पूर्वाधार निर्माणले पर्यटक तान्दै ‘पाटेनागी–कुइभिर’

  नयाँ बुलन्द
1.2k Shares

इलाम : हिमाली दृश्य र लेकाली जिवनशैलीमा रमाउन सकिने इलामको पाटेनागी क्षेत्रमा पर्यटकीय पूर्वाधार निर्माणले पर्यटकको आकर्षण बढेको छ ।

इलाम ३ मा पर्ने नगरपालिकाकै अग्लो डाँडो पाटेनागी र नजिकै रहेको कुइभिर क्षेत्रमा पदमार्ग र पर्यटक बास बस्ने पूर्वाधार निर्माण गरिएपछि पर्यटकहरुको आकर्षण बढेको हो ।

इलाम नगरपालिकाले कच्ची सडक जोड्नुका साथै नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा पदमार्ग निर्माण गरिएपछि पर्यटकहरु पाटेनागी पुग्ने क्रम बढेको इलाम नगरपालिका प्रमुख प्रशासकिय अधिृकत गणेशकुमार खड्काले बताए ।

उनले भने, ‘पदमार्ग निर्माण भएपछि यहाँ दिनहुँ घुम्न आउनेको संख्या बढिरहेको पाएका छौँ ।’ इलाम र देउमाई नगरपालिकाको सीमा बाघखोरबाट ७ किलोमिटरमा पुग्न सकिने पाटेनागीको उच्च भाग ३ हजार ४२ मिटरसम्म पदमार्गले जोडिएको छ ।

नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ का कारण नराम्रोसँग थला परेको पर्यटन क्षेत्रमा संलग्न महिला तथा पिछडिएका वर्ग तथा समूहलाई केही मात्रमा राहत होस् भन्ने उदेश्यले कुइभिर पाटेनागी क्षेत्रमा पदमार्ग र पर्यटन पूर्वाधार निर्माण गरिएको थियो ।

अल्पकालीन रोजगारी तथा आय आर्जनको अवसरहरु सिर्जना गर्ने गरी जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी) सञ्चालनमा ल्याएको थियो । जिविकोपार्जन पुनःत्थानका लागि दिगो पर्यटन परियोजना र इलाम नगरपालिकासँग ३१ भदौ २०७९ मा सम्झौता भई १० मंसिरमा सम्पन्न गर्ने योजना रहेको थियो ।

पाटेनागी कालपोखरी चोयाटार माईपोखरी पदमार्ग निर्माण सम्पन्न गर्ने गरी त्रिपक्षीय सम्झौता भई कार्यान्यवयन भएको आयोजनाको काम अहिले निर्माण सम्पन्न भई पूर्ण रुपमा सञ्चालनमा आएको छ । पाटेनागी कालपोखरी चोयाटार माईपोखरी पदमार्ग निर्माणको इलाम नगरपालिका ३ मा गरिएको छ ।

२० लाख ९४ हजारमा सम्झौता भएको आयोजनामा जिविकोपार्जन पुनःउत्थानका लागि दिगो पर्यटन परियोजनाले ९ लाख ५२ हजार र इलाम नगरपालिकाले ११ लाख ४२ हजार लगानी गरेका छन् । आयोजनाबाट १ स्थानमा विश्रामस्थल निर्माण र १ हजार ६० मिटर लम्बाई र १ दशमलव ५ मिटरको ढुङ्गा सोलिङको पदमार्ग निर्माण गरिएको इलाम नगर प्रमुख केदार थापाले बताए ।

यो परियोजनाबाट १ हजार ५ सय ३१ जनाले प्रत्यक्ष रोजगारी पाएका छन् । पदमार्ग, पर्यटक बस्ने विश्रामस्थल र सार्वजनीक शौचालय निर्माणले कुइभिर पाटेनागी पुग्ने पर्यटकलाई धेरै सुविधा भएको पाटेनागी पर्यटन क्षेत्रका देवेन्द्र मुखियाले बताए ।

यहाँबाट उत्तरमा दर्जनौं हिमशृंखला, टाढा–टाढाका गाउँ, सहर र वरपरका पर्यटकीयस्थल देखिन्छन् । हजारौँ रोपनीको खुला भूभाग रहेकाले पदमार्ग निर्माणपछि यहाँ रमाउन आउने पर्यटकको संख्या बढिरहेको हो । गुराँस, कटुस, क्यामुना, झिगाने, चुथ्रो, फलामे र अँगेरीका बुट्यान रहेको पाटेनागीको धेरै भाग चाहिँ खुला चौर छ । पाटेनागी पुग्ने बेला भेटिने पहिलो गन्तव्य र आकर्षकस्थल हो कुइभिर हो ।

कुइभिर सयौँ मिटर अग्लो चट्टानी भिर रहेको छ । कुइभिरबाट शुरु भएको पदमार्ग पाटेनागीको अग्लो स्थान लौहाकिलसम्म जोडिएको छ । कुइभिर पल्लोपट्टिको डाँडाबाट शिरदेखि पुछारसम्म नियाल्दा यो भिर हेर्न निकै आनन्द आउने गरेको र कुइभिरको डाँडासम्म पदमार्ग जोडिएकाले झनै सजिलो भएको इलाम नगरपालिका ३ का वडाध्यक्ष हेम बहादूर सुनुवारले बताए ।

पर्यटनको अथाह सम्भावना भएर पनि प्रचारप्रसार र उपयुक्त पूर्वाधार निर्माण अभावमा यो ओझेलिएको पाटेनागी कुइभिर क्षेत्रमा पर्यटन पूर्वाधार निर्माणले झनै सहज बनाएको नगरपालिका प्रवक्ता नुतनदेव दुलालले बताए ।

इलाम नगरपालिकाले कुइभिर कटेर उकालो लागेपछि करिब ५० मिटर पर देउराली माथिसम्म सडक पुर्याइएको छ । यहाँसम्म हिउँदमा गाडी, मोटरसाइकल पुग्छन् । यहाँबाट चाहिँ करिब आधा घण्टा पैदल गएपछि पर्यटकीय डाँडो लोहाकिल पुगिन्छ र त्यहाँबाट करिब २० मिनेटमा पाटेनागी डाँडो पुग्न सकिन्छ ।

लोहाकिल र पाटेनागी डाँडाबाट जता हेर्यो, त्यतै मनमोहक हिमश्रङ्खला देखिन्छ । ३ हजार ६ मिटर उचाईको लोहाकिल डाँडाबाट इलाम, पाँचथर, ताप्लेजुङसहित पूर्वी पहाडका दर्जनौँ ठाउँ नजिकै देखिन्छन् । मौसम खुलेका बेला उहाँबाट दर्जनौं हिमाल र हिमशृंखलामात्र होइन, विश्वको सर्वाेच्च शिखरसमेत देखिने गरेको सूर्योदय नगर उद्योग बाणिज्य संघका सचिव सुजन तिमसिनाले बताए ।

पाटेनागी र लोहाकिलबाट पारिपट्टि पौवाभञ्ज्याङ, सिलौटी र सुकेपोखरीजस्ता पर्यटकीयस्थलसमेत समेत देखिने तिमसिनाले बताए । इलाम र पाँचथरको सीमामा पर्ने पाटेनागी क्षेत्रको पर्यटन प्रवद्र्धन गर्न दुवै जिल्लाले पूर्वाधार निर्माणको काम गर्दै आएका छन् ।

इलाम नगरपालिकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा पाटेनागीको पूर्वाधार विकास गर्दै आएको नगर उपप्रमुख विष्णु दाहालले बताइन् । खुला चरिचरनका रूपमा रहेको पाटेनागी संरक्षणका लागि अहिले वन्यजन्तु, बोटबिरुवा र जडीबुटी संरक्षणको प्रयास भइरहेको पाटेनागी पर्यटन समिति अध्यक्ष डिल्लीप्रसाद राईले बताए ।

यहाँ दुर्लभ रेडपान्डा, बाँदर, बँदेल, थार, घोरल, भालुलगायत वन्यजन्तु पाइने उनले बताए । पर्यटककै लागि अलि तलका गाउँमा होमस्टेको व्यवस्था गर्ने तयारी हुँदैछ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार