति चाहिने कानुन ल्याएको थियो। उसले यस्तो खाले कानुन पूरै युरोपियन युनियनभरि लगाउनुपर्ने माग उठाउँदै आएको छ।
तर अस्ट्रेलियाले ल्याएको कानुन फ्रान्सको भन्दा कडा छ।
यो कानुन ल्याउने जग भने साउथ अस्ट्रेलियाको प्रमुख पिटर मेलनास्कसकी श्रीमतीले यो वर्ष अमेरिकी सामाजिक मनोचिकित्सक जोनाथन हैटले लेखेको ‘द एन्सियस जेनेरेसन’ भन्ने पुस्तक पढेपछि भएको भनेर रोयटर्सले लेखेको छ।
‘मलाई अझै पनि उनले भनेको क्षण याद छ। तिमीले यो पुस्तक पढ्नुपर्छ र यसबारे केही गर्नुपर्छ,’ मेलनास्कसकीले रोयटर्सलाई भने, ‘त्यति बेला मैले यति छिटो, यस्तो हुन्छ भन्ने अपेक्षा गरेको थिइनँ।’
अस्ट्रेलियाको दुई करोड ७० लाखमध्ये ७ प्रतिशत मात्रै जनसंख्या भएको मेलनास्कसको साउथ अस्ट्रेलियाले बालबालिकालाई सामाजिक सञ्जाल चलाउन रोक लगाएको ६ महिनामै सारा देशभरि प्रतिबन्ध लागेको छ।
(विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)