आजदेखि ‘प्रथम देउमाई कप’ सुरु हुँदै

  नयाँ बुलन्द
518 Shares

इलाम : आज (शनिबार) देखि इलामको देउमाई नगरपालिकाको मङ्गलबारेमा प्रथम ‘देउमाई कप’ सुरु हुँदैछ ।

देउमाई स्पोटिङ क्लबको आयोजनामा हुने प्रतियोगितामा इलामका सबै १० वटा पालिका र पाँचथरको एक गरी ११ वटा टिमको सहभागिता रहने छ ।

भानुभक्त माविको छात्रावास खेल मैदानमा प्रतियोगिता सञ्चालन गरिने क्लबका अध्यक्ष मणिकुमार तामाङले जानकारी दिए । उनका अनुसार प्रतियोगिता यो प्रथम अन्तर पालिका प्रतियोगिता समेत हो ।

पहिलो तथा उद्घाटन खेलमा आयोजक देउमाई नगरपालिका र माई नगरपालिकाबिच प्रतिस्पर्धा हुने भएको छ ।

प्रतियोगिताको प्रथम हुने टिमले नगद दुई लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छ । दोस्रो हुने टिमले नगद एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने आयोजक समिति सदस्य तथा प्रचार समिति संयोजक मौसम खनालको भनाई छ । उनका अनुसार उत्कृष्ट गोलरक्षक, उत्कृष्ट खेलाडी लगायतलाई समेत पुरस्कार वितरण गरिने छ ।

प्रतियोगिताको फाइनल २७ माघमा हुनेछ ।

इलामको देउमाई नगरपालिकाको सोही खेल मैदानमा केही वर्ष अघि अन्तर्राष्ट्रिय स्तरकै प्रतियोगिता हुने गरेको भएपछि पछिल्ला केही वर्ष यता ठुला प्रतियोगिता हुन सकिरहेको छैन । यो प्रतियोगिताले स्थानीय क्षेत्रमा नै खेलाडी उत्पादन, तथा खेल क्षेत्रको विकास हुने अपेक्षा गरिएको छ ।

खेल पर्यटनको प्रवर्द्धन तथा खेलाडीहरूलाई ब्यवसायिकतामा जोड दिएर प्रतियोगिता गर्न लागिएको आयोजकको भनाई छ । ‘युवाहरूको एकता र ऐकवद्धता, खेलकुदमा सहकार्य र सहभागिता’ भन्ने मूल नारा सहित प्रतियोगिता गर्न लागिएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार