“आहै चिप्लोमा बाटो, देउसी रे ।
आहै अँध्यारो रातमा, देउसी रे ।
आहै लड्दै र पड्दै,देउसी रे ।
आहै केराको थम्बा, देउसी रे ।
आहै १० भाइ जम्मा, देउसी रे ।”
हिन्दू धर्मावलम्बीको दसैँपछिको दोस्रो ठूलो पर्व तिहारमा खेलिने देउसीभैलोमा भट्याइने यस्ता शब्दहरु हिजोआज सुनिन छोडेका छन् । सारङ्गी, मादल, डम्फू र बाँसुरीका साथै हार्माेनियमका धुनमा ताल र सुर मिलाएर इतिहास, पुराणका कथा सुनाउँदै देउसी खेल्ने पुरानो चलन अहिले हराउँदै गएको छ । देउसीभैलोमा भट्याउने भाकाहरू पनि बदलिँदै गएका छन् ।
तिहारको आकर्षणमध्येको एक मानिएको देउसभैलो हिजोआज आर्शीवाद दिने, मनोरञ्जन लिने र साथीभाइहरुसँग रमाउने माध्यमभन्दा पनि पैसा सङ्कलन गर्ने माध्यम बन्दै गएको इलाम नगरपािलका ९ का िबनाेद पाेखरेलले बताए । केही सङ्घसंस्था, विद्यालय तथा समूहले अन्यका गीतको सहयोग लिइ नृत्य देखाउँदै देउसीभैलोलाई पैसा सङ्कलनको माध्यम बनाइरहेका भन्दै उनले परम्परा हराउनेमा चिन्ता व्यक्त गरे ।
हिजोआज गाइने देउसीभैलो र नृत्यमा मौलिकता देखिन छोडेको स्थानीय बताउँछन् । अधिकांश भैली समूहले हिन्दी र नेपाली चलचित्रका गीतमा देउसीभैलो खेल्ने र नाच्ने गरेका छन् ।
गाेलाखर्कका तारानिधि गाैतमले भन्नुभयो, “पहिलेका भैलीहरु आउँदा स्थानीय लोकबाजा र गीतहरु देख्न, सुन्न पाइन्थ्यो । आजभोलि आयातित गीतहरु सुनिन्छन् । आजभोलिका भैली खेल्नेहरु उफ्रिने र कराउने मात्र गर्छन् । यसरी हाम्रो लोकसंस्कृति लोप हुँदै जानेछ ।” केही वर्षपछि लोकबाजा र भैलीको मौलिकता हराउनसक्नेमा उहाँले चिन्ता व्यक्त गरे ।
पहिला देउसीभैलो खेल्दा सबैले लोकगीत आफैँले गाउने, मुरली, मादल, खैजडी, झ्याली, ट्याम्कोलगायत मौलिक बाजाहरु बजाउने परम्परा रहेकामा अहिले उक्त परम्परा हराउँदै गएको बताए । गाेलाखर्कका अर्का युवा विक्रम थापाले युवा पलायनको असर देउसीभैलोमा पनि परेको उल्लेख गरे ।
कार्तिक कृष्ण त्रयोदशीदेखि कार्तिक शुक्ल द्वितीयासम्म पाँच दिनसम्म खेलिने देउसीभैलोको आफ्नै महत्व छ । मृत्युका देवता यमराज आफ्ना दैनिक काम स्थगित गरेर बहिनी यमुना कहाँ यी पाँच दिन अतिथिका रुपमा बसेर भाइटीका ग्रहण गर्ने भएकाले यस पर्वलाई ‘यमपञ्चक’ भन्ने गरिएको थापाले बताए ।