नेपालमा बिर्सिएका नेल्सन मण्डेला

  निनाम लोवात्ती
196 Shares

निनाम लोवात्ती

संभवतः विश्वकै सबैभन्दा लामो समयसम्म जेल जीवन बिताएका राजनेताका रुपमा चिनिन्छन्, नेल्सन मन्डेला । उनै मन्डेलाको सम्झनामा हरेक वर्षको १८ जुलाईका दिन अन्तर्राष्ट्रिय मन्डेला दिवसका रुपमा मनाईने गरिन्छ । स्मरणीय छ, सर्व प्रथम सन् २००९ मा संयुक्त राष्ट्र संघले आधिकारिक रुपमा हरेक वर्षको जुलाई १८ का दिनलाई अन्तर्राष्ट्रिय मन्डेला दिवस मनाउने घोषणा गरेको थियो ।

भनिन्छ, सन् १९९८ मा संयुक्त राष्ट्र संघको वार्षिक महासभामा नेल्सन मन्डेलाले आफ्नो सम्बोधन भाषण सक्दाखेरि उक्त सभामा उपस्थित १ सय ६५ राष्ट्रका प्रतिनिधिहरु सबै आ-आप्mनो स्थानबाट उठेर ताली बजाएका थिए । संयुक्त राष्ट्र संघीय महासभामा उपस्थित राष्ट्रका सबै प्रतिनिधिहरुले आ-आप्mनो स्थानबाट उठेर त्यसरी ताली बजाएको त्यो घटना पहिलो, ऐतिहासिक र दुर्लभ दृश्य रहेको थियो । त्यसअघि राष्ट्र संघको महासभामा कुनै पनि देशका राष्ट्र प्रमुख तथा सरकार प्रमुखले सम्बोधन गर्दा त्यसरी सबै राष्ट्रका प्रतिनिधिहरु उठेर ताली बजाएका थिएनन् ।

दक्षिण अफ्रिकाको इस्टर्न केपमा सन् १९१८ मा जन्मेका मन्डेलाले सानैमा गोराहरुको रंगभेदी शासन र कालाजाति माथिको अत्याचारको विरुद्ध लाग्ने अठोट गरे । फलतः उनी सन् १९४३ मा अफ्रिकी नेसनल कांग्रेसमा आवद्ध भएर अहिंसात्मक आन्दोलनको नेतृत्व गरे । त्यस क्रममा मन्डेलाले २७ वर्ष लामो जेल जीवन बिताएका थिए । फलतः उनी विश्वकै मुक्ति आन्दोलनका पर्याय र आस्थाको केन्द्रविन्दु बन्न सके ।

२७ वर्षे जेल जीवनबाट सन् १९९० मा मुक्त भए पश्चात मन्डेलाले सन् १९९३ मा तत्कालीन अपरथेड/अपरथाईड शासनका कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कसँग विस्तृत शान्ति सम्झौता गरी सन् १९९४ मा पहिलो समावेशी लोकतान्त्रिक निर्वाचन सम्पन्न गरे । उनले निर्वाचनलाई परिणाममुखी बनाउन र सबैलाई मान्य हुने संविधान निर्माण गर्न निर्वाचन अगावै ३५ बुँदे सम्झौता गरे । सो निर्वाचनमा मन्डेलाको दल अफ्रिकी नेसनल कांग्रेस (एएनसी) ले दुई तिहाई बहुमत पाएको भए तापनि सबै पक्षलाई समेटेर सरकार गठन गरेका थिए, मन्डेलाले । मन्डेलाले शासन सत्ता सम्हालेको ठीक २ वर्षभित्र ९ मे, १९९६ मा अल्पसंख्यक गोरा जाति लगायत सम्पूणर् अल्पसंख्यक माथि हुने विभेदको पूणर् निषेधसहितको विश्वकै उत्कृष्टतम संविधान जारी गरेर देशलाई नयाँ युगमा प्रवेश गराए । मन्डेलाले तत्काल सत्य निरुपण तथा मेलमिलाप आयोग गठन गरेर द्वन्द्वकालका सम्पूणर् विवादित सवालहरु तथा अफ्रिकी समाजमा विद्यमान गहिरो विद्वेष र बेमेलहरुको हल गरेर अत्यन्तै छोटो समयमा संक्रमणकालको सही व्यवस्थापन गरे । गोरा जातिका कट्टर विरोधी नेता तथा नोवेल शान्ति पुरस्कार विजेता डेस्मण्ड टुटुले भने झैं “गहिरो रुपमा विभाजित देश (दक्षिणअफ्रिका) लाई ऐक्यबद्ध बनाउन सक्नु” मन्डेलाको सर्वाधिक महत्वपूणर् देन रह्यो ।

संघीयताका विषयमा मण्डेलाले भनेका थिए, “संघीयता भनेको इन्द्रेणी जस्तै सबै रंग मिलेको हुनु पर्दछ, एकल जातीय संघीयताले जनतामा वैमनस्यता र फाटो ल्याउँछ ।” मन्डेलाले दक्षिण अफ्रिकाको कूल जनसंख्याको मुस्किलले ९ प्रतिशत जनसंख्या ओगट्ने अल्पसंख्यक गोरा जाति लगायत सम्पूणर् अल्पसंख्यकहरु माथि कुनै पनि किसिमको भेद्भाव गर्न नपाइने र कडाईका साथ लागू हुने मानव अधिकारको ग्यारेण्टीसहित ११ स्थानीय भाषाहरुलाई राष्ट्रिय भाषाको रुपमा संविधानमा किटान गरेर लागू गरे । तीन वटा प्रमुख शहरहरु प्रिटोरिया, केपटाउन र ब्लुमफाउण्टेनलाई देशका समानान्तर केन्द्रीय राजधानी कायम गरी ती तीनवटै राजधानीहरुमा क्रमशः राष्ट्रपति भवन, संसद भवन र सर्वोच्च अदालत स्थापना गरेर विकेन्द्रीकरणको सिद्धान्त अनुरुप देशको सन्तुलित क्षेत्रीय विकास र सहभागितालाई पनि एकै साथ अगाडि बढाएका थिए ।

मण्डेलाको भनाइ थियो, “ठूला नेताले आफ्नो देशको शासन सत्ता हाँक्ने नयाँ पुस्ता तयार गर्नु पर्दछ र त्यसको जिम्मेवारी सुम्पनु पर्दछ ।” उनी सन् १९९० मा रिहा भएपछि सन् १९९१ मा एएनसीको सभापति भए । २७ अप्रील, १९९४ मा सम्पन्न आम निर्वाचनपछि सोही वर्षको मे १० का दिन प्रथम अश्वेत राष्ट्रपति भए । गज्जबको कुरो, सन् १९९७ मा उनले थाबो उम्बेकीलाई पार्टी सभापतिको पद हस्तान्तरण गर्नुका साथै सन् १९९९ को दोस्रो आम निर्वाचन पूर्व नै आफू पुनः राष्ट्रपति नहुने सार्वजनिक रुपमा घोषणा गरे । सन् २००४ मा आएर मन्डेलाले साँच्चै सार्वजनिक जीवनबाट सहज रुपमै सन्यास लिएका थिए । फलतः आजका दक्षिण अफ्रिकी युवा पुस्तालाई ‘मण्डेला जेनेरेशन’ भन्ने गरिन्छ ।

हुन पनि जब मन्डेला सत्तामा आए, आफ्ना अल्पसंख्य काला समर्थक र सहयोद्धाहरुको आग्रहको बाबजूद पनि मन्डेला र मन्डेलाका सैकडौं सहयोद्धाहरुलाई निर्मम यातना दिने र हत्या गर्नेसम्मका अल्पसंख्यक गोराहरुलाई समेत कहिल्यै, कुनै विभेद र भेदभाव गरेनन् । त्यसको एक मात्रै उदाहरण भनेको सन् १९९४ को आम निर्वाचनमा एक स्थान पनि नजितेको इब्राहिम गोराको कम्युनिष्ट पार्टीबाट ४ जना सांसदलाई मनोनीत गर्नु हो । त्यस्तै आफ्ना पूर्ववर्ती गोरा कार्यवाहक राष्ट्रपति फ्रेडरिक विलियम डे क्लार्कलाई समेत उपराष्ट्रपति बनाए भने सँधै हिंसामा मात्रै विश्वास गर्ने र हिंसामा संलग्न रहेका इन्काथा फ्रिडम पार्टीका अध्यक्ष बुथेलेजीलाई गृहमन्त्री बनाएका थिए भने धेरै काला जातिको संहार गर्ने र प्रताडना दिने गोरा प्रशासक र कर्मचारीहरुलाई पनि कुनै भेदभाव नगरी राम्रै ओहदा र स-सम्मान काम गर्ने अवसर दिए । परिणामतः दक्षिण अफ्रिकी समाजमा विद्यमान गहिरो वैमनस्यता र विद्वेषको अन्त्य भई सामाजिक ऐक्यबद्धता सहितको समृद्ध राष्ट्र निर्माणमा अग्रसर भयो ।

सबैभन्दा महत्वपूणर् कुरो मन्डेलाले ले सन् १९५८ मा बिन्नी माडिकिजेलासँग दोस्रो विवाह गरेका थिए । बिन्नी तिनै महिला हुन् जसले उनलाई जेलमुक्त गर्न र दक्षिण अफ्रिकी मुक्ति आन्दोलनलाई अगाडि बढाउन आफ्नो अर्धाङ्गिनी र पार्टीको इमान्दार सिपाहीं भएर सबैभन्दा लामो समयसम्म उनको साथ दिएकी थिइन् । तर जब एएनसीका समर्थकहरुबाटै बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको आरोप लगाए, मन्डेलाले बिन्नीसँग सन् १९९२ को अप्रील १३ मा सम्बन्ध विच्छेद गरे । हेरौं त, नेपाली नेताहरु र मन्डेलामा कति फरक ? किनभने एएनसीका समर्थकहरुबाट बिन्नीले भ्रष्टाचार र आर्थिक अनियमितता गरेको भन्ने आरोप आउने बित्तिकै मन्डेलाले बिन्नीसँग सम्बन्ध विच्छेद गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार