कुलुङ समुदायको नयाँ वर्षः ‘चाक्चाकूर’

  निनाम लोवात्ती
392 Shares

निनाम लोवात्ती

हो, हरेक वर्षको पुस १५ गतेका दिन कुलुङ समुदायको नयाँ वर्ष ‘चाक्चाकूर’ पर्व पर्छ । जुन पर्वलाई नयाँको रुपमा एक पर्व मात्रै नमानेर एक भव्य र प्रमुख चाडको रुपमा पनि कुलुङ समुदाय मनाउने गरेका छन् । स्मरणीयके  छ भने, कुलुङ समुदायलाई हालसम्म आम मानिसहरुले राई भनेर चिन्ने र कुलुङ भनेको चाहिँ राईभित्रको एक थर हो भन्ने बुझेका छन् । तर वास्तविकता चाहिँ त्यस्तो होइन । किनभने राई भनेको कुनै जात वा जाति नभएर पद, पदवी अथवा पगरी मात्रै हो । जस्तो यहाँ केही उदाहरणहरु हेरौं । प्रधानमन्त्री, मन्त्री, मुख्य सचिव, सचिव,  राज्यमन्त्री, सहसचिव, सांसद, मुख्यमन्त्री, प्रदेश प्रमुख, आदि । खासमा कुलुङ भनेको किराती महाजातिभित्रका छुट्टै जातीय स्वपहिचान भएका अलग्गै समुदाय हुन, जाति हुन् । त्यसैले कुलुङ समुदायका अगुवाहरुले विसं २०५७-०५८ देखि कुलुङ समुदाय अलग्गै समुदाय हुन्, राई होइनन् भनी जनवकालत गर्दै आएका छन्, कुलुङ समुदायले पनि नेपालका अन्य समुदायले जस्तै अलग्गै जातीय स्वपहिचान पाउनु पर्छ, आदिवासी जनजाति सूचीमा अलग्गै जातिका रुपमा सूचीकृत हुनु पर्छ भनी संघर्ष गर्दै आएका छन् ।

जे होस्, ‘कुलुङ समुदाय’को नयाँ वर्ष (नीङ दोङ) तथा मीनारी दाचाम् (नयाँ अन्न भित्र्याउने र खाने) ‘चाक्चाकूर’ पर्व हरेक पुस महिनाको १५, १६ र १७ पर्ने गर्छ । त्यसो भए तापनि नेपालका विभिन्न जातजातिमध्ये गुरुङ जातिको ‘तमु ल्होसार’ पनि सोही मितिमा नै पर्ने भएकोले गर्दा कुलुङ ‘कुलुङ समुदाय’को नयाँ वर्ष (नीङ दोङ) चाक्चाकूर तथा मीनारी दाचाम् (नयाँ अन्न भित्र्याउने) ‘चाक्चाकूर’ पर्व ओझेलमा पर्ने गरेको छ । किन यस्तो भयो ? भन्दा गुरुङ जातिलाई नेपालको एक जाति हुन् भनी सरकारले मान्यता दिएर ‘आदिवासी जनजातिको सूचीमा सूचीकृत गरेको छ । ‘कुलुङ समुदाय’लाई भने हालसम्म ‘कुलुङ समुदाय’ नेपालका अलग्गै जाति हुन् भनी सूचीकृत गरेर अलग्गै जातिको मान्यता दिई सकेको छैन, कुलुङ समुदायलाई ‘राई !’ जातिमा गाभिएको छ । त्यसो भएकाले गर्दा नेपालका अन्य जातजाति, भाषाभाषी, धार्मिक समूह, वर्ग आदिका अगुवा एवम् सर्वसाधारण जनले पनि ‘कुलुङ’ समुदायलाई ‘राई !’ जातिभित्रको एक ‘थर’ मात्रै हो भन्ने बुझेका छन् । वास्तविकता चाहिँ त्यस्तो होइन ।

माथि एक प्रसंगमा भनिएभैmँ कुलुङ जातिको चाक्चाकूर र गुरुङ जातिको तोला (तमु) ल्होछार सँगसँगै पर्ने भए तापनि तमु ल्होछारबारे नेपालका प्रायः सबै सञ्चारमा जस्तै पत्रपत्रिका, अनलाइन, रेडियो, एफएम, टेलिभिजन आदिमा समाचार, फोट, फिचर, लेख आदि प्रकाशित हुने गरेको छ । तर सोही समयमा पर्ने गरेको कुलुङ समुदायको नयाँ वर्ष ‘चाक्चाकूर’ तथा मीनारी-दाचाम् पर्वबारे भने नेपालका राष्ट्रियस्तरका कुनै पनि पत्रपत्रिका, अनलाइन, एफएम, टेलिभिजन आदिमा समाचार आउँदैन । फोटा, फिचर, लेख छापिदैन । त्यसो भए तापनि कुलुङ समुदायले विक्रम संवत्को हरेक नौ औं महिना (पुस) को १५, १६ र १७ गते (तीन दिन) विभिन्न कार्यक्रम गरेर भव्य रुपमा कुलुङ समुदायको बाक्लो वस्ती रहेका क्षेत्रमा ‘नीङ दोङ चाक्चाकूर’ मनाउने गरेका छन् । स्मरण रहोस्, किराती महाजातिभित्रका कुलुङ समुदायको जीवन चक्रअनुसार यो वर्षको पुस १५ गतेदेखि नयाँ वर्ष ‘यले दोङ-५०८३’ सुरु हुँदैछ-सुरु भयो । त्यसैले यो छोटो लेखमा कुलुङ समुदायले दसैँको रुपमा मनाउने ‘चाक्चाकूर’ पर्व मनाउने क्रम कसरी सुरु भयो, कहिलेदेखि मनाउन सुरु भयोे ? कुलुङ समुदायका मानिसहरुले किन ‘मीनारी दाचाम् चाक्चाकूर’ पर्व मनाउँछन् ? आदिबारे चर्चा गरिने छ ।

हुन पनि नेपाल जातजाति, भाषाभाषी, धर्म, वेशभुषा आदिमा विश्वकै धनी देशमा पर्छ । किनभने हाम्रो देश नेपालमा एक २५ जातजाति र एक २३ भाषाभाषी (२०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार) रहेको छ । ती सबै जातजाति र भाषाभाषीको आआप्mनै मातृभाषा, रहनसहन, रीतिरिवाज, चालचलन, रीतिथिति, संस्कार, संस्कृति, वेशभुषा, परम्परागत कानुन, मूल्य-मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, (कतिपय जातजातिको ऐतिहासिक भूमि पनि छ) वंश-वृक्ष, जातीय संरचना, परम्परागत रुपमा पिता-पूर्खाहरुले मान्दै आएको मौलिक धर्म, बाजागाजा, गरगहना आदि रहेको छ । हो, कुलुङ समुदायको पनि आप्mनै मातृभाषा, संस्कार, संस्कृति, रहनसहन, वेशभुषा, रीतिरिवाज, चालचलन, परम्परागत कानुन, वंमूल्य-मान्यता, नैतिक शिक्षा, विशिष्ट खालको जीवनचक्र, लिखित वा अलिखित इतिहास, जातीय संरचना, कुलुङ समुदायका पिता-पूर्खाहरुले आदिकालदेखि चर्ची आएको ऐतिहासिक भूमि (महाकुलूङ भूमि), कुलुङ समुदायले मान्दै आएको मौलिक धर्म, परम्परागत कानुन, बाजागाजा, गरगहना आदि पनि छ । जुन कुरोहरु कुनै पनि समुदायका लागि अरु समुदायभन्दा आपूm फरक समुदाय हो भन्ने प्रमुख आधार हुन् । त्यस्तै कुलुङ समुदायको पनि हजारौं-हजारौंं वर्षदेखि आप्mना पिता-पूर्खाहरुले चर्चेको अथवा भनौं खनीखोस्री गरेको ऐतिहासिक भूमि ‘महाकुलुङ भूमि’ पनि रहेको छ । जुन भूमि हालको राजनैतिक विभाजनअनुसार १ नम्बर प्रदेश (संसदीयकाल-पाँच वर्षमा पनि नाम जुर्न नसकेको) को सोलुखुम्बु जिल्लामा पर्ने ‘महाकुलुङ गाउँपालिका’ र ‘सोताङ गाउँपालिका’को भू-क्षेत्र हुन्, जसलाई हुँगा उपत्यका पनि भनने गरिन्छ ।

यसरी हेर्दा कुलुङ समुदायले मनाउने विभिन्न चाड-पर्वको सन्दर्भमा भन्नु पर्दा खेरि ‘मीनारी-दाचाम् चाक्चाकूर’ पनि एक हो । कुलुङ समुदायले नयाँ वर्षलाई ‘नीङ दोङ भनी पुकार्छन् भने यसै अवसरमा ‘मीनारी-दाचाम् चाक्चाकूर’ पर्वलाई तीन दिनसम्म हर्षोल्लासका साथ मनाउने गर्छन् भनने कुरो माथि नै पनि उल्लेख भएको छ । कुलुङ समुदायको आधिकारिक संस्था ‘नेपाल किरात कुलुङ भाषा संस्कृति उत्थान संघ (किरात कूलू गूसखोम)’ ले विसं २०६१, विसं २०६८ र विसं २०७८ मा सुनसरी जिल्लाको धरान (सेउती पारि, पाँच कन्या) मा देशभरिका कुलुङ समुदायका पिता-पूर्खाहरुको भेला आयोजना गरेर कुलुङ समुदायको परम्परादेखि अपनाउँदै आएको वास्तविक र मौलिक चाडवाड, पर्व, उत्सव, धर्मकर्म, संस्कार, संस्कृति, परम्परागत कानुन, रीतिथिति, रहनसहन, वेषभुषा, खानपान, बाजागाजा, गरगहना, परम्परागत कानुन, नाचगान, खेलुकद, हरेका ऋतुअनुसार गरिने परम्परागत विधि-विधान केके हुन् ?, केके छन् ? ती सबै जीवित छन्-छैनन् ? भनी छलफल गर्न र कुलुङ समुदायभित्र चाडवाड र पर्वहरु मनाउने क्रममा देश विदेशमा रहेका कुलुङहरुबीच सकेसम्म एकरुपता ल्याउन र, नयाँ पीँढीलाई प्रस्ट पार्न वा भनौं बुझाउनका लागि बृहत् रुपमा छलफल गरेको थियो ।

सो भेलामा भेला भएका कुलुङ समुदायका पिता-पूर्खाहरुका ‘अनुसार प्राचीन कालमा कुलुङ समुदायले ‘मीनारी-दाचाम् चाक्चाकूर’ मनाउँदा बाँसको ढुंग्रोमा भात र तिहुन पकाएर बाँसकै चोयाले बुनेको डालोमा राखी, बाँसकै खपटा वा पातमा पस्केर खाने गरिन्थ्यो ।’ यसरी बाँसको ढुंग्रोमा पकाएको भात र तिहुनलाई कुलुुङ भाषामा ‘पीतीतीम’ भनिन्छ । कुलुङ समुदायले तीन दिनसम्म ‘मीनारी-दाचाम् चाक्चाकूर’ मनाउने क्रममा पहिलो दिन सबैले आ-आफनै घरमा मीठो मसिनो जे छ, त्यही पकाएर, तुल्याएर खाने गरिन्छ भने दोस्रो दिन छोरी-चेलीहरु माइतीहरुको दीर्घायु, सुख, शान्ति र सफल जीवन-यापनको कामना गर्न र आशिष दिन आफ्नो माइतीघर आउने प्रचलन छ । यस कार्यलाई कुलुङहरु ‘तोबूवा दोलम्’ भन्छन् । त्यस्तै तेस्रो दिनका दिन माइतीपक्ष पनि छोरी-चेलीलाई उही रीतले आशिष दिन छोरी-चेलीहरुको घर जाने गरिन्छ । यस कार्यलाई ‘तोबूवा पिलम्’ भनिन्छ ।

कुलुङ समुदायमा ‘मीनारी-दाचाम् चाक्चाकूर’ कसरी मनाउन थालियो ? भन्ने सम्बन्धमा किम्बदन्तीहरु रहेको छ । कुलुङ समुदायमा चलेको किम्बदन्तीअनुसार कुलुङ समुदायका विभिन्न (कुलुङ समुदायलाई कुलुङ भनी चिनिनुअघि, कुलुङको २३ पुस्ता रहेका थिए) आदिम पूर्खामध्ये खार र दुम्दुलिमको दुई छोरी लोस र खेउ अनि एक छोरा खोक्चीलीप गरी तीन सन्तान रहेका थिए । तर तिनीहरु सानो छँदै खार र दुम्दुलिमलाई ललदूम (वनमान्छे) ले खायो । त्यसपछि दिदीहरु लोस र खेउले भाइ खोक्चीलीपलाई वेवारिसे अवस्थामा छाडेर गए । खोक्चीलीप ठूलो भएपछि वेइलिम्मासँग विवाह गरे । समय क्रममा एक दिन खोक्चीलीपले आफ्नी श्रीमती वेइलिम्मालाई आफ्नो दुई दिदीहरु प्नि थिए भनी बताए । त्यसो हो भने दिदीहरुलाई खोजेर ल्याउन त भनी वेइलिम्माले आग्रह गरेपछि खोक्चीलीप आफ्ना दिदीहरु खोज्न हिँडे । नभन्दै भाइ र दिदीहरुको भेट भयो । तर, दिदीहरुले भाइ मरीसकेको ठानेका थिए । अकस्मात भाइसँग भेट भएपछि दिदीहरु आश्चार्यमा पर्नुका साथै सानैमा भाइलाई बेवारिसे अवस्थामा छाडेर गएकोमा पश्चाताप गरे । तापनि भाइले आप्mनो घर जान आग्रह गरेपछि भाइको आग्रहलाई नाई भन्न सकेनन् । उनीहरु भाइको घरमा गएर ‘नयाँ अन्न-बालीबाट बनेको मिठो-मसिनो खाए, पिए । साथै नाचगान गरे, रमाइलो गरे ।’ सोही दिनदेखि कुलुङ समुदायले ‘चाक्चाकूर’ मनाउन थाले । यसरी कुलुङ समुदायमा चाक्चाकूर मनाउने प्रचलन सुरु भएको मानिन्छ ।

विसं २०६८ को ११ औं राष्ट्रिय जनगणनाअनुसार कुलुङ समुदायको जनसंख्या २८ हजार ६ सय १३ जना रहेको छ भने, कुलुङ भाषाका वक्ता संख्या चाहिँ ३३ हजार १ सय ७० जना रहेको छ । पुस १५, १६ र १७ मा पर्ने कुलुङ समुदाको महान तथा प्रमुख चाड (हिन्दु धर्मालम्बीहरुको दसैँसरह) ‘मीनारी-दाचाम् चाक्चाकूर’को अवसरमा नेपाल सरकारले राष्ट्रियस्तरमा सार्वजनिक विदा दिने गरेको छैन । केन्द्र र प्रदेश सरकारले सरकारीस्तरमा सार्वसजिनक विदा नदिए तापनि विगत चार वर्षदेखि कुलुङ जातिको ऐतिहासिक भूमि रहेको सोलुखुम्बु जिल्लाको ‘महाकुलुङ गाउँपालिका’, संखुवासभाको जिल्लाको ‘सिलिचोङ गाउँपालिका’ले ‘मीनारी-दाचाम् चाक्चाकूर’मा स्थानीयस्तरमा सार्वजनिक रुपमा विदा दिँदै आएको छ । आशा गरौं, आगामी दिनमा केन्द्र सरकार र प्रदेश सरकारले पनि कुलुङ समुदायको चाड ‘चाक्चाकूर’को अवसरमा सार्वजनिक विदा दिनेछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार