पत्नी वियोगमा परेका अर्जुनको दुःखद कहानी, पुष ७ गते सम्झिदा झसङ्ग

  नयाँ बुलन्द
2.4k Shares

 

कुरो २०७४ साल पौष २ गते अफिसको छुट्टी मिलाएको थिएँ । दमकसम्मको यात्रा गर्नु थियो । त्यही दिन मेरी श्रीमतीको अप्रेसनको मिति थियो । दोस्रो सन्तानको लागि मैले कुनै समस्या नहोस् भनेर एक महिना अगाडि नै सुगम ठाउँ झापा पुर्याएको थिएँ ।

बिहान ४ बजे नै उठेर म घुर्बिसे पञ्चमीबाट रबि हुँदै माङ्सेबुङको बाटो भएर झापाको दमक तिर लागें। कच्ची सडक भए पनि दुरीको हिसाबले नजिक भएकोले म प्रायः यहि बाटोमा मोटरसाइकलबाट यात्रा गर्ने गर्थे।

बिहान ८ बजे झापा जिल्लाको दमक पुगे। लाइफलाइन अस्पताल भर्ना गरिएकी मेरी श्रीमति निर्मलाको अप्रेसनको समय बेलुका ५ बजे निर्धारण गरिएको थियो । अप्रेसन सफल भइ छोरी मेरो हातमा थमाइदिए। आमा छोरी दुवै स्वस्थ भएको कुरा‌ थाहा पाएपछि म धेरै खुशी भएँ। भोलिपल्टसम्म ठिकै थियो । जब बेड सार्दा तीन तला माथि सम्म भर्याङमा उनी सहारा बिना आफैं हिंडेर पुगेकी थिइन्।

दिउँसो २ बजे तिर एउटा सिस्टर आएर युरिन ब्याग निकालेर गइन् । आधा घण्टा भित्र पिसाब हुन पर्नेमा नभएपछि रातको १० बजे तिर डाक्टर आएर आइसीयुमा बिरामीलाई लानुपर्ने देखिन्छ भने पछि मन झसङ्ग भएँ । उनलाई आइसीयुमा भर्ना गरियो ।

रातको १२ बजिसकेको थियो । कुरुवा सिर्जना र म २ जना मात्र थियौं । सबैलाई फोन गरेँ। कसैले फोन उठाएनन्। झन् मनमा तनाव थपियो। भोलिपल्ट बिहान सबै आफन्तहरु आए ठूलो राहतको महसुस गरेको थिएँ।

भिडियो एक्सरे गर्दा भित्र पानी देखिएको र पुन अप्रेसन गर्नुपर्छ भन्ने डाक्टरबाट कुरा आएपछि त्यसकै तयारी भइरहेको थियो । सुत्केरी भएकाहरु मेरो त डबल अप्रेसन भएको भनेको सुनेको थिएँ। त्यसैले त्यस्तो गम्भीर समस्या आउला भनेर १% पनि सोचेको थिइन ।

फेरि, अप्रेसन गरी अप्रेसन थिएटरबाट बाहिर निकाली उनलाई आइसीयु कक्षमा लगियो।

होसमा आएपछि उनलाई भेट्न आइसीयुमा जाँदा मलाई देखेर रुँदै भन्दै थिइन्, “अर्जुन मलाई यहाँबाट बाहिर लैजाउ, मलाई यीनीहरूले मार्छन्,छिटो लानु ।” पटकपटक दोहोर्याएर बोल्दै थिइन्। मलाई लाग्यो उनलाई धेरै पिडा भएको छ । डाक्टरहरु भन्दै थिए;

“उनको होस राम्ररी आएको छैन।” म बाहिर निस्के। दिदीहरु क्रमशः भेट्न जानुभयो।

लगभग ४ बजे मलाई डाक्टरहरुले बोलाए र भने, “दुवै मृगौलाले काम गर्न छोडेको छ डायलासिस गर्नुपर्छ यहाँ त्यो सुबिधा उपलब्ध छैन धरान घोपा लानु ।” “डायलासिस गरेपछि ठिक हुन्छ?” मैले भने। हुन्छ नै भनेका थिए त्यहाँका डाक्टरहरुले । एम्बुलेन्स बोलाएर तत्काल घोपा लगियो।  त्यहाँ पनि आइसीयु बेड नपाए पछि मैंले धेरै हारगुहार मागे। घोपा अस्पतालमा आइसीयुमा  बेड पाउन ठुलै सोर्सफोर्स चाहिने रहेछ। यो कुरा मलाई अहिले आएर मात्र थाहा भयो।

केही उपाय नचले पछि डाक्टरहरुको सल्लाह अनुसार आइसीयुमा बेड खाली भएको अस्पतालमा लानुपर्ने भएपछि बिराटनगरको बिराट नर्सिङ होम लगियो । हामीलाई केही थाहा थिएन एम्बुलेन्स ड्राइभरले नै त्यहाँ पुर्याएको थियो।

सबै रिपोर्ट हेरिसकेपछि डाक्टरले भन्यो ,”तपाईहरुको बिरामीको बाँच्ने सम्भावना अत्यन्तै न्यून छ। यस्तो प्रकारको बिरामीको बाँच्ने सम्भावना १०% मात्र हुन्छ” के गर्ने तपाइहरुको बिचार छ ?”

म छाँगाबाट खसे झै भएँ । सपना झैँ लाग्यो। तै पनि आस थियो। “०% त भएको छैन राख्ने।” भनेपछि सिधै आइसीयुको भेन्टिलेटरमा उनलाई राखियो। भेन्टिलेटरमा लादै गर्दा उनले मलाई अन्तिम वाक्य भनेकी थिइन्, “नानीलाई ल्याक्टोजिन खुवायो कि खुवाएन?”

“त्यसको किन पिर किन मान्छौ हामी सबै छौं।” मैले भने। रातको १ बजिसकेको थियो । रातभर औषधी र अन्य सामाग्री ओसारपसार गर्दै समय बित्दै गयो। भोलिपल्ट बिहान डाक्टरहरुले बोलाए र भने, “तपाईंहरुको बिरामीको अवस्था केही सुधार भएको छ । मृगौलाले केही काम गर्न थालेको छ । पिसाब आएको छ। तर पनि ढुक्क भइहाल्ने अवस्था चाहि छैन। ५०/५० को अवस्था छ।” हामी धेरै खुशी भयौ । नानीलाई पनिसंगै राखेका थियौं। हरेक क्षणहरुलाई फेसबुकमा शेयर गरिरहेको थिएँ। सबै साथीभाई आफन्तहरु प्रार्थना गरिरहेका थिए। त्यो खुशी धेरै रहेन । रातको ९ बजे तिर डाक्टरहरुले फेरि बोलाए।

“तपाईंहरुको बिरामीको अवस्था फेरि नाजुक हुन थाल्यो । बचाउँन सकिने अवस्था न्यून छ । तपाईंहरुको पैसा पनि धेरै खर्च भइसकेको छ । घरबारी सबै सकिन्छ। बिरामी लानुहोस्। अक्सिजन लगाएर लानुहोस्।” “होइन सर अन्तिम अवस्थासम्म प्रयास गर्नुहोस्।” यति भनेर म बाहिर निस्के । हेरेँ सबैजनाको आँखामा आँशुले भरिएको थियो। आफन्तहरू भेला हुने क्रम बढ्दो थियो। मेरो आँखामा आँशु रोकिएन। अस्पताल कम्पाउण्ड बाहिर निस्के। निकै पर सम्म हिंडेर मेनरोडमा पुगेर थचक्क बसें। सवारी साधनहरु हिडेको एकोहोरो हेरीरहें । सपना कि बिपनामा छु जस्तो लाग्यो। दिमाग मन्दमन्द भएको जस्तो लाग्यो। बिगतको हाम्रो प्रेमका अबिस्मरणीय क्षणहरु बिवाह अनि बर्तमान समयसम्मको यादहरु चलचित्र झैँ मनमा आयो।

झण्डै-झण्डै आफुले आफैलाई सम्हाल्न गाह्रो भयो। “काका जाम…” भन्दा झसङ्ग भएँ। ज्वाइँले मलाई पच्छ्याइरहेका रहेछन्।

भोलिपल्ट ९ बजे फेरि डाक्ट हरुले बोलाएर भने, “तपाईंहरुको बिरामीलाई बचाउन सकेनौं, वीआर सरी” लासलाई बाहिर निकालियो, मैले उनलाई हेरेँ लाग्यो अझै सास फेरिरहेकी छिन् ।  सपना झैँ लागिरहेको थियो । एकपटक फेसबुक खोलेर हेरेँ।

उनको फोटो मुनी श्रदाञ्जली शब्दहरु लेखिएका थिए। एम्बुलेन्समा उनलाई हुँइकाइदै थियो म पनि एम्बुलेन्स मै थिएँ हातमा दुई वटा कागज थियो । एउटाबर्थ सर्टिफिकेट र अर्को डेथ सर्टिफिकेट । अनि थाहा भयो उनलाई एम्बुलेन्सबाट अस्पताल होइन मेरो घर पाँचथरको फाल्गुनन्द -५ घुर्बिसे पञ्चमी घरतिर हुँइकिइदै छ भनेर । एम्बुलेन्स सिधै पुर्व तिर हुँइकिदै थियो । २ वटा एम्बुलेन्समा सबै परिवार आइरहेका थियौं । दमक पुगेपछि सिधै लाइफलाइन अस्पताल तिर गयौ । त्यहाँ मारिएको भनेर आन्दोलनको तयारी गरिएको रहेछ । मलाई थाहा थिएन। अन्जान थिएँ। केही सोच्न सकिरहेको थिइन। अस्पताल पुगियो। मान्छेहरु जुट्न थाले। चिनजानका थुप्रै साथीहरु आएका थिए। केही बेरमै नारा जुलुस प्रदर्शन शुरु भयो । केही तोडफोड समेत भयो। सडकमा टायर बालेर समेत नारा जुलुस हुँदै थियो। पत्रकार रु आएर मलाई इन्टरभ्यु लिन खोज्दै थिए। म केही नबोल्ने भनेपछि दिदीको इन्टरभ्यु लिए। नारा जुलुसले उग्ररुप लिएपछि हामीलाई अन्तर्वार्तामा बोलाइयो। लाइफलाइन अस्पतालको प्रशासन कार्यालयमा सहमति हुन नसकेपछि दमक प्रहरी कार्यालयमा सिमित जिम्मेवार व्यक्तिहरु मात्र बसेर वार्ता गर्ने कुरा आयो। बाहिर नारा जुलुस हुदै थियो। हामी त्यही गयौ। वार्ता लगभग ४ घण्टा बढी चल्यो। मलाई बोल्न लगाइन्थ्यो। म केहि सोचेर बोल्न सक्ने अवस्थामा थिइन। केहि सोच्न सकिरहेको थिएन।

मेरो लागि कसैले बोलि दियोस् भन्ने लागिरहेको थियो। सबैले आ-आफ्नो तर्क गरिरहेका थिए।

अन्तिममा ५ लाख रुपैयाँ र नानीहरुलाई सो हस्पिटलमा निःशुल्क स्वास्थ्य उपचार तथा एउटा नानीलाइ पछि सो अस्पतालमा हुने पढाई निःशुल्क गरिदिने सहमतिमा हस्ताक्षर गरियो। रातको ३ बजिसकेको थियो। हाम्रो यात्रा फेरि घर तिर बड्यो।

एउटा एम्बुलेन्समा तेल कम थियो । भेटिएका सबै पेट्रोल पम्पमा डिजेल भर्न उठाउन खोज्यौ। कुनै पेट्रोल पम्पमा उठेनन्। हर्कटे पुग्दा डिजेल सकियो। एउटा ट्रयाक्टर डिजेल दियो  ठुलै राहतको महसुस गर्यौं। इलाम बजार पुग्दा उज्यालो हुँदै थियो ।

नेपालटारमा पुग्दा अर्को एम्बुलेन्सले ढिलो गरेकोले एकछिन पर्खनु पर्ने भएकाले एकछिन बस्दा लास ल्याएको थाहा पाएपछि बाटो छेउको घरको आन्टीले हामी सबैलाई तातो चिया दिइन् । चिया पिउन पाउँदा धेरै राहत महसुस गर्यौं।

घर पुग्दा ९ बजेको थियो । मलामीहरुको ठुलै घुइँचो थियो।  किरात सँस्कार अनुसार अन्त्येष्टि गर्न चाजोपाजो हुँदै थियो । रुनेहरु रोइरहेका थिए। त्यो क्षणमा म झण्डै झण्डै पागल भएँ।

म नसुतको ७ दिन भएको रहेछ। हस्पिटलको बसाईमा थोरै पनि निदाउँन सकिन। सँस्कार अनुसार अन्तेष्टि गरियो। त्यसपछिका दिनहरु अत्यन्त कष्टकर रहे। जागिरबाट पनि राजीनामा दिएँ।

आमा बिनाको नानी हुर्काउन कतिको गार्हो हुन्छ भन्ने आज थाहा भयो। वर्णन गरेर साध्य छैन। बहिनीहरुले पनि नानी हुर्काउन ठुलो सहयोग गरे। दिनहरु क्रमशः सामान्य हुँदै गयो।

हामी हाम्रो समाज कस्तो अन्धविश्वासमा बाँचिरहेका छौं भन्ने आज आएर थाहा भयो। उनको मृत्यु पछि वरिपरिको गाउँघरमा अकालमा ज्यान गएकोले अहिले त्यो घरमा सुत्न बस्न दिएको छैन रे तर्साएर । मेरो नानी लान्छु भन्छ, नानीलाई दुध दिने, चटपटे वनाउने काँक्रो ल्याउ, भन्दै तर्साउछ रे भन्ने ब्यापक हल्ला फैलिएको रहेछ। यता हामीलाई केहि थाहा थिएन। म भुतप्रेतमा विश्वास नगर्ने मान्छे भएर हो कि कहि कतै एक शब्द पनि तर्साएको अनुभव गरिन । २/४ जनाले फोन नै गरेर सोधे। तर यस्तो कुरा सुन्दा सार्है चित्त दुख्दो रहेछ।  आज छ वर्ष पुरा भएर ७ वर्ष लागेछ । ती पलहरु हिजो जस्तो लाग्छ।  परेपछि टर्छ।

समस्यासंगै समाधान पनि हुन्छ । भने झै समय बित्दै गयो नानी विस्तारै हुर्कदै गयो।  पीडाहरु क्रमशः भुल्दै वर्तमान परिस्थितिमा रुमल्लिरहेको छु।  जीवन लामो छ।  अझै धेरै संघर्ष गर्नु छ। तै पनि आफ्नो प्रणा प्यारो श्रीमतिको सुत्केरी अवस्थामा आजकै मिति पुष ७ गते देहबसान भएको मेरो जीबनको कहाली लाग्दो र दुःख दिन आउँदा सामाजिक संजालमा तिम्रो स्मृती र सम्झना गर्दे चित्त बुझाएको छु । संसारबाट विदा भएको आज छ वर्ष पुरा भएछ ।  तर, पनि सम्झना झन ताजा ताजा भइरहेको छ । यो पुष ७ गते मेरो लागि कालो दिन बनेको छ । तिम्रो सम्झनामा आँशु नै आँशुले भरिएको मेरो जीवनको यथार्थ कहानी यसरी पोखें ।  तिमी जहाँ रहे पनि तिम्रो आत्मले शान्ति पाओस् । हार्दिक श्रदाञ्जली निर्मला !!!!!!

 

५ नम्बर वडाका जनप्रतिनिधि समेत रहेका लेखकः अर्जुन कुमार चेम्जोङ

(फाल्गुनन्द गाउँपालिका फाक्तेप,पाँचथर)

 

 

 

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार