माङसेबुङ : इलामको माङसेबुङ गाउँपालिका-२ इभाङमा आयोजित खुल्ला नकआउट फुटबल प्रतियोगिताको उपाधि माङसेबुङ गाउँपालिका-२ को योङहाङ फुटबल क्लबले हात पारेको छ ।
आज (शुक्रबार) इभाङ माध्यमिक विद्यालयको खेलमैदानमा भएको फाइनलमा माई नगरपालिका-६ को हिलिहाङ फुटबल क्लबलाई २-१ गोल अन्तरमा पराजित गर्दै योङहाङ एफसीले उपाधि हात पारेको हो ।
पहिलो हाफसम्म बराबरीमा खेलेको योङहाङ एफसीले दोस्रो हाफमा आक्रामक रणनीति अपनाएको थियो । योङहाङ फएसीका तर्फबाट दुवै गोल आइन्द्र लिम्बूले गरेका थिए । उता हिलिहाङ एफसीले रमेत आक्रामण खेल प्रदर्शन गरेपनि एकमात्र गोल फर्काउन सफल बन्यो । हिलिहाङको तर्फबाट एकमात्र सान्तवना गोल कप्तान जीवन योङहाङले फर्काएका थिए । उनले पेनाल्टीमार्फत गोल गरेका थिए ।
उपाधिसँगै योङहाङ एफसीले नगद ४० हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । उता उपविजेता हिलिहाङ एफसीले समेत नगद २५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।
विधागततर्फ उत्कृष्ट खेलाडी विजेता योङहाङ एफसीका सन्देश लिम्बू र उत्कृष्ट गोलकिपर योङहाङ एफसीकै निशन राई घोषित भए । सर्वाधिक गोलकर्ता उपविजेता हिलिहाङ एफसीका जीवन योङहाङ लिम्बू घोषित भए । उनले प्रतियोगिता अवधिभर ७ गोल गरेका थिए । उनीहरुले समेत नगद पुरस्कार र ट्रफि हात पारे ।
विजेता तथा उपविजेता टिम र खेलाडीहरुलाई माङसेबुङ गाउँपालिका उपाध्यक्ष विनोद नेम्बाङले पुरस्कार हस्तान्तरण गरे । आयोजक बोझोला इन्द्रेणी क्लबका उपाध्यक्ष सुरेश योङहाङको अध्यक्षतामा भएको कार्यक्रममा प्रतियोगिता सञ्चालन गर्न सहयोग गर्ने विधिन्न व्यक्तिहरुलाई धन्यवादपत्र समेत प्रदान गरिएको थियो ।
गत १४ कात्तिकदेखि सञ्चालित प्रतियोगितामा इलामको माङसेबुङ गाउँपालिकासहित छिमेकी फाकफोकथुम गाउँपालिका, देउमाई नगरपालिका, माई नगरपालिका र मोरङका गरी २८ वटा टिमको सहभागिता थियो ।
तस्बिरहरु :