इलाम : इलाम जिल्लाको उत्तरी छेत्रमा अवस्थित सन्दकपुर गाउँपालिका साविकका माईमझुवा, सुलुबुङ्ग, माबु, जमुना गाविसाहरु र माइपोखरी गाविसको ४ देखि ९ सम्मका वडा मिलाएर बनाईएको छ l
जिल्लाको कूल १७०६ वर्ग कि.मी क्षेत्रफल मध्ये १५६.०१ वर्ग किलोमिटर यस गाउँपालिकाले ओगटेको छ । भारतीय सिमावर्ती बजारहरूसँग व्यापारिक पँहुच रहेको यस गाउँपालिका पर्यटन विकासको सम्भावना रहेको स्थानीय तह हो ।
साविकका ४२ वडाहरुको जनसंख्या र भूगोललाई आधार बनाएर पाँच वटा वडामा विभाजन गरिएको छ । देशको कूल ७४४ स्थानीय तहमध्ये सन्दकपुर गाउँपालिकाका जनसंख्याको हिसाबले १३६ औं सानो स्थानीय तह हो भने चेत्रफलको आधारमा ४७१ औं सानो स्थानीय तह हो । २०७८ को राष्ट्रिय जनगणना २०७८ को तथ्याङ्क अनुसार यहाँको जनसंख्या १५ हजार ४ सय ४४ र जनघनत्व ९९ वर्गकिलोमिटर रहेको छ ।
कृषि तथा पशुपालन, बैदेशिक रोजगार तथा जडिबुटीको संकलन यहाँका मानिसहरुको प्रमुख व्यवसाय हो । साकेला, उधौली उभौली, दशैं तिहार, लोसार, मारुनी, संगिनी, बालन, हाकपारे केलाङ, चण्डी नाच, हुर्रानाच, क्रिसमस आदि यस क्षेत्रमा मनाइने प्रमुख चाडपर्वहरु हुन् जुन खासगरी राई, लिम्बु, ब्राम्हण, क्षेत्रि, शेर्पा, सुनुवार, तामाङ, थामी, गुरुङ, मगर, दमाई, कामी, भुजेल र भोटे जस्ता जातजातिले मनाउने गर्छन् ।
प्रसिद्ध धार्मिक स्थल माइपोखरी यस छेत्रमा पर्दछ । चौंरी र रेडपाण्डा तथा विभिन्न लोपउन्मुख चराहरु र ठकठके संरक्षण यस क्षेत्रको थप आकर्षक हो l
यस गाउँपालिकाको नामकरणको समन्धमा अनेकौ किंवदन्तीहरु छन् l यस गाउँपालिकाको वडा नं २ र ४ को सिमानामा सन्दकपुर भन्ने स्थान रहेको छ । समुन्द्री सतहबाट ३६३६ मिटरको उचाइमा अवस्थित सन्दकपुर हिमश्रृङखलाहरुको रमणीय अवलोकन, सुर्योदय, प्राकृतिक सुन्दरता र जैविक विविधताको अवलोकनका लागि उत्कृष्ट स्थानका रुपमा परिचित रहेको स्थान हो ।
प्रसिद्ध पर्यटकीय स्थलका रुपमा रहेको स्थान यस गाउँपालिकामा पर्ने भएकोले यस गाउँपालिकालाई पर्यटकीय गन्तव्यका रुपमा परिचित गराई विकास गर्ने सन्दकपुर नाम राखिएको हो भन्ने भनाई रहेको छ ।
भिडियोमा हेर्नुहोस् :