कुलुङ जाति र फैलिदैं गरेको ‘चाक्चाकूर’

  निनाम लोवात्ती
203 Shares

कुलुङ जातिको पनि अन्य जातिसरह साँच्चै स्वतन्त्र जातीय बनोट रहेको छ ? जस्तै पिता-पूर्खा, वंश-वृक्ष, इतिहास, भूगोल, मातृभाषा, वेशभुषा, चाडपर्व, धर्म, रीतिथिति, संस्कार, संस्कृति, परम्परागत कानुन, चालचलन, तथ्य-तथ्यांक, दशी, प्रमाण आदि छ, छैन ? कि बिना आधार फुरफुर मात्रै गरेर “कुलुङ”हरुले हामी ‘राई !’ होइनौं भनी रहेका छन् ? यदि “कुलुङ”हरु पनि अन्य जातिसरह अस्तित्व भएको छुट्टै जाति हो भने कुलुङको जनसंख्या कति छ ?, कुलुङ भाषा बोल्ने मातृभाषी संख्या कति छन् ? सो सम्बन्धमा जान्ने प्रयास गरौं ।

त्यसरी हेर्दा विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार नेपालमा १ सय २५ जातजाति र १ सय २३ भाषाभाषी रहेका थिए भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा चाहिँ १४२ जातजाति, १२४ भाषाभाषी र १० धार्मिक समूहको तथ्यांक आएको छ । यो तथ्यांकले नेपाल वास्तवमै विविध जातजाति, भाषाभाषी र धार्मिक समूह आदिको साझा फुलबारी हो भन्ने देखाउँछ । भलै राज्यले हालसम्म पनि त्यहीअनुसार भुईँ तहबाट आएको तथ्य र तथ्यांकअनुसार नीति निर्माण नगर्नु अर्कै कुरो हो ।

विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या २८ हजार ६ सय ३१ र ३३ हजार १७० रहेको थियो भने विसं २०७८ को १२ औं राष्ट्रिय जनगणनामा कुलुङ जातिको जनसंख्या केही बढेर ३३ हजार ३८८ आएको छ । त्यस्तै कुलुङ मातृभाषी संख्या ३७ हजार ९१२ र आप्mनो पूर्खाको भाषा ‘कुलुङ’ भनी लेखाउनेको संख्या ४० हजार ४७९ रहेको छ । तर कुलुङ जातिको आधिकारिक संस्था “नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)” ले गरेको आन्तरिक जनगणनाअनुसार चाहिँ कुलुङ जातिको जनसंख्या एक लाख ६० हजारभन्दा पनि बढी छ ।

‘कुलुङ’ जातिका सम्बन्धमा वास्तविकता यस्तो रहेको भए तापनि हालसम्म आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) अनुसार ‘कुलुङ’जाति छुट्टै जातिका रुपमा सूचीकृत भएका छैनन्, राईमै गाभिएका छन् । जुन कुरो सुन्दा साह्रै दुःख लाछ, पीडावोध हुन्छ । २१ औं शताब्दी भनिएको यो जमानामा त्यो पनि लोकतन्त्र र गणतन्त्र लागू भई सकेको देश नेपालमा यस्तो स्थिति रहनु भनेको बिडम्वना नै हो । हुन पनि आदिवासी जनजनति उत्थान राष्ट्रिय प्रतिष्ठान ऐन’ (आजउराप्र) २०५८ को दफा दुई (क) मा व्याख्या गरिएअनुसार ‘‘…छुट्टै सामाजिक संरचना र लिखित वा अलिखित इतिहास भएको अनुसूची बमोजिमको जाति वा समुदाय सम्झनु पर्छ ।’ भनिएको छ । यसरी हेर्दा ‘कुलुङ’ जाति पनि अन्य जातिसरह सहजै आदिवासी जनजाति सूचीमा सूचीकृत हुनुपर्ने देखिन्छ । अझ ‘कुलुङ’ जातिको त प्रष्ठिानको ऐनले तोकेभन्दा पनि बढी आधारहरु रहेको छ । अर्थात् ‘कुलुङ’ जातिको ऐतिहासिक ‘महाकुलुङ’ भूमि पनि रहेको छ । त्यस्तै अरु जातिको भन्दा छुट्टै मातृभाषा पनि रहेको छ, फरक खालको भेषभुषा पनि रहेको छ । साथै ‘कुलुङ’ जातिको वंश वा पूर्खाहरु कहाँबाट आए ? सोको इतिहास र वंश-वृक्ष पनि रहेको छ । त्यस्तै हामी भन्ने भावना, वेषभुषा, गरगहना, आप्mनै मौलिक धर्म, संस्कार, संस्कृति, रीतिरिवाज, परम्परागत कानुन, रहनसहन, चाडपर्व आदि पनि अरु जातिको भन्दा फरक रहेको छ ।

अर्को महत्वपूणर् उदाहरण भनेको हालसम्मको नेपालको हालसम्मको जातीय बनोटको आधारमा केही उदाहरणहरु प्रस्तुत गर्नु पर्दा जसरी बाहुन नेपालको एउटा जात मानिन्छ । अनि जसरी बाहुनभित्र निरौला, पाण्डे, घिमिरे, पोखरेल, गौतम, दाहाल आदि थरहरु हुन्छ । त्यस्तै क्षेत्रीको थापा, कार्की, बस्नेत, कटुवाल, बुढाथोकी, डाँगी, राउत आदि थर हुन्छ । अनि मगरको पनि आले, पुन, सिञ्जाली, खपाङ्गी, तिलिजा, मास्की, राम्जाली आदि थरहर हुन्छ । साथै लिम्बुको पनि आङ्देम्बे, चेमजोङ, इङ्नाम, लुम्फुङ्वा, नेम्बाङ, खेवा, लिङ्देन आदि थरहरु हुन्छ भने, तामाङको पनि गोले, तितुङ, थोकर, मोक्तान, योञ्जन, रुम्बा, वाईबा आदि थर र उपथर रहेको हुन्छ नै । हो, त्यस्तै गरेर ‘कुलुङ’ जातिको पनि आ-आप्mनो थर (थरलाई कुलुङ जातिले ‘पाछा’ भन्ने गर्छन्, आप्mनो भाषामा), उप-थर रहेको छ । त्यसैले गर्दा नै ‘कुलुङ-कुलुङ’बीचमै विवाहवारी हुने गरेको छ । नत्र त कसरी ‘कुलुङ-कुलुङ’बीचमै एकआपस्तमा विवाहवारी हुन्छ, हुन्थ्यो ?

कुलुङ जातिका सुरुका पूर्खाहरु चार जना रहेका थिए । ती पूर्खाहरु क्रमशः १, छेम्सी । २, ताम्सी । ३, खप्दूलू । ४, राताप्खू हुन् । छेम्सीले सुरुमा ‘महाुकुलुङ भूमि’को छेम्सीमा, ताम्सीले छेस्खाममा, खप्दूलूले पेल्माङ-पिल्मोमा र राताप्खूले सत्तो-सोत्तो (हाल सोताङ) मा बसोबास सुरु गरे । पछिल्लो पटक भएको राज्य पुनर्संरचनापछि गाउँ पालिका (गापा) को व्यवस्था भयो । सोअनुसार यी सबै गाउँहरु अहिले महाकुलुङ र सोताङ गाउँपालिकाभित्र पर्छ । माथि उल्लेख गरिएका कुलुङ जातिका चार प्रमुख पूर्खाहरु भन्दा पहिले २३ वटा पूर्खाहरु रहेका थिए भन्ने कुलुङ जातिका पूर्खाहरुले बताउँदै आएका छन् । स्मरणीय छ, “किरात कूलू गूसखोम”ले तीन पटकसम्म पूर्खा सम्मेलन गरी सकेको छ । जे होस् कुलुङ जातिका सुरुका ती २३ पूर्खाहरुः

१, हूतीलीप ।
२, खावपूम्मा ।
३, वाईरीप्चो ।
४, होहोरेम ।
५, नीनामरीदूम-पारुहाङ ।
६, तूम्नो ।
७, होलेन्दा ।
८, दीवूरी ।
९, खार ।
१०, खोक्चीलीप ।
११ रनू ।
१२, छूनी ।
१३, छाङोक्पा ।
१४, तूनीलू ।
१५, मूथीती ।
१६, रोदू ।
१७, खम्बूहो ।
१८, छाक ।
१९, कूलू ।
२० खप ।
२१, खप्दूछेम ।
२२, ताम्सी ।
२३ छेम्सी ।

कुलुङ जातिका मुख्य चार वंशका पनि विभिन्न थरहरु रहेका छन् ।

जस्तै ‘छेम्सी वंशः मोरोखू, वारोखू, देमाखू, वालाखाम, फोनीबू, वादीरी, थीम्रा, मूम्हो, पोखोती ओखोथी, थीम्रा, तोमोछा, पीदीसै, सेकछा, तोर्ङो, गदूहो, देनीखू, नमाखम, होमूछा, सेकती,नीमरस, सोखोबूस, माराबू, फोनीबू आदि ।

त्यस्तै ताम्सी वंशः आयाबू, दवार, रीन्हो, रङ्निीबू, थोरेप्पा, ङोपोचो, तोङेर्बू, बूक्खो, सोम्फोरु, लाम्लछा, ताम्बूछा, छाप्दूलू, छाप्कोती, गोतीमी, तीनीखू, हासीबू, सानालूङ, साम्दीबू, सेकाती, गेब्दूलूू, रेप्खोस, राङ्गेन्दा, राजीबू, होछालू, बार्सी, होङेलू, हारीम्बू, हानीबूस, ङोपोचो, मान्थेर्बू, मायात्ती, मूलूखू, आदि ।

राताप्खू वंशः कूबीत्ती, रीबीत्ती, रुखूपो, मूलूखू, मायात्ती, मोल्थो, पायात्ती, येइमूछा, नीछीती, नीतीबू, छाम्नीहो, छानीबूस, ताम्नीहो, छेन्दीबूस, हीउसी, बीजीदेउ, होबेर्मी, हीन्दूखू, लोमरस, होलूम्बू, पोङ्कीरी, रोङगेन्दा, थोमनाम,येइमूछा आदि ।

खप्दूलू वंशः होनीत्ती, लोवात्ती, सूर्वा, राजीत्ती, छेन्हो, थोमरोस, मोरोमूल, फोवात्ती, देउराम, मूलूलू, गोक्तूलू, थोप, रेम्नीसीङ, सैमालूङ, होपोत्ती, रीङालू, होबीत्ती,सोनूर, नीतीबू, ताम्नीहो, छेइमाहो, छेन्दीसी, येइसा, यातीहो, लामाखूस, छारीपा, सायपोस, सालीखाम्स, श्रीपोस, दीरीत्ती, वारेती आदि । यसरी हेर्दा हालसम्म ‘कुलुङ’ जातिभित्रै ३८० भन्दा बढी विभिन्न थर र उपथरहरु रहेका छन् । पुनश्चयः (कुलुङ भाषामा दीर्घ मात्रै भएकोले गर्दा लिखित रुपमा दीर्घलाई ‘ह्रस्व’ मान्ने र ‘दीर्घ’ लेख्खा-जनाउँदा ‘ः’ दिने निणर्य (हालसम्म) भएको हुनाले ‘कुलुङ’ जातिका थरहरु लेख्दा सबै दीर्घ लेखिएको हो ।

कुलुङ जातिका मानिसहरु आफ्नो ऐतिहासिक भूमि ‘महाकुलुङ’लाई मातृभाषामा “मा कूलू” भन्छन् । त्यस्तै कतिपय विदेशी लेखक तथा अन्वेषकहरु र नेपालका अन्य जातजातिले यो क्षेत्रलाई ‘महाकुलुङ’ (ग्रेटर कुलुङ) भनेर चिन्दछन् । कुलुङ जातिको बाक्लो बसोवास क्षेत्रहरु सोलुखुम्बुको महाकुलुङ क्षेत्रबाहेक संखुवासभा, भोजपुर, सुनसरी, इलाम, झापा, मोरङ र भारतको दार्जिलिङ, सिक्किम, आसामलगायतका ठाउँहरु हो भने नेपालको तेह्रथुम, चितवन, धनकुटा, ताप्लेजुङ, पाँचथर, उदयपुर, सिराहा, कास्की, खोटाङ, काठमाण्डौ, ललितपुर, भक्तपुर, मुस्ताङ, धनुषालगायत लगभग २३/२४ जिल्लामा कुलुङ जातिको बसोवास रहेको छ ।

त्यस्तै विसं २०५८/०५९ (यले दोङ ५०६१) मा चन्द्रसिंह कुलुङ, टंक सोम्फोरु, प्रकाश लोवात्ती कुलुङ (यो पंक्तिकारको त्यो बेलाको लेख्ने नाम), पत्तिबहादुर सोम्फोरु, मेखबहादुर कुलुङ, सूर्यबहादुर कुलुङ, इन्दिरा कुलुङ, पाण्डु राजित्ति लगायतको सक्रियतामा भाषाविदहरु अमृत योन्जन-तामाङ र डा. माधव पोखरेलको सहयोगमा कुलुङ भाषाको स्वर वणर् र व्यञ्जन वणर् पहिचान गरिएको थियो । त्यसअनुसार कुलुङ भाषामा २१ वटा व्यजञ्न वणर् र १२ वटा स्वर वणर् पहिचान गरिएको छ । कुलुङ भाषामा दीर्घ मात्रै भएकोले लिपिवद्ध गरिदा दीर्घलाई ह्रस्व मान्ने र दीर्घ जनाउदा विसर्ग (ः) दिने वा ः चिन्ह प्रयोग गर्ने व्यवस्था गरिएको छ ।

कुलुङ जातिको अरु जातिको भन्दा भिन्न प्रकारको भेषभुषा, धर्म, रीतिथिति, संस्कार-संस्कृति, चालचलन, परम्परागत कानुन, मूल्य-मान्यता आदि रहेको छ । कुलुङ जातिभित्रै जन्मदेखि मृत्युसम्ममा आफ्नै जातिका पूर्खाले मुख्य भूमिका खेल्छन् । त्यस्तै जहाँ सुकैका कुलुङहरुले पनि मृत्युपछि मृत्यु संस्कार गर्दा मृतक (मृत आत्मा) को आत्मालाई महाकुलुङको ‘पोम्लालुङ’ भन्ने ठाऊँमा पठाउनु पर्छ । कुलुङ जातिमा चलेको विश्वास र मान्यताअनुसार यो (पोम्लालुङ) नै कुलुङ जातिको लागि ‘स्वर्ग’ हो । मृतकलाई यसरी ‘स्वर्ग’ अर्थात् पोम्लालुङ पठाउँदा पुग्नुअघि मृतकलाई पानी पिउन दिने ठाऊँ छ । त्यो ठाऊँलाई ‘पोम्ला काउ’ भनिन्छ । ‘पोम्ला काउ’ भन्ने ठाऊँ सोलुखुम्बु जिल्लाको तत्कालीन बुङ र छेस्खाम गाविसको पेल्माङ/पिल्मो गाउँमा पर्छ । यसरी मृतकलाई पठाइने कुलुङ जातिको स्वर्ग अर्थात् ‘पोम्लालुङ’ सोलुखुम्बु जिल्लाको ‘गुदेल’मा पर्छ । जुन स्थललाई कुलुङ जातिले पवित्रस्थल मान्ने गर्छन् । त्यस्तै गरेर विवाहमा चेली पक्षकाले ज्वाइँ पक्षलाई सुक्तुलू (चुल्हा) मा दी (जाँड) र हाङ्मुवा (रक्सी) चढाउँदै ‘रोङखोङ’-‘दी खोङ’ (नेपाली भाषा वागदत्ता !?) दिएर सम्पूणर् रुपमा सुम्पने गरिन्छ । सामान्यतया कुलुङहरु २ पटक विवाह गर्दछन् । पहिलो विहेसम्म चेलीको मृत्यू भई हालेमा माइती पक्षले नै काजक्रिया गर्नुपर्छ । दोश्रो विवाह छिन्ती विवाह हो जसलाई ‘दाप्लो कुइम’ भनिन्छ । कुलुङ जातिको आफ्नै जातीय पहिरन, गरगहना र मौलिक बाजागाजाहरु पनि छ । कुलुङ जातिमा जन्म संस्कार गर्दा बालबालिका जन्मेपछि जन्म दिने आमा (सुत्केरी) आफैले नाइटो काट्ने, भांग्रे सिस्नोको धागोले बाँध्ने, बच्चालाई भांंग्राकै कपडाले बेरेर राख्ने, स्थान र समय अनुसार ५/७ दिनमा कटुस, उत्तिसको काँचो बोक्रा र हरियो पात मिसाएर कुटेको धुलोले बच्चा र सुत्केरीलाई नुहाई दिने गरिन्छ । यसरी नुहाएपछि चोखो भएको मानिन्छ । मृत्यु संस्कारमा भने अकालमा मरेकाहरुलाई खाडल खनेर, घरभन्दा टाढा जंगल, ओढार आदिमा काँडा बिच्छ्याएर, लासलाई नाँगै घोप्टो पारेर राखिन्छ र, फेरि लासमाथि काँडा, सिस्नो आदिले छोपेर पुरिन्छ । यस्तो मृत्यूलाई कुलुङहरु “हील्सी” भन्छन् । स्वाभाविक रुपमा मृत्यु भएकालाई घुर्‍यान वा घर नजिकैको बारीमा गाड्ने गरिन्छ ।

कुलुङ जातिको चाड-पर्वमध्ये चाक्चाकूर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको रोङ्केमे, योउरीम आदि प्रमुख हुन् । ‘देदाम’ चाहिँ साह्रै अनिकाल पर्‍यो, दुःख, बिमार भयो भने मात्रै गर्ने प्रचलन छ । साथै ‘देदाम’ गर्नु साह्रै खर्चिलो पनि हुन्छ । स्मरीण छ, देदाम गर्नलाई जोडी सुंँगुर, कुखुरा, वादी (अण्डा), दी र हाङ्मुवा (जाँड+रक्सी) आदि इत्यादि चाहिन्छ भने उक्त कार्य गर्दा नोक्छोले सुँगुरलाई ढाडमा तरवारले हानेर मार्नु पर्छ । तोस गर्दा ‘योंङकुलु’ अर्थात् पवित्र ढुंगा राखिन्छ । त्यस्तै नागी गर्दा ‘दी छारी’मा लीप् (घेम्पा) पिँधमा प्वाल पारेर राखिएको हुन्छ जुन ‘दी’ (जाँड) ले ‘सुक्तुलू’ (चुल्हो) र ‘दाम्फे’ पुजिन्छ । यस्तो कार्य ठाउँअनुसार फापर, जौ र कोदोको जाँडले गर्ने गरिन्छ ।

फैलिदैं गरेको चाक्चाकूर

कुलुङ जातिको पनि अन्य जातिहरुको जस्तै आप्mनो मौलिक चाड-पर्वहरु रहेका छन् । त्यस मध्ये चाक्चाकूर, तोस, देदाम, नागी, मोबो वा साप्लोपा, साइपोम/साइपोको रोङ्केमे, योउरीम आदि प्रमुख हुन् । त्यसैले काठमाण्डौ लगायत देशका विभिन्न ठाउँमा बस्दै आएका हरेक ठाउँका कुलुङहरुबीच हरेक वर्षको पुस १५, १६ र १७ का दिनमा विभिन्न सांस्कृतिक कार्यक्रम र नाचगानसहितको औपचारिक कार्यक्रमहरु गरेर ‘मीनारी दाचाम चाक्चाकुर’ मनाउने गरिएको छ । हुन पनि केन्द्रका शासकहरु र तिनका एजेन्टहरुले नेपालको भगौलिक एकीकरणसँगै नेपालका विभिन्न जातजातिको मौलिक चाडपर्वहरु नामेट पारे, सम्मिलिकरणमा गरे, केहीलाई फरक शैलीमा, केही फरक कथामा त्यही हिन्दु मिथक, कथा, कहानी हालेर तिमीहरुको हो भनी मान्न वाध्य पारे ।

जे होस्, कुलुङ जाति मात्रै अछूतो रहन सकेन, राज्यको त्यस्तो हर्कतबाट । तापनि राज्यको पहुँच सहज भएको ठाउँमा अथवा मूल थलो छाडेर गएका कुलुङ जातिका मानिसहरुले आप्mनो मौलिक चाडपर्वहरु मान्न छाडे, फलतः पछिल्लो पुस्ताका मानिसहरुले आप्mनो चाडपर्वहरु भुल्दै गए । त्यसो तापनि विसं २०४६ सालको परिवर्तपछि नेपालका अन्य जातजाति, भाषभाषीहरुमा जस्तै कुलुङ जातिहरुमा पनि आप्mनो जातीय स्वपहिचान, मौलिक वेषभुषा, मौलिक चाडपर्वहरु, रीतिथिति आदिका बारेमा सोधीखोजी हुन थाल्यो । अझ यो क्रम विसं २०६२-०६३ को राजनैतिक परिवर्तनपछि ह्वात्तै बढ्ने क्रममा छ । फलतः पछिल्लो पुस्ताका मानिसले आप्mनो जातीय स्वपहिचान, मौलिक वेषभुषा, मौलिक चाडपर्वहरु, रीतिथिति आदिलाई बिउँझाउने क्रम बढाएका छन् । यसै क्रममा यो वर्ष काठामाण्डौमा स्थाई तथा अस्थाई रुपमा बसोवास गर्ने कुलुङ जातिका जनसमुदायहरुले यले दोङ-५०८४ को अवसरमा गोकणर् नगरपालिका-३, सुन्ताखानस्थित भर्खरै बन्दै गरेको आप्mनै भवनमा धुमधाम साथ ‘मीनारी दाचाम चाक्चाकुर’ भव्य रुपमा मनाउँदै छन् । सो अवसरमा आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापामगर ज्युलाई प्रमुख अथितिका रुपमा आमन्त्रण गरिएको छ ।

कुलुङ समुदायको आधिकारिक जातीय संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृतिथ उत्थान संघ (कूलू गूसखोम)’ ले विसं २०६१ र विसं २०६८ र २०७९ मा सुनसरी जिल्लाको धरान (सेउती पारि) मा देशभरिका कुलुङ जातिका पिता-पूर्खाहरुको भेला डाकेर पूर्खा सम्मेलन गरिएको थियो । सो भेलामा भेला भएका कुलुङ जातिका पूर्खाहरुका अनुसार प्राचीन कालमा कुलुङ जातिले चाक्चाकूरको अवसरमा ‘मिनारी-दाचाम्’ चाड मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोम राखी, बाँसकै खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो । यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पितितिम’ भनिन्छ । यसरी कुलुङ जातिले चाक्चाकूरको अवसरमा ३ दिनसम्म मनाउने ‘मिनारी-दाचाम् चाक्चाकूर’को अवसरमा पहिलो दिन सबैले आ-आफनै घरमा मीठो मसिनो जे छ, त्यही पकाएर, तुल्याएर खाने गरिन्छ भने दोस्रो दिन छोरीचेलीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवन-यापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् भने तेस्रो दिन माइतीपक्ष पनि चेलीबेटीलाई उही रीतले आशिष दिन छोरीचेलीहरुको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ । खासमा मुलुकी ऐन (विसं १९१०) ले वाधा नगरेसम्म खुल्ला रुपमै गोरु काटेर भव्य रुपमा भोजसहित ‘चाक्चाकूर’ मनाउने गरिन्थ्यो । साथै चाक्चाकूरको दोस्रो दिन गते नयाँ अन्न प्रयोग गर्ने र, १७ गते नयाँ अन्न/भित्र्याउने/भण्डारण गर्ने गरिन्छ । यो कार्यलाई नै कुलुङ भाषामा ‘मिनारी-दाचाम्’ भनिन्छ ।

यसरी हेर्दा कुलुङ जातिको जातीय स्वपहिचान, मौलिक वेषभुषा, चालचलन, मौलिक चाडपर्व, रीतिथिति, संस्कार, संस्कृति, परम्परागत कानुन आदिलाई मुर्झाउने काम तीब्र गतिमा अगाडि बढाईएको छ । त्यसमा पनि अझ कुलुङ जातिको नयाँ ’चाक्चाकूर‘ र कुलुङ जातिका मानिसहरुले वर्षभरि खेतीपाती गरेर उत्पादन गरेको र पाकेको नयाँ अन्न-बालीलाई भित्र्याईने (ढुकुटीमा भण्डारण गरिने) गरिन्छ । जसलाई ‘मीनारी दाचाम’ भन्ने गरिन्छ । त्यसैले यो चाडलाई समग्रमा अर्थ बुझाउने गरी, अर्थ खुल्ने गरी ‘मीनारी दाचाम चाक्चाकूर’ भन्ने गरिन्छ । यसरी हेर्दा कुलुङ जातिको महान चाड ‘मिनारी-दाचाम् चाक्चाकूर’ले मुर्झाउने अवसर पाएको छ । पैmलने मौका पाएको छ । फल्ने र फुल्ने मौका पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार