तीजको  मौलिक सुगन्धमा फैलिएको विकृति

  नयाँ बुलन्द
707 Shares

लेखकः दयाराम निरौला

 

 

आज म हिन्दु धर्म, संस्कृति र संस्कारसँग जोडिएको मौलिक पर्व हरितालिका तीजको बारेमा साथै फैलिएर गएको सांस्कृतिक  विचलनको बारेमा चर्चा गर्दैछु । यसको मतलब म कुनै धर्म, संस्कृति र चाडपर्व विरोधी वा समर्थक होईन । मेरा जन्मदेखि मृत्युसम्मका सम्पुर्ण रितिरिवाज हिन्दु संस्कार अनुसार हुन्छन् र गर्दै आएको छु । म मौलिक हिन्दु परम्परा र संस्कृतिलाई सम्मान गर्ने तर ढोङ, पाखण्ड र अतिवादलाई स्वीकार नगर्ने साधारण मानिस हुँ ।

महिलाहरुसँग सम्बन्धीत पर्व हरितालिका तीजको आफ्नै महत्व छ । संकल्प, दृढता, एकाग्रता र निरन्तरताले नै सफलता प्राप्त गर्न सकिन्छ भन्ने दृष्टान्त बोकेको यस हरितालिका तीज पर्वको मौलिकता आफैमा विशिष्ट छ । हरितालिका तीज संकल्प, उपबास, उपासना र संस्कृतिलाई  सुसंस्कृत बनाउने संकल्प सहितको पर्व हो । तीज संस्कार र संस्कृतिले पूर्ण बन्नु सक्नु पर्दछ ।

विवाहित र अविवाहित हिन्दु नारीहरु सबैले यो पर्वलाई मनाउन र धारण गर्न सक्छन् । भाद्र शुक्ल द्वितीयादेखि भाद्र शुक्ल पञ्चमीसम्म चल्ने चार दिनको यो पर्वलाई स्वतन्त्रता र आनन्दमय उल्लासको रुपमा पनि लिइन्छ । शिव भगवानको पुजा र आरधाना गरी मनाईने हरितालिका तीजको व्रतले पतिको स्वास्थ्य, आयु, आरोग्य, ऐश्वर्य तथा सन्तुलित जीवन हुने विश्वास प्राचीन कालबाट नै रहिआएको छ ।

सत्यको नजिक बसेर मोह, असत्य, अहङकार, विकृति र विसंगतीबाट टाढा रहनु नै उपबासको सहि अर्थ र व्रतको सार्थकता हुने भएकाले सफा मन लिएर शान्त, प्रसन्न एवम् दृढ संकल्प र सकारात्मक सोचका साथ तन, मन र वचनले शुद्ध भएर दियो, कलश, गणेश स्थापित गरी उमामहेश्वरको पूजा गरी आफ्नो पवित्र उद्देश्य र दृढ संकल्पलाई सार्थक पार्न गरिने निस्काम व्रत नै हरितालिका तीजको प्रमुख व्रत मानिन्छ ।

निराहार व्रत बस्ने तीजको चलन यसको विशेषता हो । तथापि आफ्नो शारीरिक अवस्था र स्वास्थ्यलाई मध्यनजर गरेर पानी, जुस, दूध र फलफूल खाएर पनि व्रत बस्ने गरिन्छ । शारीरिक र स्वास्थ्य अवस्था प्रतिकुल कठोर व्रतले विभिन्न समस्या देखा पर्न सक्छ  । त्यसैले आफ्नो स्वास्थ्य अवस्थालाई मध्यनजर गर्दै निराहार वा फलाहार व्रत लिने व्रतालुको छनोटको विषय हो । धर्म र चलनको नाममा जबर्जस्ती व्रत पनि बस्नु स्वयंमा प्रत्युत्पादक हुन सक्छ । तीजका पछिल्ला वर्षहरु धार्मिक पर्वका नाममा सामाजिक विसङ्गति र विकृति बनेर आइरहेको छ ।

तीज पाटी, महोत्सव, मेला, फेस्टिबल आदि अनेक नामले तीजको मौलिक, धार्मिक र सामाजिक महत्व हराउँदै गइरहेको छ । होटल, रेस्टुरेन्ट, डिस्को,बार, पार्टी प्यालेस, वनभोज,  हाइकिङ् जस्ता यो पर्वसँग असम्बन्धीत स्थानहरुमा हुने दर तमाशाको विकृति स्वरूपले तीजको धार्मिक, मौलिक, सांस्कृतिक एवं सामाजिक महत्वमा आगो लगाएर हाम्रो धर्म, परम्परा, संस्कृति, संस्कार र सामाजिक अवस्थालाई खरानी बनाएर लगिरहेको छ । यसलाई बुदाँगत रुपमा यसरी चित्रण गर्न सकिन्छ ।

पहिरन  गरगहना 

आजकल तीजमा दर खान भन्दा ज्यादा पहिरन र गरगहना प्रदर्शन गर्न जानेको संख्या बढी हुन्छ । हुनेले रोजीरोजी अनि फरकफरक र नहुनेले पनि ऋणपान गरेर वा मागेर भए पनि पहिरन र गरगहना देखावटी प्रदर्शन गरेकै हुन्छन् । मानौ, कपडा र गहना भएन भने दर नै बिष बन्छ । भड्किलो श्रृंगार, गहना र पोशाकले अस्वस्थ प्रतिस्पर्धा हुने, पारिवारिक झगडा हुने, ऋण बढाउने साथै चोरी, हत्या, बलात्कार जस्ता हिंसालाई प्रोत्साहन गरिरहेको छ ।

खानपान 

हिन्दुहरुको पर्व भएकोले दरमा खानाका परिकारमा खीर, ढकने, रोटी, कुराउनी, दुध, दही-मोहि, तरकारी आदि हुनुपर्छ किन कि हरेक पर्वमा खानाको विशेषता फरक हुन्छ । तर आजकल खानामा पुलाऊ, चिकेन बिर्यानी, पोर्क सेकुवा, बफ सिकुटी, मटन ग्रेभी हुन्छ । बियर, रक्सी, वाईन नभएको दर नै हुदैंन । तीज मौलिक प्रचलन नभएर पश्चिमी शैलीको भोजमा परिणत भएको छ । समाजमा यसले नकारात्मक सन्देश प्रवाह गर्ने पर्वको रुपमा परिचित बन्न तर्फ उन्मुख देखिन्छ ।

गीतसंगीत  नृत्य 

“तीजको रहर आयो बरि लै……” बाहेक तीजमा सुहाउँने मौलिक गीत नै छैनन् वा बज्दैनन् भन्दा हुन्छ । सर्जकहरुले पनि गीतसंगीतमा तीजको विशेषता भन्दा पनि बजारमा बिक्ने छाडा शब्द कोरेर भद्दा लय सिर्जना गर्नु नै तीजको सिर्जना र कमाई मान्ने गरेको तीतो वास्तविकता छर्लङ्ग छ । नेपालीको तीजमा हिन्दी, अंग्रेजी लगायत पश्चिमी गीतसंगीत बज्छन्  ।  त्यसमा पनि भल्गर र सेक्सी नामका उत्ताउँलो गीतहरुले स्थान पाउँछन् । दर खाने जमघटमा हुने नृत्यले त अझ सन्नी लियोनी र मियाँ खलिफालाई जिस्काएको जस्तो गर्छन्। आफन्त, छोराछोरी, आमाबुबा लजाउँनु पर्ने अवस्था सिर्जना भएको छ। अझ २-४ प्याक सराब सेवन पछिको डग्गी र यौनआसनका नृत्यले विकृत छाडापनको चरम सीमा पार गर्दै गईरहेको छ । पा

वर्ग विभेद – मेलमिलाप, पुर्नमिलन, सद्भाव, माया, स्नेह र सुखदुख साट्ने मौलिकता र प्रचलन नै तीजको विशेषता हो । तर आजकल दर खान समुह, टोल, संस्था, संघसंघठन, दल आदि जस्ता झुण्डमा समाहित भएर तीजको भड्किलो दर कार्यक्रम, टिकट, चिठ्ठा एवं कक्टेल दर तथा डिनर जस्ता कार्यक्रममा सहभागी भएर पैसामा दर किन्नु पर्छ । यसले नहुने मानिस, निम्न बर्गीय परिवार र अभाव भोगिरहेको समाजलाई अघोषित वा घोषित रुपमा निषेध गर्छ । यस्ता भड्किला कार्यक्रममा सहभागी हुन आर्थिक रुपमा असक्षम मानिस र समाजले वर्गीय विभेदको प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा अपहेलना , बहिष्कार र घृणाको रापमा पिल्सिनु पर्ने हुन्छ । यसले हुनेको मोजमस्ती, नहुनेलाई टुलुटुलु हेर्नु सिवाय केही विकलप छैन ।

समय  स्थान 

कुनै पनि चाडपर्व मनाउने निश्चित समय र उपयुक्त स्थान हुन्छ । दशैं, तिहार, छठ, इद,लोसार,साउने संक्रानती, माघी, क्रिसमस आदि पर्वहरुमा निर्धारित मिति, स्थान र तरिका अहिले सम्म लगभग कायम रहेको छ तथापि यीनीहरुमा पनि आधुनिकताको नाम विकृति बढ्दो छ । तर अहिले आएर तीजमा दरको नाममा महिना दिन अगाडीबाट जहाँ मन लाग्यो त्यहि, जुनसुकै समयमा पाटी र कार्यक्रम गरि परम्परालाई बगाएर स्थापित हुदै गईरहेको फेशनको पाखण्ड अग्रगमनले विचलित समाजको विकृत चित्र कोरिरहेको छ । जसले तीजको  मौलिकता भित्रको  सुगन्धलाई प्रहार गरेर नचाईदो विकृति फैलिएको छ । यस्ता दुर्गन्धित चरित्रलाई बेलैमा निरुत्साहित गरिएन भने भावी सन्तती र सभ्य समाज निर्माणमा पक्कै पनि ठेस पुग्ने निश्चित छ । हरेकले आफैंबाट सुधारिन जरुरी छ ।

 

स्थायी  ठेगानाः इलाम,हालः दक्षिण कोरिया

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार