इलाम : इलामको माङसेबुङ गाउँपालिका वडा नम्बर २ का वडा अध्यक्ष कृष्णबहादुर बस्नेतको एकपछि अर्को कर्तुत सार्वजनिक भएको छ ।
उपभोक्ता समिति नै नबनाई एक योजनाको काम संचालन गरेका बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न किर्ते माईन्युट खडा गरेको फेला परेको छ । पुरानै मितिको फर्जी भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेको पाईएको हो ।
११ असोजमा पहिलो पटकको आम उपभोक्ताहरुको भेलाले समिति गठन गर्न नकसेपछि अर्को पटक भेला आयोजना गर्ने गरी भेला स्थगित भएको थियो । तर वडाअध्यक्ष बस्नेतले त्यसपछि कुनैपनि भेला आयोजना त गरेनन् नै, आफैं स्काभेटर व्यवस्थापन गरेर एक स्थानीयलाई काम गर्न लगाए ।
स्थानीयबासीबाट उपोभोक्ता समिति गठन नै नगरी काम संचालन भएको गुनासो आएपछि सो सम्बन्धीको समाचार सोमबार नयाँ बुलन्दमा प्रकाशन भएको थियो ।
सो समाचार प्रकाशन भएपछि वडा अध्यक्ष बस्नेतले आफ्नो गल्ती ढाकछोप गर्न आम भेला र उपभोक्ता समिति गठनको किर्ते माईन्युट खडा गरेका हुन् । वडा अध्यक्ष बस्नेतले १३ असोजमा माङसेबुङ गाउँपालिका २ स्थित गाउँपालिका सभाहलमा आम भेला बोलाइएको माइन्युट खडा गरेका छन् ।
सो भेलाले उनै बस्नेतले काम गर्न जिम्मा दिएको एक स्थानीय कुशल इदिङ्गो लिम्बूलाई उपभोक्ता समितिको अध्यक्ष चयन गरेको माइन्युट खडा गरेका छन् । जबकी उनै लिम्बूले सोमबार आफू अध्यक्षको दावेदार भएपनि समिति भने गठन भइनसकेको बताइसकेका छन् । उनले वडाअध्यक्ष बस्नेतले उपभोक्ता समिति गठन पछि गर्ने भन्दै उनैले स्काभेटरको व्यवस्थापन गरी आफूलाई काम गर्ने जिम्मा मात्र दिएको यसअघि नै बताइसकेका छन् ।
वडा अध्यक्ष बस्नेतले पनि उपभोक्ता समितिका अध्यक्ष पदमा धेरैजनाको आकांक्षा भएकाले सहमति नभएपछि समिति पछि गठन गर्नेगरी काम थालिएको वडा अध्यक्ष बस्नेतले यसअघि नै बताइसकेका छन् । तर उनले आफ्नै भनाई विपरित रातारात किर्ते माइन्युट खडा गरेका हुन् ।
यसरी किर्ते गरी तयार गरिएको माइन्युट वडा कार्यालयबाटै प्राप्त भएको छ । यस सम्बन्धी बुझ्न वडा अध्यक्ष बस्नेतलाई ९८६२७४८००८ मा टेलिफोन सम्पर्क गर्दा फोन उठेन ।
माङसेबुङ गाउँपालिकाले नेपालको संविधान र स्थानीय सरकार संचालन ऐन, २०७४ ले निर्दिष्ट गरेको स्थानीय तहको अधिकार क्षेत्र भित्रको विकास निर्माण सम्बन्धी कार्य संचालनका लागि ‘माङसेबुङ गाउँपालिकाको उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’
९ बैशाख २०७५ को कार्यपालिका बैठकले स्वीकृत गरि लागू गरेको छ ।
उपभोक्ता समिती गठन, परिचालन तथा व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७४’ को परिच्छेद २ दफा ४ उपदफा १ (क) मा आयोजनाबाट प्रत्यक्ष लाभान्वित उपभोक्ताहरुको आम भेलाबाट अधिकत सहभागितामा सम्बन्धित आयोजनास्थलमा ७ देखि ११ सदस्यीय उपभोक्ता समिति गठन गर्नुपर्ने प्रावधान छ ।
वडा अध्यक्ष बस्नेतले स्थानीय कुशल इदिङ्गो लिम्बूलाई एक्साभेटर उपलब्ध गराएर सडक सरसफाईको काम गर्ने गरि जिम्मेवारी दिएका हुन् । औपचारिक रुपमा समिती गठन नभएपनि पछि मिलाउला भन्दै इदिङ्गोलाई काम गर्ने दिम्मा दिएका हुन् ।
वडा नम्बर २ को ‘वडास्तरीय सडक मर्मत’ का लागि उपभोक्ता समिति गठन नगरी सिधै काम गर्न थालिएको थियो । २ नम्बर वडाका विभिन्न सडकहरु मर्मतका लागि चालू आर्थिक वर्ष २०७९/०८० का लागि वडा सिलिङतर्फको सात लाख रुपैयाँको योजनाको काम उपभोक्ता समिति गठन नै नगरी वडा अध्यक्षको ठाडो आदेशमा काम थालिएको थियो ।
वडा अध्यक्ष बस्नेतले स्थानीय उपभोक्ताहरुलाई जानकारी नै नदिई योजनाको काम गर्न थालेका थिए र
उनले आफू अनुकुल केहि व्यक्तिहरुसँगको मिलेमतोमा समिति नवनाई काम गरेको स्थानीय उपभोक्ताहरुको दाबी छ ।
कार्यालयलाई कुनै जानकारी छैन : प्रप्रअ चैहान
यस विषयमा माङसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानसँग बुझ्दा उनले यस विषयमा कार्यालयमा कुनै जानकारी नआएको बताए । ‘बाटो वडा अध्यक्ष वा कुनै व्यक्तिको नीजि लगानीमा बाटो खनिएको पनि हुनसक्छ । आजसम्म उपभोक्ता समिति गठन र काम थालिएको बारे कार्यालयमा कुनै आधिकरिक जानकारी छैन’ प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार चौहानले भने ।