संस्थागत क्षमता स्वमुल्याङ्कनमा माङसेबुङ गाउँपालिका कमजोर, ५७.५ मात्र अङ्क

समन्वय र सहकार्यमा सबैभन्दा कमजोर

इलाम : आर्थिक वर्ष २०७८/७९ को संस्थागत क्षमता स्वमूल्याङ्कनमा इलामको माङसेबुङ गाउँपालिका कमजोर देखिएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले तयार गरेको १० वटा सूचक र १ सय वटा उपसूचकका आधारमा गरिएको स्वमूल्याङ्कनमा माङसेबुङ गाउँपालिका कमजोर देखिएको हो ।

जिल्लाका १० वटा स्थानीय तहमध्ये स्वमूल्याङ्कनमा माङसेबुङ गाउँपालिका नवौं अर्थात् जिल्लाको दोस्रो कमजोर गाउँपालिकामा परेको छ । माङसेबुङ गाउँपालिकाले समग्रमा ५७ दशमलव ५ प्रतिशत अंक मात्र प्राप्त गरेको छ ।

मन्त्रालयले ४० प्रतिशतभन्दा कम अङ्क ल्याउनेलाई नाजुक, ४० देखि ६० प्रतिशतलाई कमजोर, ६० देखि ८० प्रतिशतलाई राम्रो, ८० प्रतिशतमाथि ल्याउनेलाई उत्कृष्ट स्थानीय तहका रुपमा वर्गीकरण गर्दछ । जस अनुसार माङसेबुङको नतिजा स्वमुल्याङ्कनमा कमजोर देखिएको हो ।

माङसेबुङ गाउँपालिकाले न्यायिक कार्य सम्पादनमा सबैभन्दा राम्रो १०० प्रतिशत अङ्क प्राप्त गरेको छ भने प्रदेश तथा संघसँगको सहकार्य र समन्वयमा सबैभन्दा कम ८ दशमलव ३३ अंक प्राप्त गरेको छ ।

यस्तै अन्यमा प्रशासकीय प्रबन्धमा ९४ दशमलव ४४ प्रतिशत, संगठन तथा प्रशासनमा ६५ दशमलव ६३ प्रतिशत, बजेट तथा योजना व्यवस्थापनमा ५९ दशमलव ०९ प्रतिशत, वित्तीय एवम् आर्थिक व्यवस्थापनमा ७२ दशमलव ७३ प्रतिशत, सेवा प्रवाहमा ६४ दशमलव ०६ प्रतिशत, सामाजिक समावेशीकरणमा २५ प्रतिशत, भौतिक पूर्वाधारमा ३० दशमलव ७७ प्रतिशत, र वातावरण संरक्षण तथा विपद व्यवस्थापनमा ५५ दशमलव ५६ प्रतिशत अंक प्राप्त गरेको छ । यसरी हेर्दा गाउँपालिकाले शासकीय प्रबन्ध र न्यायिक कार्य सम्पादनमा बाहेक सबै सूचकमा कमजोर देखिन्छ ।

जिल्लो पहिलो कमजोर गाउँपालिका रोङ गाउँपालिका र पहिलो सर्वोत्कृष्ठ नगरपालिका सूर्योदय नगरपालिका बनेको छ । रोङले समग्रमा ५२ र सूर्योदयले ९६ दशमलव २५ अङ्क प्राप्त गरेको छ ।

समग्र स्थानीय तहको नतिजा यो लिंकमा क्लिक गरेर हेर्न सकिन्छ ।

मन्त्रालयले स्थानीय तहको कार्यप्रक्रिया र उपलब्धिबारे लेखाजोखा गरी सबल तथा दुर्वल पक्षको पहिचान गर्न, विकास तथा सुशासनमा रहेका कमी कमजोरीको जानकारी लिन, आवधिक समीक्षाका लागि आधार प्राप्त गर्न र गाउँपालिका तथा नगरपालिकाबीचमा तुलनायोग्य सूचक तर्जुमा गरी प्रतिस्पर्धात्मक सुधारमा अग्रसर गराई स्थानीय तहलाई सक्षम र प्रभावकारी बनाउन स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ८० को प्रयोजनका लागि स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन कार्यविधि बनाएको थियो ।

मन्त्रालयको कार्यविधिअनुसार शासकीय प्रबन्धतर्फ नौ, संगठन तथा प्रशासनतर्फ आठ, वार्षिक बजेट तथा योजना व्यवस्थापनतर्फ ११, वित्तीय एवं आर्थिक व्यवस्थापनतर्फ ११, सेवा प्रवाहतर्फ १६, न्यायिक कार्य सम्पादतर्फ सात, भौतिक पूर्वाधारतर्फ सात, सामाजिक समावेशीकरणतर्फ १०, वातावरण संरक्षण तथा विपद् व्यवस्थापनतर्फ नौ र सहकार्य तथा समन्वयतर्फ छ कुल भार निर्धारण गरिएको छ ।

हेर्नुहोस् माङसेबुङ गाउँपालिकाको  संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा :

No photo description available.

यो पनि पढ्नुहोस् :

स्थानीय तह संस्थागत क्षमता स्वमुल्याङ्कनमा सूर्योदय नगरपालिका पहिलो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार