विराटनगरमा प्रहरी र पहिचानवादीबीच झडप, दर्जनौ घाइते

  नयाँ बुलन्द
168 Shares

विराटनगर : विराटनगरमा पहिचान पक्षधर र प्रहरीबीच झडप हुँदा कम्तिमा २३ जना घाइते भएका छन् । होटेल बिगमा दिगो विकास लक्ष्य प्राप्तिका लागि स्रोत व्यवस्थापनसम्बन्धी अन्तरक्रियात्मक कार्यशालामा सहभागी हुन पुगेका सांसदहरूलाई दबाब दिन पुगेका शान्तिपुर्ण प्रदर्शनमा प्रहरीले लाठी चार्ज गर्नुका साथै अश्रुग्यास प्रहार गरेको थियो ।

जिल्ला प्रहरी कार्यालयका अनुसार झडपमा ४ जना सशस्त्र प्रहरी तथा ६ जना नेपाल प्रहरीका जवान घाइते भएका छन् । त्यस्तै पहिचान पक्षधरबाट भने १३ जना घाइते भएका छन् । प्रदर्शनकारीलाई लखेट्न प्रहरीले १७ राउण्ड हवाई फायर गरेको छ भने ४४ सेल अश्रुग्यास प्रहार गरेको छ ।

आन्दोलनकारीका तर्फ घाइते हुनेहरुमा धरानका एन के दर्नाल, शिव आङ्देम्बे, प्रसाद राई, अशोक राई, विशाल राई, आस्था राई रहेको छन् । त्यस्तै माङ्सेबुङका उदय नेम्बाङ, गापाका सुरज राई ग्रामथान, इटहरी तरराका सरोज लिम्बू, पदम लिम्बू, रोयल राई, बिमल किराँती, तरहरका रेसम राई घाइते भएका छन् । आन्दोलनकारी घाईतेहरुको अहिले पारस हस्पिटलमा उपचार भइरहेको छ ।

झडपका कारण केही समय विराटनगर तनावग्रस्त बनेको थियो । प्रहरीले आन्दोलनकारी माथि पानीको फोहराका साथै अश्रुग्यास प्रहार गरेको थियो भने आन्दोलनकारीले प्रहरीमाथि ढुंगा प्रहर गरेका थिए । अहिले स्थिति सामान्यतर्फ फर्किएको छ ।

युएनडिपीको आयोजनामा आज र भोलिका लागि तय भएको कार्यक्रम यसअघि मोरङको सुन्दरहरैंचास्थित विराटचोकको होटेलमा राखिएको थियो । त्यहाँ प्रदेश नं. १ पुनः नामाङ्कन संयुक्त संघर्ष समितिले घेर्न आउने भएपछि असुरक्षा देखाएर विराटनगरको होटेल बिगमा राखिएको छ ।

सांसदहरू सहभागी हुने कार्यक्रम र होटेल घेराउ गर्न समितिका कार्यकर्ताहरू जम्मा हुने भएपछि प्रहरीले त्यस क्षेत्रको सुरक्षा व्यवस्था कडा बनाएको छ ।

प्रदेशसभाले प्रदेशको नाम कोशी राखेको विरोधमा पहिचान पक्षधरहरुले निरन्तर आन्दोलन गरिरहेका छन् । ५ चैतमा भएको आन्दोलनका क्रममा घाइते भएका पदम लिम्बु ‘लाजेहाङ’को उपचारका क्रममा १० चैतमा मृत्यु भएपछि आन्दोलन झन् चर्किएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार