
स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकारलाई विश्वका प्रायः सबै मुलुकका संविधान र कानुनमा प्रत्याभूत गरिएको भएपनि विश्व स्वस्थ संगठनले प्रत्येक चारजनाको जन्ममा एकको मृत्यु वातावरण प्रदूषणका कारण अकालमै भइरहेको तथ्यले सबैलाई चिन्तित तुल्याएको छ । वायु प्रदूषण मानवीय जीवनका लागि एउटा ठूलो समस्या बन्दै गएको छ । यसका धेरै कारण छन् । वायु प्रदूषणको एउटा कारण प्राकृतिक रूपमा उड्ने धुलो मानिन्छ । कलकारखाना या जंगलको डढेलोबाट सम्पूर्ण किसिमका हानिकारक तत्व हावामा मिसिन्छन्, जसले पर्यावरणमा प्रदूषण फैलाउँछन् ।
विश्व स्वास्थ संगठनले सन् २०१८ को ३० अक्टोबर देखि १ नोभेम्बरसम्म जेनेभामा वायु प्रदुषण र त्यसले स्वास्थ्यमा पारेको असर सम्बन्धि पहिलो विश्व सम्मेलन आयोजना गरको थियो । सम्मेलन आयोजना गर्नुको मुख्य कारण विश्वमा वायु प्रदुषणको कारणले मानव स्वास्थमा परेको गम्भीर असर । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा मानिसलाई लाग्ने रोगको २४ प्रतिशत कारण र मृत्युको २३ प्रतिशत कारण जल, जमिन र वायु प्रदुषण, रासायनिक पदार्थसंगको सामिप्यता, जलवायु परिवर्तन र विकिरण बनेको छ । संगठनको पछिल्लो तथ्यांक अनुसार विश्वका ९१ प्रतिशत भन्दा धेरै जनसंख्या विश्व स्वास्थ्य संगठनको वायु प्रदुषणको स्वीकृत मापदण्ड भन्दा बढी प्रदुषित वातावरणमा बाँच्न बाध्य छन् । वायु प्रदूषणका कारण हामीले श्वास लिने हावामा शुद्ध अक्सिजनमात्र नभई यसमा अन्य हानिकारक ग्याँस, धूँवाजन्य तत्व नाइट्रस अक्साइड, सल्फरडाइ अक्साइड, मिथेन, क्लोरोफ्ल्युरो कार्वन इत्यादि तत्वहरुको सम्मिश्रणले हावालाई विषाक्त तुल्याई मानव स्वास्थ्यलाई नै असर पु¥याउँदछ ।उपचारको लागि औषधीकोमात्र गुणस्तर भएर हुँदैन, हामी बाँच्ने वातावरण पनि स्वच्छ हुनु जरुरी हुन्छ । विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसार शहरी क्षेत्रमा २५ माइक्रोग्राम भन्दा बढी धुलो हुनु हुँदैन तर ईलाममा भने त्यसको त्यसको तीन गुणाभन्दा माथि वायु प्रदुषण बढी सकेको छ ।
वायु प्रदूषण मापन किन?
बढ्दो शहरीकारणले यसमा धेरै अवयवहरु छन्, विशेष रुपमा विभिन्न ग्यासहरू (धुवाँ जस्ता धेरै ग्यासहरू, पी.एम. २.५, पी.एम. १०, सल्फर डाइऑक्साइड, नाइट्रोजन ऑक्साइड र कार्बन मोनोक्साइड) यी सबै ईन्धन जलाउँदा उत्पन्न हुने गर्दछन्। यी विभिन्न प्रकारले मानवको स्वास्थ्य, प्राकृतिक बासस्थान र मानव निर्मित वातावरणमा विभिन्न प्रभाव गर्दछ। वायु प्रदूषण मापन गरेकोले पनि मात्रै उपलब्धि होइन, त्यसलाई कसरी कम गर्ने वा व्यवस्थापन गर्ने एक पहिलो कदम हो। वायु प्रदूषण मापनमा पहिला प्रयोग भएका उपकरणहरूमा अम्ल वर्षापीमा माप गर्ने उदाहरणमा छन्, धुवाँ माप्ने लागि रिङ्गेल्म्यान (Ringelmann) चार्टहरू, र सजिलै धुलो र धुवाहरूको संग्रह गर्ने सरल यन्त्रहरू प्रयोग गरिन्थ्यो। आधुनिक वायुप्रदूषणको मापन धेरै मात्रामा स्वचालित र विभिन्न यन्त्र र तकनीकहरू प्रयोग गरेको पाईन्छ।
अब के गर्ने ?
हरित शहर र गाउँजस्ता वायु प्रदुषण सम्बन्धि कार्यक्रमहरुलाई प्रभावकारी बनाउने र मोटरगाडी तथा कलकारखानामा स्वच्छ उत्पादन प्रविधिको प्रयोग गरेर वायु प्रदुषणबाट हुने जोखिमलाई घटाउने कम गर्न ढिलाई गर्नु हुदैन । अहिले घर भित्रको प्रदुषण बहुसंख्यक नेपालीको बिग्रदो स्वास्थ्यको मुख्य कारण भएकोले घरलाई स्वास्थ्यमैत्री बनाउन घर भित्र स्वच्छ हावाको स्वतन्त्र प्रवाह हुने व्यवस्था मिलाउने, खाना पकाउँदा र उज्यालोको लागि स्वच्छ उर्जाको प्रयोग गर्ने, परम्परागत उर्जाको प्रयोग गर्दा सुधारिएको चुलो प्रयोग गर्ने, घरमा रासायनिक विषादी र अन्य रसायनको प्रयोगलाई न्यून तहमा झार्ने जस्ता कामहरु गर्न सकियो भने घर भित्रको प्रदुषणलाई न्युनतहसम्म झार्न सकिन्छ । घर बाहिरको प्रदुषण कम गर्न राज्यले र घर भित्रको प्रदुषण घटाउन परिवारले नै जिम्मेवारी लिने हो भने कम्तिमा पनि मानिसको सम्पर्कमा आउने प्रदुषक पदार्थहरुको मात्रालाई घटाउन सकिन्छ र वातावरणीय प्रदुषणबाट मानव स्वास्थ्यलाई सुरक्षित राख्न सकिनेछ । हिजो बचेका थियौँ र पो आज छौँ । आज बचे न भोलि रहौँला नत्र भोलि कसले पो देखेको छ र बाँचौँला । त्यसैले पर्यावरण प्रदूषित गराउने सबैखाले ग्यास तथा अन्य तत्वको न्यूनीकरण एवं नियन्त्रण कार्यमा हामी आफैँ पनि सक्रिय सहभागी होऔँ, अरूलाई पनि अभिप्रेरित गरौँ ।
-लेखक इसिएपफ नेपालकी सदस्य हुन् ।














































