इलाम : रैथाने कला–संस्कृतिलाई पर्यटनसँग जोडेर उजागर गर्ने उद्देश्यले इलामको रोङ गाउँपालिका-२ मा शनिबारदेखि कला–साहित्य महोत्सव सुरु भएको छ ।
पर्यटकीय झन्डीडाँडामा बौद्ध धर्मावलम्बी गुरुहरूबाट मन्त्रोच्चारण गरी महोत्सव उद्घाटन गरिएको छ । महोत्सवमा स्थानीयको ‘उत्साहजनक’ सहभागिता देखिएको छ । गाउँपालिका अध्यक्ष मनीकुमार स्याङ्बो (सुवास) र उपाध्यक्ष विष्णुमाया खवास पनि महोत्सवमा सहभागी भएका छन् ।
पहिलो दिन शनिबार साहित्यकार राजन मुकारुङले मुख्य वक्ताका रूपमा ‘रैथाने ज्ञानको आवश्यकता’ विषयमा मन्तव्य राख्ने कार्यक्रम छ । ‘कृषिः सम्भावना, समस्या र सीमा’ विषयमा योगेन्द्रमान श्रेष्ठसहित थप दुई वक्ताबिच बहस र ‘कला–साहित्यभित्र गाउँको चित्रण’ विषयमा हाङयुग अज्ञात र अरू दुई वक्ताबिचको बहस पनि सकिएको छ ।
दोस्रो दिनको कार्यक्रम सलकपुरमा आयोजना गरिएको छ । त्यस दिन ‘कविहरू गाउँ फर्किन्छन्’ कार्यक्रम सञ्चालन गरिनेछ । यसमा १० स्थानीय र १० गैरस्थानीय कवि–कवयित्रीले आफ्ना रचना सुनाउनेछन् ।
‘विश्वव्यापीकरणभित्र गाउँ’ शीर्षकमा आहुति, समुना श्रेष्ठ र अन्य दुई वक्ताबिच छलफल हुनेछ । ‘गाउँ–सहरका महिला र पुरुष’ विषयमा कैलाश राई र अन्य दुई वक्ताबिच छलफल गर्ने तय भएको छ । ‘हामी इतिहासमा बाँच्छौँ’ विषयमा वीरबहादुर लेप्चा र अन्य दुई वक्ताबिचको बहस पनि त्यसै दिन हुनेछ ।
तेस्रो दिनको कार्यक्रम सांस्कृतिक सर्किटको जौबारीमा हुनेछ । ‘एक चित्रकारले देख्ने गाउँ’ को चित्रकला प्रदर्शनी गरिने छ । यसमा २० चित्रकार सहभागी हुनेछन् । त्यही दिन स्थानीय विषय समेटिएको नाटक मञ्चन गरिनेछ । नाटकमा चेतना नाट्य समूह र स्थानीय कलाकार रहनेछन् ।
माघ २९ गतेसम्म हुने महोत्सवका विषयवस्तु स्थानीय मौलिस संस्कृतिसँग सम्बन्धित रहने वडाध्यक्ष सत्यम राईले बताए । उनका अनुसार फरक किसिमले कला, संस्कृति र इतिहासको संरक्षण गर्दै पर्यटन प्रवर्द्धनको प्रयास गर्न लागिएको हो ।
महोत्सवका क्रममा लेप्चा, तामाङ, राई, लिम्बू, राई, नेवारलगायत विभिन्न जाति र संस्कृतिका झाँकी प्रदर्शन गरिने छ उनले बताए । उक्त गाउँपालिका अल्पसंख्यक लेप्चा जातिको बसोबास भएको स्थान हो । महोत्सवमा लेप्चा समुदायको नृत्य, साकेला नृत्य, च्याबु्रङ, तामाङ सेलो, मारुनीलगायत प्रस्तुत गरिने राईले बताए ।
इलामस्थित चेतना नाट्य समूह र झापाको ट्रेक–८५८६ को समन्वयमा वडाको आयोजनामा महोत्सव आयोजना गरिएको हो ।