
बढ्दो जनसंख्यासँगै मानव जीवनमा विभिन्न उपभोगका साधनहरूको उपयोग बढीरहेको छ । जसले वायु प्रदूषणमा टेवा पुरयाउँछ । वायु प्रदूषण हुनुको मुख्य कारण नै औधोगिक क्षेत्रबाट निस्किने धुँवा, धुलो र भान्साबाट निस्किने धुँवाले उतिकै महत्वपुर्ण भुमिका खेल्छ | वायु प्रदूषण भनेको वायुमा विभिन्न किसिमका धुँवा, धुलो र मसिना कणहरू भन्ने बुझिन्छ | जसलाई पिएम एकाईमा नापिन्छ । पिएम अर्थात् पार्टीकुलेट मयाटर जसको अर्थ मसिना कण भन्ने बुझिन्छ । पिएम २.५ माइक्रोन भन्दा मसिना कणहरुले हाम्रो शरीरमा दीर्घकालिन रुपमा असर गर्ने गर्दछ।
मानवको जीवनको विकाससँगै आवश्यकता पनि बढ्दै गइरहेको छ। त्यस मध्ये छिटो र छरितो यातायातको लागि साधनको प्रयोग र इन्धनजन्य वस्तुको प्रयोग निकै बढ्दै गएको छ। अव्यवस्थित सहरीकरण, औधोगिकरण, वन डडेलो, पुराना सवारी साधनको प्रयोग, अव्यवस्थित फोहोरमैलो, फोहोर तथा हानिकारक वस्तु खुल्ला रूपमा जलाउने जस्ता क्रियाकलापले वायुमा हानिकारक कणहरु मिसिन गइ प्रदूषण बढ्दै गएको छ। यसले मानव जीवनमा नकारात्मक असर पर्न गई मानिसको आयुलाई नै घटाइरहेको छ। विशेष गरी बालबालिका वृद्ध वृद्धा एवम् श्वासप्रश्वास र मुटुको बिरामीहरुलाई बढी प्रभावित पार्ने अध्ययनहरुले देखाएको छ। हालै भएको आइक्युएयरका अनुसार नेपालको काठमाडौंको वायु प्रदूषण विश्वकै ठुला शहरमा सबभन्दा प्रदुषित पाइएको छ। विश्व स्वास्थ्य सँगठनका अनुसार वार्षिक रूपमा वायु प्रदूषणका कारण करिब ७ लाख मानिसले अफ्नो ज्यान गुमाउनुपरेको छ।
के हो त वायु प्रदूषणका मुख्य कारणहरु ?
कार्बनमोनोक्साइड :- घरमा प्रयोग हुने काठ दाउरा, पेट्रोल, डिजेल आदि जस्ता इन्धनको प्रयोगबाट यो ग्यास उत्पन्न हुन्छ। यसले मानव शरीरमा अक्सिजनको कमी गराई निन्द्रामा समस्या ल्याउने गर्दछ।
कार्बनमोनोअक्साइड :- यो एउटा हरितगृह ग्यास पनि हो । यसको उत्पन्न तेल, कोइला तथा प्राकृतिक ग्यास जलाउँदा हुन्छ।
क्लोरोफ्लोरो कार्बन :- यसलाई हरितगृह ग्यासको रुपमा चिनिन्छ । जसले पृथ्वीको वरिपरि भएको ओजोनलाई नष्ट गर्छ। ओजोन एक किसिमको सुरक्षा घेरा हो जसले पृथ्वीमा भएको जीवनलाई सूर्यको विकिरणबाट बचाउँछ। रेफ्रिजेरेटर, एयर कन्डिस्नर आदिको प्रयोगबाट क्लोरोफ्लोकर्बन निस्किन्छ र हावा अन्य ग्याससँग मिसिएर ओजोनलाई नस्ट गर्ने काम गर्छ। ओजोन नस्ट भएमा सूर्यको परावैजनि किरण स्वतै पृथ्वीको सतहमा आई विभिन्न किसिमका छाला जन्य रोग, आँखा पोल्ने तथा क्यान्सर जस्तो रोगलाई निम्त्याउँछ।
नाइट्रोजन अक्साइड :– यो ग्यास पेट्रोल, डिजेल, कोइला बाल्दा निस्किन्छ र यसले बढि बालबालिकालाई असर गरेको अनुसन्धानले देखाएको छ।
सल्फर डाइअक्साइड :- धातु पगाल्दा, कागज जलाउदा निस्किने यो ग्यास अम्लिय बर्षाको मुख्य कारण हो। यसले फोक्सोलाई असर गर्दछ। यति मात्र नभई विभिन्न सँरचनालाई पनि नष्ट गर्छ।
वायु प्रदूषण न्यूनिकरण
- वृक्षरोपण गर्ने र वन विनास रोकथाम गर्ने ।
- धुँवा-धुलो उत्पन्न गर्ने उधोगहरुलाई आधुनिक विधिद्वारा कम धुँवा निस्कासन गर्ने प्रविधिको प्रयोग गर्ने।
- आफ्नो सवारी साधनको चेकजाच ३-३ महिना अथवा समय-समयमा गराउने र सकेसम्म अनावश्यक यातायातको प्रयोग नगर्ने।
- घरमा भएको फ्रीज, कुलर, एयर कन्डिस्नर जस्ता साधन आवश्यक पारेको खण्डमा मात्र चलाउने र बन्द गरेर राख्ने।
- आधुनिक विधुतीय उपकरनमा बढि जोड दिने।
- समुदायमा जनचेतनामुलक कार्यक्रम सन्चालन गर्ने।
- सकेसम्म वायु प्रदूषण बढेको थाहा भएको खण्डमा बाहिर ननिस्किने, निस्किनै परे मास्कको प्रयोग गर्ने।
वायु प्रदूषणले धेरै समस्याहरु उत्पन्न गरेको देखिन्छ। जसमध्ये ढिलो देखिने समस्या जस्तै मानसिक असन्तुलन, प्रजनन् स्वास्थ्यमा असर, कम तौलको बच्चा जन्मिने वा समय अगावै जन्मिने जस्ता नकारात्मक समस्याजरु देखिन्छ। त्यसैले वायु प्रदूषणको जनचेतना सँगै यसको न्यूनीकरण पनि निकै आवश्यक देखिन्छ।
-लेखक इसिएफ नेपालकी सदस्य हुन् ।