राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता आदि शब्दावलीको आफुलाइ लागे अनुसारको व्याख्या गर्नु नै राष्ट्रिय चरित्र र विशेषता मानिन्छ । अथवा कुनै न कुनै रुप आकारको देशभक्त । अझ यसमा ‘माटो सुहाउँदो’ सनातनी परम्पराको धर्म र शासकीय परम्परालाइ स्थापित गर्न खोज्ने खाँटी राष्ट्रवादी हुने भाष्य निर्माण गरिँदो छ । एउटा यस्तो भाष्य जहाँ परम्परागत राजतन्त्र र हिन्दु धर्मसापेक्ष पुनस्थापित भयो भने देश रहने, नत्र देशै नरहने आतंकी भाका प्रयोग हुँदै आएको छ । केही हदसम्म यो कुविचारले घर गर्दै गरेको पनि देखिन्छ ।
राष्ट्र, राष्ट्रियता, राष्ट्रवाद, स्वाधिनता, सार्वभौमसत्ता, क्षेत्रीय अखण्डता जस्ता शब्दावलीमा गलत अर्थ लगाएर फैलाइएको भ्रम चिर्न नसक्तानै आजको राष्ट्रिय राजनीति प्रतिगमनउन्मुख हुने क्रममा छ । प्रतिगमनको यो पारो बढ्दै जाने हो भने यसले अग्रगमनको सिकार गर्ने निश्चित छ ।
यो लेखोटको प्रसंग यहाँ यसै आएको होइन । केही दिन अगाडि जिविकाको सिलसिलामा गएका जेके गजमेरले इजरायलबाटै अचानक सम्पर्क गरे । मेरो उनीसंग औपचारिक चिनजान थिएन । उनैले सिर्जना विश्वकर्मासंग ‘वैज्ञानिक बहस’मा राष्ट्र र राष्ट्रियताको सन्दर्भमा फेसबुक लाइभ गर्न मलाइ अनुरोध गरे । पश्चिम नेपालबाट राष्ट्र र राष्ट्रियताको परिभाषा पहिलो पटक सोधिएकोमा म पुलकित पनि भएँ । पूर्वी नेपालमा उदाएको र केहि हदसम्म सिंचित भएको चेतना पश्चिम नेपालमा पुग्नुलाइ चेतानाको खोजी भैरहेको अर्थमा लिएको छु । यसैको मेलोमा राखिएका यिनै कुराहरुको विषयगत प्रसंग यहाँ अभिलेख गरिएको छ ।
राष्ट्र र राष्ट्रियता :
राजनैतिक विज्ञानको सिद्धान्तमा राष्ट्र भन्नाले चलनचल्ती भाकामा बुझे जस्तो देश वा कुनै राज्य होइन । राष्ट्र, एक विशेष क्षेत्र भएका मानिसहरुको ठूलो समुदाय हो । सामान्यतया एकल भाषा बोल्ने र सामान्यतया राजनीतिक चरित्र वा राजनीतिक आकांक्षा भएको समूह नै राष्ट्र हो । विश्वलाइ व्याख्या गर्ने पुँजीवादी र साम्यवादी दुवै विश्व दृष्टिकोणले राष्ट्रको परिभाषा करिव-करिव एकमतले गरेका छन् । साम्यवादी दृष्टिकोण अनुसार साझा भाषा, साझा आर्थिक जिवन, साझा भूगोल र साझा मनोवैज्ञानिक संरचना भएको मानव समुदाय नै एउटा राष्ट्र हो । यस अर्थमा यी चार योग्यता पुगेका नेपालका थुप्रै जातीय समुदायहरु राष्ट्र हुन । लिम्बू, किरात (राई), नेवाः, तामाङ, तमु (गुरुङ), मगर, थारु, शेर्पा, मधेसी, खसलगायतका जातीय समुदाय नै राष्ट्र हुन ।
माथिका चार योग्यता पुरै नखुलेका समुदायहरु राष्ट्रियता हुन । राष्ट्रियता एक विशेष राष्ट्रको सदस्य त हुँदै हो । संगसंगै यस्ता जातीय समूहहरु राष्ट्रउन्मुख सदस्य हुन । एक विशेष राष्ट्रको सदस्य हुने क्रममा रहेका समुदाय हुन । राष्ट्रियतालाइ राजनैतिक संगठनको द्योतक पनि मानिन्छ । राष्ट्रियता व्यक्तिहरुको सामूहिक सदस्यताको स्थिति हो । राष्ट्रियता र नागरिकता पर्यायबाची शब्द पनि होइन । नागरिकताको आधारसम्बन्ध राज्यसंग हुन्छ । हाम्रै देशमा केही दशक अगाडिसम्म यस्ता राष्ट्रिय समूहहरुको नागरिकता बनाउने चलनै थिएन । आधुनिक राज्यमा प्राविधिक काम गर्न नागरिकता अनिवार्य गरिएकोले मात्र नागरिकता ग्रहण गर्न आवश्यक हुन गयो । राष्ट्रियता र बासिन्दासंग पनि ठूलो अन्तर छ । राष्ट्रियता एकल हुन्छ । बासिन्दा मिश्रित हुनसक्छ । यस अर्थमा नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियताहरु छन । यी राष्ट्र र राष्ट्रियताको सम्मिलन नैआधुनिक नेपाल हो । नेपालको आधुनिक स्वरुप बनेदेखि उठेको पहिचानको आन्दोलन पनि राष्ट्र र राष्ट्रियताको सम्मिलनको लागि हो ।
समाज विज्ञानले प्रारम्भमा मानिसहरु गण, कविला, जाति हुँदै राष्ट्रमा क्रमसः विकसित भएको परिभाष गर्यो । यहाँ जाति शब्द राष्ट्रियतासंग सम्बन्धित छ । यसरी समाज विज्ञानको नियम भिडाएर हेर्दा वर्तमानको नेपालमा थुप्रै राष्ट्र र राष्ट्रियता छन् । विश्व दृष्टिकोणले त प्रमाणित गरेकै छ । यसर्थ राष्ट्र भनेको देश, कुनै राज्य वा भूगोल होइन । तर, ती भूगोलमा बस्ने विविध परम्पराका मानव समुदाय हुन । भिन्नभिन्न नश्ल, स्वभाव, भूगोल (ऐतिहासिक थातथलो), मनोवैज्ञानिक संरचनाका समुदायहरु राष्ट्र र राष्ट्रियता हुन ।
परिभाषामा राष्ट्र र राष्ट्रियता :
राष्ट्र अंग्रेजी शब्द ‘नेसन’को पर्यायवाची शब्द हो । नेसन शब्द ल्याटिन भाषाको ‘नेसियो’ शब्दबाट आएको हो । नेसियो शब्दको अर्थ जन्म र जाति हुन्छ । जन्म तथा जातिको बन्धनबाट बाँधिएका जनसमुदाय नै राष्ट्र हो । ब्रसेल्स नाम गरेका दार्शनिकले प्रस्टसंगै भनेका छन, ‘एक नश्लसम्बन्धि एकताबद्ध यस्ता जनता हुन जुन भौगोलिक एकताको कुनै भू-भागमा बसोबास गर्दछन ।’ ब्रसेल्सले राष्ट्र निर्माणको ठोस आधार दिँदै जाति, समुदाय, आदत, प्रथा तथा धर्मको एकता जस्ता तत्वहरुद्वारा राष्ट्र निर्माण हुने उल्लेख गरेका छन् । यो प्रस्टोक्तिले जाति र नश्ललाइ राष्ट्रको आधार मान्न तथ्य र तर्कपूणर् कर लाग्छ ।
नेपालको संविधानले नै पनि धारा (३) मा राष्ट्रको परिभाषा गर्दै बहुजातीय, बहुभाषिक, बहुधार्मिक विशेषतायुक्त भनेर परिभाषा गरेको छ । र, संविधानको धारा (४) मा नेपाल राज्य (देश)को छुट्टै परिभाषा गरेको छ । यसर्थ राष्ट्र भनेको देश या राज्यको समानअर्थ बोध गराउने शब्द हैन । वीपी कोइरालाले ‘राष्ट्र भनेको कुनै भूभागको ढुंगो, माटो, खोलानाला, साँध सिमामात्र होइन, त्यहाँ बस्ने जनताको सभ्यता, संस्कृति र मनोभाव हो’ भने । संविधानले नै राष्ट्रको परिभाषा बहुजातीय भनेर गरिसकेपछि अलमल गर्नु नाजायज हुन्छ ।
राष्ट्रियताको सन्दर्भ पनि यो भन्दा फरक छैन । राष्ट्रियता आफनो पन भएको जातीय समुदाय हुन । गण, कविला भन्दामाथि राष्ट्रभन्दा मुनीको जाति समुदाय नै राष्ट्रियता हो । अंग्रेजीमा यसै समुदायलाइ ‘नेसनालिटी’ भनियो नेपालीमा अनुवाद हुँदा जाति भयो । उदगमको हिसावले जाति नामाकरण हुनु पनि ठीकै हो । राष्ट्रको जत्तिकै योग्यता नहोला तर आफ्ना केही कुरा जाति समुदायमा अवश्य हुन्छन् । ती सबै राष्ट्रियता अर्थात नेशनालिटी हुन ।
राज्य र राष्ट्र :
राज्य र राष्ट्रको भेद छुट्याउन पनि जरुरी छ । राज्य संगठीत एकाइ हो । आधुनिक विश्वको अनिवार्य तथा बस्तुगत र कानूनी एकाइ हो । माक्र्सवादीहरुले राज्यलाइ वर्गीय असंगतीको उपज भने । यसैले राज्य वर्गीय हुने कुरा श्वासत हो । राजनैतिक विज्ञानले राज्य र राष्ट्रमा नौवटा भेद भएको प्रस्ट पारेको छ । पहिलो राज्य भनेको जनसंख्या, क्षेत्र, सरकार र सम्प्रभुता भएको एकाइ हो । राष्ट्र मानिसको एउटा समूह हो जस्को साथमा समान एकता र भावना हुन्छ । दोस्रो राज्य एउटा राजनैतिक संगठन र कानूनी एकाइ मात्र हो । राष्ट्र सामाजिक, सांस्कृतिक, मनोवैज्ञानिक, भावनात्मक र रणनैतिक एकता हो । तेस्रो राज्य एक निश्चित क्षेत्र कब्जा गरेर सम्प्रभुता कायम गर्छ । राष्ट्रलाई सम्प्रभुता आवश्यक पर्दैन । राष्ट्रका अन्तरंग मानक छन, जसको चर्चा माथि नै भैसक्यो । चौथो राज्य सिमित हुन्छ । राष्ट्रको व्यापक दायरा हुन्छ । यसरी नै एउटै राज्यमा अनेक राष्ट्रहरु हुन्छन । एउटा राष्ट्रमा एक भन्दा बढी हुन्न । यस्तै छैटौं भेद राज्य अस्थिर हुन्छ । गठन विघटन भैरहन्छ । हाम्रै छिमेकी सिक्किम, पाकिस्तानलगायत अनेकौं राज्य गठन विघटन भएको नजिकबाट देखिएकै कुरा हो । राष्ट्र लामो कालखण्डसम्म स्थिर हुन्छ । सातौं राज्य बनाउन सकिन्छ । भारत, बंगलादेश लगायत संसारमा धेरै राज्य बनेका छन । सोभियत संघ फुटेर अनेक नयाँ राज्य बने । यी त प्रतिनिधि उदाहरणमात्र हुन । आठौं राज्यको एकताको लागि पुलिस, कानून, अड्डा अदालत चाहिन्छ । राज्य जोगाउन बल प्रयोग गर्नु पर्छ । राष्ट्र बलियो सांस्कृतिक र ऐतिहासिक कडिमा जोडिएको हुन्छ । राज्यलाइ सम्प्रभुता आवश्यक पर्छ । राष्ट्रलाइ सम्प्रभुताको कुनै आवश्यकता पर्दैन । यसरी राज्य र राष्ट्रको भेद छुट्याउनु पर्छ । राष्ट्रले राज्य निर्माण गर्छन । राज्यले राष्ट्र निर्माण गर्दैन । यसर्थ नेपाल बहुल-राष्ट्र अथवा बहुल राष्ट्रिय-राज्य हो । कोसी प्रदेशमा उठेको आन्दोलन त्यहि राष्ट्र निर्माणसंग सम्बन्धित छ । यसर्थ राष्ट्र निर्माणकोलागि ऐतिहासिक पहिचानको नामाकरण त्यहाँ खोजिएको हो ।
नेपालको परिचय :
नश्लको हिसावले नेपालमा चार नश्ल आर्य, मंगोल, अष्ट्रो र द्रबिड समुदायका थुप्रै जातिका मानिसहरु बसोबास गर्छन । भाषाको हिसावले चार भाषा परिवार भारोपेली, भोट-बर्मेली (तिब्बतो-बर्मन), अष्ट्रो र द्रबीड परिवारका असंख्य भाषिक समुदाय छन । बसोबास (थातथलो)को हिसावले आदिवासी र गैह्र आदिवासी छन । जातजाति र जनजाति छन् । शासक जाति र शोषित जाति छन् । क्षेत्रीय उत्पीडन कायमै छ । परम्परागत रुपमै उत्पीडक जाति र उत्पीडित जाति छन् । वणर्ाश्रमको आधारमा ब्राम्हण, क्षेत्री, वैश्य, सूद्रमा विभाजित छ । दलित समुदाय उत्पीडनको पीँधमा छन् । छुवाछुत अन्धविश्वास कायमै छ । सति प्रथामात्र उन्मुलन भयो । तर महिला माथिको उत्पीडन कायमै छ । धार्मिक तथा तान्त्रिक अन्धविश्वास खुलेआम छ । केही अघिसम्म चार जात छत्तिस वणर्को हिसावले नेपालको व्याख्या भयो । यतिखेर त्यसको विकसित रुप नश्लवादमा परिवर्तित स्वरुपमा छ । संगसंगै अन्धजातिवाद आधारित जातीय अहंकारको गन्ध चलेको छ । समग्रमा नेपालमा अन्ध भाग्यवादले जरो गाडेको छ । यसैले नेपालको अन्तरविरोध भनेको वर्गीय, जातीय, क्षेत्रीय र लिंगीय हो भनेर जनादेशले प्रमाण पुष्टी गरेको छ । यिनै आधारबाट राज्य निर्माण गर्नु नेपाल राज्यको नव निर्माणको रुपरेखा हो ।
राष्ट्रहरुको राजीखुसीले राज्य निर्माण गर्न जरुरी छ । नेपालमा देखिएको द्वन्द्व र अन्तरविरोध यहि हो । राष्ट्रहरुले जबसम्म राज्यको रुपरेखा कोर्दैनन तबसम्म हुने यहि हो । नेपाल बहुल राष्ट्र-राज्य र बहुल राष्ट्रिय-राज्य हो । पछिल्लो आन्दोलनले पनि राष्ट्र-राज्य निर्माण गर्न नसक्ता देखिएको यो विषाक्त परिणती हो । यसका लागि राष्ट्र, राष्ट्रियताको परिभाषा बुझ्न अलमल गर्नु हुँदैन । राष्ट्र, राष्ट्रियता भनेको हिमाल, पहाड र तराइ समेटिएको भूगोल होइन । यो भूगोल भित्र बस्ने विविधतापूणर् मानव समुदाय हुन ।