माङसेबुङ २ को वडास्तरीय सडक मर्मतका लागि उपभोक्ता समिति गठन, अख्तियारको चासो

माङसेबुङ : माङसेबुङ गाउँपालिका वडा नम्बर २ को वडास्तीय सडक मर्मतका लागि उपभोक्ता समिति गठन भएको छ ।

८ मंसिरमा वडा कार्यालयमा भएको तेस्रो पटकको सरोकारवालाहरुको आम भेलाबाट सात सदस्यीय उपभोक्ता समिति गठन भएको हो ।

समितिका अध्यक्षमा कुशल इदिङ्गो लिम्बू, सचिवमा सन्देश पोर्तेल र कोषाध्यक्षमा तुलसा खुलाल चयन भएका छन् ।

सदस्यहरुमा गोपाल राई, प्रेम कार्की, देवी कार्की र पुष्पा राई चयन भएका छन् ।

माङसेबुङ गाउँपालिका वडा नम्बर २ को चालु आर्थिक वर्ष २०७९।०८० को योजना अन्तरगत वडा स्तरीय सडक मर्मत शीर्षकमा विनियोजित बजेट कार्यान्वयनका लागि उपभोक्ता समिति गठन भएको हो ।

सो योजनाका लागि सात लाख रुपैयाँ बजेट विनियोजन भएको छ । समितिले सात लाख रुपैयाँबाट वडाका विभिन्न सडकहरु मर्मत गर्नेछ ।

उपभोक्ता समिति गठनका लागि दुई पटकको आम भेला बोलाइएपनि अध्यक्ष पदमा सहमति हुन नसकेपछि स्थगित भएको थियो । गत १२ असोज र २७ कात्तिकमा भएको भेला स्थगित भएको थियो ।

यसअघि सोही योजनाबाट भन्दै वडाध्यक्ष कृष्णबहादुर बस्नेतले उपभोक्ता समिति नै गठन नगरी आफैं स्काभेटरको व्यवस्थापन गरी काम थालेपछि व्यापक विरोध आएको थियो । स्थानीयले विरोध जनाएपछि वडाअध्यक्ष बस्नेतद्वारा उपभोक्ता समिति नै नबनाई योजनाको काम शीर्षकको समाचार १४ कात्तिकमा नयाँ बुलन्द अनलाइन र सौर्य अनलाइनमा तथा १५ कात्तिकको सौर्य राष्ट्रिय दैनिकमा समाचार प्रकाशन भएको थियो । सो समाचार प्रकाशनपछि वडाध्यक्ष बस्नेतले रातारात किर्ते माईन्युट खडा गरी फर्जी उपभोक्ता समिति गठन गरेको कागज तयार गरेका थिए ।

वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न पुरानै मितिको फर्जी आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका थिए । १५ कात्तिकमा वडा कार्यालयमा आएका सेवाग्राहीलाई १३ असोजको मितिको आम भेलाको माइन्युट खडा गरी हस्ताक्षर गराएका थिए ।

किर्त माइन्युट खडम गरेपछि वडाध्यक्ष बस्नेतको अर्को कर्तुत : उपभोक्ता समिति गठनको किर्ते माइन्युट खडा शीर्षकको समाचार कात्तिकमा नयाँ बुलन्द अनलाइन र सौर्य अनलाइन एवम् १६ कात्तिको सौर्य राष्ट्रिय दैनिकमा प्रकाशन भएपछि वडाध्यक्ष बस्नेतले आफ्नो गल्ती स्वीकार गर्दै सच्याउन तयार भए र दोस्रो भेला  कात्तिकमा बोलाए ।

२७ कात्तिकको सरोकारवालाहरुको दोस्रो भेलामा समेत उपभोक्ता समिति गठन हुन नसकेपछि वडाध्यक्ष बस्नेतले सो भेला स्थगन गर्दै पुन: ८ मंसिरमा तेस्रोपटक भेला बोलाएका थिए । सो भेलाबाट भने समिति गठन भएको हो ।

यसैबीच उपभोक्ता समिति गठन नै नभई काम भएको र किर्ते कागजात तयार सम्बन्धी समाचार प्रकाशन भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले समेत चासो राखेको छ । यस सम्बन्धी आयोगले गाउँपालिकालाई पत्राचार समेत गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार