इलामको पाटेनागीमा पर्यटक बढेसँगै होमस्टे सञ्चालनमा

  नयाँ बुलन्द
756 Shares

इलाम : इलामको पर्यटकीयस्थल पाटेनागीमा आन्तरिक पर्यटक पुग्ने क्रम बढेसँगै स्थानीय घरहरुमा होमस्टे सञ्चालन हुन थालेका छन् । अहिले होमस्टे यहाँका स्थानीयबासीको आम्दानीको मुख्य स्रोत बन्न थालेको हो । यहाँ आएका पर्यटकहरुले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी कोसेली समेत लैजाने गरेका छन् ।

पाटेनागीको अग्लो डाँडोमा उभिंदा एकातिर पहाडका तरेलीसँगै हिमशृंखलाको आकर्षण, अर्कोतिर पूर्वी पहाडका अग्ला डाँडासँगै ग्रामीण बस्ती नियाल्न सकिन्छ । इलाम नगरपालिका ३ स्थित पाटेनागी छेउको चिटिक्क परेको बस्ती छ । सोही बस्तीमा स्थानीयलाई यतिबेला पाहुनाको सत्कार गर्न भ्याईनभ्याई भएको छ ।

चासो बढ्दै गए पनि यहाँ आगन्तुकलाई त्यसको प्रवाह हुन्न । बरु होमस्टेमा बसेर आसपासका रमणीय दृश्य नियाल्दै रमाउँछन् । सूर्योदय र मनोरम हिमाली दृश्य नियाल्न सकिने हुनाले पछिल्लो पटक पाटेनागीमा पर्यटकहरु आउने क्रम बढ्दै गएको स्थानीयको भनाइ छ ।

पाटेनागी पुग्ने पर्यटकहरुले बाससँगै रातिको क्याम्प फायरको मजा लिन सक्ने भएका छन् । इलाम बजारबाट मेची राजगमार्ग समाएर एक घण्टाको यात्रापछि पाटेनागी पुगिन्छ । प्राकृतिक रमणीयतामा भुल्नकै लागि पर्यटकहरु यहाँ आउने गरेका छन् ।

महाभारत पर्वत शृंखला अन्तर्गत अग्लो डाँडा पाटेनागी यसैले पनि पर्यटकको आकर्षण रहेको इलाम नगरप्रमुख केदार थापाले बताए । पर्यटन बोर्डबाट गतवर्ष ५० लाख र यस वर्ष २० लाख गरी जम्मा ७० लाख रकम विनियोजन भएको उनले जानकारी दिए । सोही रकमले ट्रेकिङ रूट बनाउने योजना रहेको उनले सुनाए ।

पाटेनागी नजिकको वनमा विभिन्न प्रजातिका चरा, वन्यजन्तु तथा वनस्पति पाइन्छन् । पाटेनागी पुगेका पर्यटकले स्थानीय गाउँमा उत्पादन भएको कृषि उपज खरिद गरी कोसेली समेत लैजाने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार