तपाईंको पहाड घर कहाँ हो ? (दुई)

भवानी बराल

एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, ‘तपाँइको पहाड घर कहाँ हो ?’ त्यसपछि, ‘आफु कस्मा ?’ भनेर जात-विरादरी सोध्छन या सोध्लान । कवि भुपाल राइले लेखेको यहि शिर्षककको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिनेछ । यस अघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकोले विषय विस्तारको गहिराइमा पुग्ने सीमा थियो । त्यो सिमित चौघेरालाइ नाघेर यो खण्डमा वाक्यको अर्थ-राजनीति र भू-राजनीतिको सिक्का केलाउने प्रयत्न गरिएको छ । अर्थात अघिल्लो आलेखको यो पुरक लेख हो ।

राष्ट्रको परिभाषा :
पछिल्लो पटक नेपालको संविधानले नेपाल राष्ट्रको परिभाषा ‘बहु-जातीय, बहु-भाषिक, बहु-धार्मिक, बहु-सांस्कृतिक विशेषतायुक्त’ भनेर परिभाषित गर्‍यो । बहु-भौगोलिक भनेर गरेन, नेपाली समुदायको बहु-जनसांख्यिक विविधतालाई सम्बोधन गर्‍यो । तर नेपाल राज्यको नया संघीय इकाहरु निर्माण गर्दा वा राज्यको नयाँ रचना गर्दा परिभाषा अनुसार गरिएन । यसैले आजपनि प्रदेश नं १ मा पहिचानको आधारमा नामाकरणको माग भैराखेको छ । त्यहाँ १४ जिल्लाको गणितीय भूगोललाइ प्रदेश बनाइयो र ‘कोसी’ नामाकरण गरियो ।

कोसी नामाकरण पहाडे खस नश्लको कथित गोत्रको हवाला दिएर गरेकोमा अन्यथा लिइरहनु पर्दैन । यो नामले न त मधेस-तराईका रैथाने न नै थातथलो खुलेका आदिवासी जनजातिको पहिचानलाइ नै सम्बोधन गर्दछ । पहाडमा बस्ने एक खास नश्लको किम्बदन्तीमा आधारित गोत्रको परम्परागत पहाडे राष्ट्रवादलाइ निरन्तरता दिन पञ्चायतले राखेको कोसी नामलाइ ठप्पा लगाइ दियो । यस्तो ढोंगी राष्ट्रवादको राजनैतिक खेती फस्टाएपछि बर्षौं पर्देसिएका पहाडेहरुको भेट हुँदा भन्ने नै भए, ‘तपाँइको पहाड घर कता हो ?’

फूल, पशु-पंछी राष्ट्रिय ?

राष्ट्रिय फूल लाली गुँरास, राष्ट्रिय पंछी डाँफे उच्च पहाडि र हिमाली भेगमामात्र पाइन्छ । नेपालको आधिकारिक निशान छापमा गुराँस फूलकोे मालाले नेपालको नक्सामाथि पहाड सिँगारिएको देखाइएको छ । राष्ट्रिय जनावर गाई, राष्ट्रिय रंग सिम्रिक घोषित छ । गाई सर्बत्र पाइने जनावर हो । सिम्रिक रातो रंगको चूणर् बाहेक केहि होइन । संवैधानिकरुपले राष्ट्रिय चिजबस्तुको हैसियत पाएका यि वस्तु कुन नेपाली समुदायको राष्ट्रिय पहिचान र सभ्यतासंग सम्बन्धित छ ? नेपालमा मात्रै पाइने भएर राष्ट्रिय भएका हुन ? अन्यत्र देशमा पनि त यि चिजबस्तु पाइन्छन । कम से कम आदिवासी जनजाति, मधेसीलाइ त सम्बोधन गर्ने यी चिज होइनन् । खस-आर्यलाइ पनि त गर्दैन । एउटा धर्म विशेषको धार्मिक मनोविज्ञानसंग सम्बन्धित पशु (गाइ)लाई राष्ट्रियको दर्जा दिएर कस्तो अन्धविश्वासी नेपाली राष्ट्रियता निर्माण गर्न खोजिदैछ ? त्यो पनि धर्मनिरपेक्षताको लेपन लागेको संविधानको अगाडि ? यहि धङधङीमा आजपनि पहाडको पुख्र्यौली महत्व घटेको छैन, यसरी अनायस वाक्य फुट्छ, ‘साँच्ची तपाइको पहाड घर कता हो ?’

राष्ट्रियतामा कैफियत :

नेपालको यो स्वरुप गोर्खा राज्य विस्तार थियो या एकीकरण ? मूख्य राजनैतिक दलको घोषणा पत्रमा यो विषय खुट्टिदैन । राप्रपा बाहेकका दलहरु गोर्खा राज्यको विस्तार पनि भन्न नसक्ने, एकीकरण भन्न पनि अलमल गर्ने गर्दै आएका छन । यसैले नेपालको राष्ट्रियता, स्वाधिनता, क्षेत्रीय अखण्डताको राग अलापी रहनु पर्छ । बेला कुबेला राष्ट्रियता, स्वाधिनता धरापमा परेको सुन्नमा आइरहन्छ । राष्ट्रियता खतरामा परेकोले राष्ट्रिय मेलमिलापको नीति आएको कुरा आउँछ । कुनै बेला पञ्चायतको विरोधमा लाग्नेलाइ ‘अराष्ट्रिय तत्व’को ट्याग नै लगाएर कार्वाही गरिन्थ्यो । राष्ट्रियताका गलत आख्यानले ल्याएको यो व्याख्यान हो ।

विश्वका धेरै देशभन्दा जेठो भारत, अमेरिकाभन्दा पनि जेठो देश नेपाललाइ के तल वित्तल परिरहन्छ र राष्ट्रियता, स्वाधिनता, अखण्डताको भूतले तर्साइ रहन्छ ? वास्तवमा राष्ट्रियताको व्याख्या नै गलत छ कि भनेर दिमाग मन्थन किन नगर्ने ? परम्परागत राष्ट्रियताको चारदिवारी भूगोल अर्थात बाह्य राष्ट्रियतालाई मात्र राष्ट्रियता ठानियो । आन्तरिक राष्ट्रियता अर्थात समुदायको राष्ट्रियतालाइ सम्बोधन गरिएन । अहिले पनि गर्ने काम भएकै छैन । आन्तरिक राष्ट्रियता बलियो बनाए बाह्य राष्ट्रियता स्वतः बलियो हुन्छ भन्नेमा दिमागी मन्थन हुन सकेन । समुदायको पहिचान र सभ्यतायुक्त राष्ट्रियता साम्प्रदायिक एवम् जातिवादी हुन पुग्यो । राष्ट्रियताको यही एक पाखे व्याख्यालाइ जोगाउन हजार नालीबेली लगाइएको हो । त्यो नालीबेली पहाडे खस राजा महेन्द्रकृत राष्ट्रवाद हो । यस्ता अलौकिक राष्ट्रवादलाई सिँगार्न पशुपंछी, फूल-फलेदो, रंगको सहारा लिनु परेको छ । यसैले त मधेसमा दशै पुस्ता बसेपनि मधेसको नाम लिन हिच्किचाहट हुन्छ र गर्वकासाथ भन्छन, ‘हाम्रो पहाड घर फलाना चिलाना ठाउँ हो ।’

चन्द्र सूर्य अंकित झण्डाको वौद्धिक विलासयुक्त अर्थ छ । विश्वमा कुनै देशको राष्ट्रिय झण्डाभन्दा फरक, चन्द्र सूर्यले दिने प्रभाव आदिमा बहस हुन्छ । कुनै पण्डाले अनेक अर्थ लगाएको भरमा हाम्रो राष्ट्रियता स्तनधारी जनावर, पंछी, फूलफलेदो देखाएर राष्ट्रियता अथ्र्याउन अभिशप्त छौं । भिल्लको देशमा मणीमाण्क्यि खोजे झैं राष्ट्रियताको जरोकिलो खोज्नमा अभिसप्त छ । चुच्चे नक्सारुपी ख्याली पुलाउको धून नेपथ्यमा पुगिसक्यो । ‘ग्रेटर नेपाल’रुपी खिचडी बसालेर बलात नेपाली जनको भावनात्मक मोलतोल भैरहेको छ । ग्रेटर नेपालको नक्सा राख्ने महान राष्ट्रवादी नराख्ने जति राष्ट्रघाति बनाउने उपक्रम चलेको छ । ग्रेटर नेपालको नक्सा सयन कक्षमा कोरेर कुन राष्ट्रवादको हरिकीर्तन गराउँदैछौ ? या अर्को राष्ट्रघातको सुगौलीलाई चुले निम्तो दिँदैछौ ? गजराज मिश्र र चन्द्रशेखर पाध्यायको नयाँ अवतारीको भूमिका त गरिरहेका छैनौ ? दक्षिण एसियाको आजको भू-राजनीतिमा यो सब सम्भव हुने कुरा हो ? दिउँसै तारा देखाउने सौर्यमण्डलीहरुलाइ सोधिने प्रश्न हुन । यस्ता ढोंगी राष्ट्रवादबाट बेलैमा सचेत हुन जरुरी छ । प्रेमिकालाइ बसमा पार्न सुनको तार झार्ने कुरा कल्पनामा मात्र हुन्छ । सोम शर्माको सातुको कथा सम्झेर मिठो निन्द्रा आउला तर तन्द्रामा आउँदा घैंटो फुटेर सर्बस्व भैसकेको हुनेछ ।

रहल-पहल :

भैगोलिक राष्ट्रवादको अर्थ हुन्न । त्यसमाथि एक पाखे पहाडे एक नश्लीय, परम्परागत राष्ट्रियताको त कुनै माने हुन्न । राष्ट्र भनेको पछिल्लो संविधानले परिभाषित गरेको कम से कम मूल्य हो । ढुङ्गा माटो, खोलानाला, पशुपंछी, बोट विरुवाले राष्ट्रको परिभाषा गर्नै सक्तैन । भूगोलले राष्ट्रियता जोगाउने पनि होइन । राष्ट्र भनेको जनता जनार्दन हुन । जनसमुदाय कै पहिचान र सभ्यता हो । जनताको अर्थ-राजनैतिक जिवन, साझा भाषा, मनोविज्ञान र गौरव हो । हिजो राजा महेन्द्रले ‘विकासको लागि राजनीति’को नाममा एकल राष्ट्रवादको नारा छरे । आज ‘विकास र समृद्धि’को नाममा त्यही राष्ट्रवादलाई कोरल्न खोजिँदैछ । कसै कसैले त अझ ‘समृद्ध नेपाल सुखी नेपाली’को नारामा भुल्याएर सडेगलेको, मिति पुगेको राष्ट्रवादमा आधारित राष्ट्रघात गर्न खोजि रहेका छन् । चुच्चे ढुंगो उही टुंगो भने झैं परम्परागत राष्ट्रवादलाइ नयाँ लेपन गरिएको आजको राष्ट्रियताको यो भग्नावशेष हो । पहाडे राष्ट्रवादको मालश्री गाउनुको साटो नयाँ राष्ट्रियताको खोजी आजको कार्यभार हुनु पर्छ । अनिमात्र हाम्रो थेगो, ‘तपाइको पहाड घर कहाँ हो ?’ भन्ने वाक्य छुट्नेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार