जिल्ला बाजेको अविचलित संघर्ष

  सन्तोष नेम्बाङ लिम्बू
616 Shares

राजा महेन्द्रले २०१७ साल पौष १ गते जननिर्वाचित प्रधानमन्त्री नेपाली काग्रेसका वि.पी.कोइराला सहित मन्त्रीमण्डलका अन्यलार्इ सहित गिरफ्तार गरी कैद गरे । राजाले आफ्नो अनुकुलता अनुसार पन्चायतको नाममा निरङकुश शासनको थालनी गरे । २००७ साल सम्मको क्रान्ति पछी प्राप्त जनताको अधिकार पुन राणा शैलीमा पन्चायततर्फ दोहोरियो । राजनैतिक दलहरु प्रतिवन्धमा परे । राजनैतिककर्मीहरु अराष्ट्रिय तत्वको नाममा जेलपर्न थाले । यस्तो राजाको निरङकुश कदम विरुद्द पूर्वी नेपाल लिम्बूवानको चारखोल-पान्थर तिर जनताको अधिकार प्राप्तिको लागी हतियार उठाइयो । जसको नेतृत्व पान्थर पौवासारतापका स्व.भूविक्रम नेम्बाङ-कृष्ण विक्रम नेम्बाङ- हेलाङका धोविनाथ नेम्बाङले गरेका थिए । उनै जीवित विद्रोही धोवीनाथ नेम्बाङको संर्घषशिल जीवनलार्इ मैलै वाल्यकालमा देखेको स्मरण राख्न चाहे ।

मेरो मावली घर पान्थर चिलिङदेन – ७ हेलाङ । हेलाङ गाँउमा ७-८-९ गरी चिलिङदिन गा.वि.स.का तीन वटा वडाहरु समेटीएका थिए ।वि.सं. २०४६ ताका मैले हेलाङको पैयोबोटे प्रा.वि.मा कक्षा ३ मा भर्ना पाए । इलाम सदरमुकामको बालमन्दिरमा कक्षा २ पास गर्दा एवीसिडी-वानटुथ्री जानी सकेको थिए । कक्षामा सहकर्मीहरुलार्इ कपीको पाना दिने सर्तमा एविसीडी सिकाउथे । श्री पैयौवोटे पाठशालाको माथिल्लो सिमानातिर जहाने खलकका करिव 4 घर परिवार एकै आँगनजस्तो गरी बनाइएका घरहरु थिए । जसमध्ये छेउको चारतीर पर्खाल, झ्याल-ढोकाको चौकट र निदाल मात्र अवशेष रहेको घरचाँही धोविनाथ बाजेको थियो वहाँलार्इ धेरै जसोले जिल्ला भनेर बोलाउथे । वहाँको घरपरिवार चाँही भत्किएको घरको आँगन छेउमा सानो अस्थाइ रुपमा बनाएको भुर्इघरमा सपरिवार सहित बस्नु भएको याद छ । घरको घुर्यान -पाखोबारीमा गार्इबस्तु-बाख्राका माउहरु पालिएका थिए । विहान वेलुका मेरै दामलका वहाँका जेठा छोरा सूर्य छोरा र म प्राय गार्इबस्तु बाख्रालार्इ घाँस काटन जादा भेटी रहन्थ्यौ । घर देखी करीब सय मिटर दुरीमा हेलाङका करिब दर्जन भन्दा बढी घरधुरीले प्रयोग गर्ने पानीको कुवामा प्राय विहान बेलुका धोवीनाथ बाजे वा जिल्ला बाजेसँग जम्का भेट हुदाँ हाम्रो इलामे नातीको गाग्री भरीएन कि भन्दै बोलाउदा भर्न लाग्यो बाजे भन्दै बोलचाल हुन्थ्यो । खानेपानीको हालजस्तो सुविधा थिएन । विहान सबेरै कुवा नपुगे रित्तो गाग्रीमा घर फर्कनु जस्तो शरम केही हुन्नथ्यो । खेतीकिसानमा धानिएको हेलाङ गाँउ । उब्जनी खासै नहुने, हिउँद याममा प्राय लक्का जवानहरु पैसा कमाउन भन्दै परदेश जान्थे । समयअनुसार फलेका अन्नवाली खाइ छाक टार्नु पर्थ्यो । श्रावण देखि कार्तिक सम्म मकै-भटमास-सीमी उसिनेर छाक टार्नु – मंसिर देखि पुगे सम्म चामलको भात अच्छा तक, आलु, कनिका गहुँ भुटेर चिया- पिउनु परथ्यो । पाठशालामा लाउने कपडामा नै राँके – पन्चमी बजार भर्नु पर्ने । बेला बेलामा मासु खान १५ दिन पछि लाग्ने पन्चमी बजार पुग्नु पर्ने । गाँउघरमा कहिले काँही संग्रान्ति-दशै वा माघेजाडो यामतीर गाँउलेहरु मिलेर भागीमा रागाभैसी काट्थे । मासुको रस पिउन ‍औधी मन पर्ने । मासु खान पन्चमी पर्खनु पर्ने । नभए कसैको विहे- फजे नै आउनु पर्ने । सम्झन्दा गाँउले जीवन अभाव दुख कष्ट थिएछ । मलार्इ चाही गाँउका मामा माइजु पर्नेहरुले माछा मासु खान पाइरहने तिमी इलामे किन यता खान नपाइने ठाउँमा बसेको हौ भन्दै जिस्काउथे । मलाइ चाँही किन हो किन इलाम बजार भन्दा मावली गाँउको सौन्दर्यता नै रमाइलो लाग्थ्यो । चिलिङदिन हेलाङको फेदीमा निवुखोला, जहाँ चैत्रको रामनवमीमा बर्षेनी साप्सु मेला भरिन्थ्यो ।म प्राय मावली बाजेसँग हिउँदभरी साप्सु नजिकैको फिचुक खेतको याक्सामा बस्थे ।

साप्सुबाट हेलाङतिरको पश्चिम उत्तर उकालो चढे पछि थोक्वा खोल्सी जहाँ केसामी/नाम्सामी नामाकरण भएको कहिल्यै नसुक्ने ढुङ्गा माथी पोखरी हेर्दा कति मनमोहक, अझ उकालो चढ्दै जाँदै हेलाङको मध्यभागमा रहेको इन्द्रणी खेतको वीचमा एक्लो अग्लो तेङगोबुङ अर्थात सिमलको अजङगको रुख जहाँ लिम्बू मुन्धुम अनुसार केसामी र नाम्सामीको युद्दको क्रममा केसामी मरेको कथन सुन्दा हेलाङगाँउ प्रति मलाइ ‍औधी निकटता पलाउछ । तेङ्गोबुङबाट अझ माथी उकालो चढ्दा यक्खोकोक्मा र वरपीपलको जोडी जहाँ साप्सुदेखी ठाडो उकालो लाग्दा – लाग्दा चलिरहेको चिसो बतासमा थकान मार्न पाउदा लाग्छ तारानाथ शर्माको निवन्ध- घनघस्याको उकालोको वर्णन भन्दा कम छैन हेलाङको उकालो । माथी वरपीपलको चौतारीमा थकार्इ मार्दै यसो उत्तरतर्फ हेर्दा यक्खोराजाले घाम ताप्ने खटिया जस्तो ढुङ्गा, डाडाँको वीचमा अवस्थित नुहाउने पोखरी देख्छौ – त्यसपछि यसो नजरलाउदै जाँदा यक्खो डाँडा मुनी वदोहाङराजाले पूजाआराधाना गर्ने खेतै खेतको बीचमा देखिने थुम्की डाँडा अनि पारी पट्टी तिजक,नाम्फुङ्कयक डाँडाकाडाहरु, माथी पश्चिमतर भने मुन्धुम अनुसार केसामीको छाला सुकाइएको स्थल सेहोनाम्लाङ डाँडा हुँदै ‍ओसाँगु कुम्मायक कुसायक डाँडापाखाहरुको दृश्यले मलार्इ सधै तानीरन्छ । हेलाङको साप्सु मेला- इन्द्रेणी मेला- नवमी- पन्चमी बजार मलाइ इलाम बजार भन्दा रमाइलो लाग्थ्यो । प्राय मेला बजार जाँदा म उनै बाजेको छोराहरु सूर्य र चापाहाङ्सँग हुन्थे । मेला बजार जादा फर्कन्दा बाटो चौतारीमा गफिन्दा उनीहरुले हाम्रो बुवालार्इ जिल्ला भन्छन् भन्दै मलाइ सुनाउथे ।अग्लो कद, दौरासुरुवाल लवेदा, कालोकोट ढाका टोपीमा साँच्चै जिल्ला बाजे ठूलै नेता हुन जस्तो लाग्थ्यो । मैले जिल्ला भनेको के होला भन्ने जिज्ञासा राख्दा उनीहरुले देशका अरु जिल्ला पनि घुमेकोले जिल्ला भनेका हुन भन्थे ।२०४८ सालको संसदिय चुनाव ताका नेपाली काँग्रेसका उम्मेद्दार स्व. भुविक्रम नेम्बाङ हेलाङमा आयोजित चुनावी सभामा आएका थिए । उस बेला अग्लो कदका जिल्लाबाजेले दुवै हात पछाडी राखेर सतर्क शैलीमा उभिएर उपस्थित गाँउलेहरुलार्इ घरी दायाँ घरी बाँया टाउको घुमाउदै विस्तारै-बिस्तारै बोल्न थाल्नु भयो Æ नेपाली काग्रेस तपार्इ हामी जनताको पार्टी हो, हामीलार्इ खानेपानी, मोटरबाटो, शिक्षा खेलकुदको विकास चाहिएको छ,  तेसैले यो पाटीलार्इ बहुमतका साथ विजय गराउन अनुरोध गर्छु Æ आदी कुराहरु राख्दै हेलाङको चुनावी सभालार्इ सम्बोधन गर्नु भयो । उपस्थित सबैले ताली बजाए जिल्ला बाजेको समर्थनमा । पछि चुनाव भयो तर चुनावी परिणाम वहाँहरुको पक्षमा आएन । जिल्ला बाजे बर्खाभरी गाँउ आउनु भएन । सुन्थे माथी फिदिम जिल्लातिर नै डुली घुम्दै छन् रे ।

एक दिन हिउँदको याम हामी वहाँको घरछेउ सीमाना रहेको मावली खेतमा हाल लारुम्बा बस्नु हुने माइलामामा माइजु एवं गाउँखेतालाहरुसँग गाइभैसीको मल गोठबाट सिरान खेतमा ‍ओंसारी रहेका   थियौ । जिल्ला बाजेको आँगनमा ५-७ जना मान्छेहरु भेलिएरु घरको सिकुवामा कसैले चिया, खोसेल्नामा बेरेका सुर्ति तान्दै गफिएका धेरै वेर देखि देखि रहेका थिए । लाग्थ्यो तहाँ केही विषमा छलफल भर्इरहेको छ । म चाँही सानो डोकोमा मलको भारी बोकेर हिडे पनि मेरो ध्यान भेलीकएको मानिसहरु तिर नै थियो ।उनीहरुले घरी घरी मल खेतमा मल छरिरहेका माइलामामालार्इ पनि हौ माइला सम्मासिक थाङे न अर्थात एकछिन यहाँ आउन हौ भन्दै बोलाउथे । मामाचाही भोली यही खेतमा मकै छरेर परदेश जानु छ भन्दै ‌ओसारेको मल हातले चारैतीर छरिरहनु हुन्थ्यो । जिल्लाबाजेको सिकुवामा भेलिएकाहरु मध्ये केहीले लिम्बू भाषामा यो के तरिका हो ? भएन- भाखा नाग्यो- हुदै हुदैन- कति पर्खनु ? आदी कुराहरु गरीरहेको बेला बेला सुनीरहेको थिए । मलको भारी ४-५ चोटी खेतमा घोप्टाइन्जेल सम्ममा जिल्ला बाजेको आँगनमा कसैले कोरली गार्इ-कसैले बाख्राको माउ जबरजस्ती तानिरहेको देखे । सम्झे जिल्ला बाजेले बेच्न पन्चमी लान आटेका हुन । यतिकैमा जिल्ला बोजुले केही दिन पर्खनु हामी दिन्छौ – हामी काही जाँदैनौ भन्दै हुनुहुन्थ्यो – सिकुवाको एक छेउमा जिल्ला बाजे र छोरीछोराहरु केही नबोली उभिरहेका थिए । यतिकैमा उनीहरुले गाइ बाख्रा माउ तानेर स्कूलको मुलबाटो हुँदै जबरजस्ती डोर्याउदै लगे । हामी मल बोकेको खाली डोकोको नाम्लो सम्हाल्दै हेरी रह्यौ । बेलुका मैले बोजुलाइ सोधे किन गाँउले मामाहरुले जिल्ला बाजेको गाइ-बाख्रा लगेका हुन – बोजुले भने अस्ती दशैमा जिल्ला बाजेले खै कति धार्नी मासुको जमानी बस्नु भएको रे तिर्न नसकेर गाइ बाख्रा मेउखुवा अर्थात तानेका रे ।बोजुको कुरा सुन्दा मलाइ भित्र भित्र चिसो पसे जस्तो भयो । टाउको फुले जस्तो केही हराएको जस्तो लाग्थ्यो सानोमा गुचा खेल्दा खेल्दै आफुभन्दा ठूलाले कुचा खोसेर जवरजस्ती लगि दिए जस्तो । मन भाउन्न भएर आयो । त्यो रात मलार्इ निद्रा नै परेन । सम्झे भागीमासु अरुले खाने जमानी बस्नु पर्ने चाँही जिल्लाबाजेले । पैसा तिर्न नसकेर गार्इ बाख्रा नै लगिदिनु त भएन नि ? घरवारी बन्दक राखे भा नि तिर्थ्यो होला भन्दै मावली बाजे बोजु पनि घरीघरी गनगनेको सुन्थे । यो दृश्यले मलाइ हिउँदमा छरेको मकै एकोहोरो गोडिन्जेल सम्म किन किन छोइ रहयो । तेतिन्जेल जिल्ला बाजे बाहेक जिल्ला बोजु छोराछोरीले अस्थाइ घर छाडेर चारखोलतीर बसाइ गए है भन्दै मावली बोजुले सुनाउनु हुन्थ्यो । म पनि कक्षा पाँचको रिजल्ट आए पछि मावल हेलाङबाट इलाम आए ।

मैलै हेलाङ छाडेपछि जिल्लाबाजेले पनि गाँउघर छाडी परदेश बसाइ सर्नु भएछ । हाल इलाम गजुरमुखिमा सपरिवार बसाइ आएको थाहा पाए । हाल सुन्छु जिल्ला बाजेको गाँउ हेलाङमा पहिला जस्तो दुख छैन । खानेपानीको धाराहरु टोलटोलमा पुगेको छ, हेलाङमा मोटरबाटोको परिकल्पना गरीएको थिएन आजभोली एम्बुलेन्स पुग्ने गरी चारैतिर बाटो खोलिएको छ । शिक्षा र खेलमैदानको विकास भएको छ।अधिकांस युवाहरु खाडी देखि कोरिया पुगेर आर्थिक सुधार भएको छ ।मासु खान पन्चमी बजार धाउनु र कसैले पनि जमानी बस्नु पर्दैन । भने जस्तो खान लाउनलार्इ हाम्रो पालामा जस्तो दुख छैन । जिल्ला वाजेले विगतको चुनावी सभामा भने जस्तो विकास हुँदै गईरहेको रहेछ ।

हेलाङ मावली छोडेर इलाम आएको तीन दशक पछि २०१८ साल क्रान्तिका योद्दा कृष्ण विक्रम नेम्बाङ्कले प्रकाशन गर्नु भएको Æ लिम्बूवानको इतिहासÆ नामक पुस्तक पढे । स्व. भूविक्रम नेम्बाङको क्रान्तिको नालीवेलीहरु अग्रजहरुबाट सुने तपार्इ धोविनाथ नेम्बाङ २०१८ साल कान्तिका जिवित योद्दा भएको थाहा पाए । प्रजातन्त्र स्थापनाको खातिर पाँचथरबाट पक्राउ परी धनकुटाको जेलमा पन्चायतले थुनेको इतिहास जिवतै रहेछ । जीवनको अन्तिम क्षणहरुमा पनि अविचलित रुपमा राजनैतिमा आस्था, निस्ठा, त्यागको पर्यावाची बनी रहेको देख्छु । १८ साले क्रान्तिका जिवित योद्दाले पक्कै राणा-राजा देखि गणतन्त्रको युग भोगी रहनु भएको छ । मेरो जिज्ञासा यति लामो राजनैतिक कालखण्डमा धोविनाथ उर्फ जिल्ला बाजेले परिकल्पना गरेको समाज कस्तो हो ? व्यवस्था फेरीयो किन सर्वहाराहरुको अवस्था फेरीएन ? नेपाली माटो- वी.पी.को बाटो देखि रङवादी कवि धर्मेन्द्र विक्रम नेम्बाङको जस्तो हरियो समाजवाद किन हुन सकिरहेको छैन ? यस्ता अनेक जिज्ञासाहरु विगतमा हेलाङवासीहरुले भोगेको अनुहारबाट खोजिरहेको छु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार