खड्काको समाजसेवा नै नेम्बाङलाई भारी

  नयाँ बुलन्द
420 Shares


इलाम : एमाले उपाध्यक्ष एवं पूर्वसभामुख सुवास नेम्बाङले सागमा पदक विजेता इलामे खेलाडीलाई सम्मान कार्यक्रममा भनेका थिए- ‘समाजसेवा गर्ने डम्बर खड्का र इलाममा उम्मेदवार हुने डम्बर खड्का एउटै हुन् त भनेर मैले सोधेको थिएँ । त्यही डम्बर खड्का रहेछन् । यो समाजसेवा बढ्दै जाँदा त के हो के हो नि ?’
त्यस बेला खेलाडीलाई पुरस्कार रकम कांग्रेस नेतासमेत रहेका समाजसेवी खड्काले प्रदान गरेका थिए । उक्त कार्यक्रम इलाम विकास समाजले काठमाडौं कमलादीस्थित प्रज्ञा भवनमा आयोजना गरेको थियो । नेता खड्का समाजसेवासँगै राजनीतिमा क्रियाशील रहँदै आएका छन् । उनीप्रति नेम्बाङको त्यस बेलाको अभिव्यक्ति अहिले चुनावमा आएर सही सावित हुने अवस्था देखिएको छ । अब त ‘के हो के हो’ होइन नेम्बाङको विजययात्रा नै रोकिने अवस्थामा पुगेको छ ।
समाजसेवी खड्का सत्ता गठबन्धनबाट प्रतिनिधिसभा सदस्यतर्फ इलाम २ मा नेम्बाङविरुद्ध खडा भएका छन् । उनको उम्मेदवारी नेम्बाङलाई भारी चुनौती बनेको छ । हार्ने स्थिति बनेपछि यत्रो वर्ष नपुगेका कतिपय ठाउँमा भोट मागेका छन् । तर, स्थानीय चुनावमा वडाध्यक्षले पाएको मतका आधारमा खड्का निकै बलियो अवस्थामा देखिएका छन् । गठबन्धनकै मतले पनि खड्काको सहज जित हुनेछ । त्यसमाथि युवा नेता भनेर ‘भरोसा’ गर्ने युवाको साथ बढेको गठबन्धनका नेता बताउँछन् ।
नेम्बाङले भने २०५६ सालदेखि लगातार जितेर राजनीतिक सत्तामा रहे पनि आफ्नो क्षेत्रको विकासमा ध्यान नदिएको गुनासो अधिकांश मतदाताले गरिरहेका छन् । पटक-पटक आश्वासन मात्रै दिएको, आफ्नो क्षेत्रका नागरिकको समस्याको सुनुवाइ नगरेको आमगुनासो छ । यस्तै, चुनाव जितेपछि गाउँ नआएको गुनासो स्थानीयवासीले गर्दै आएका छन् । त्यही कारण मतदाताको रोजाइमा खड्का पर्ने देखिएको छ ।
नेम्बाङले भने विगतमा इलामको कणर्ाली भनिने क्षेत्र नम्बर २ को विकास आफ्नो पहलमा भएको दाबी गर्दै आएका छन् । तर, पश्चिमी इलामको मेरुदण्डका रुपमा रहेको फाल्गुनन्द मार्ग (दमक-चिसोपानी-रवि सडक) निर्माण भएको दुई दशक नाघे पनि बाह्रै मास गाडी चल्न सक्ने बनेको छैन । राँके-रवि-भेंडेटार सडक पनि लथालिंग नै छ । उक्त सडक कांग्रेस नेता डा. रामशरण महत अर्थमन्त्री भएका बेला सरकारको बहुवर्षीय योजनामा परेको थियो ।
नेम्बाङले चार वर्षअघि रवि महाभारा समाजको कार्यक्रममा यो बाटो तीन वर्षभित्र कालोपत्र बन्ने बताए पनि अझै अलपत्र छ । जबकि उनको पार्टी एमाले अध्यक्ष केपी शर्मा ओलीले करिब दुईतिहाइको बहुमत सरकार चलाए पनि उक्त बाटोले प्राथमिकता पाएन । पाँचथरकै बसन्तकुमार नेम्बाङ भौतिक पूर्वाधार तथा यातायातमन्त्री थिए । तर, त्यस बेला काम नगरेको अपजस पूर्वसभामुख नेम्बाङले शेरबहादुर देउवा नेतृत्वको सरकारलाई लगाउँदै भोट मागे ।
त्यस्तै, महागुरु फाल्गुनन्दलाई राष्ट्रिय विभूति घोषणा पनि आफ्नो पहलमा गरेको भन्दै घरदैलो गरे । तर, फाल्गुनन्दलाई माधवकुमार नेपाल नेतृत्वको सरकारले विभूति घोषणा गरेको हो । त्यसबेला कांग्रेस नेता डा. मीनेन्द्रप्रसाद रिजाल संस्कृतिमन्त्री थिए । नेता रिजालले चुलाचुलीमा आयोजित कार्यक्रममा यो तथ्य खोल्दै दमकको सभागृहको नामबाट ओलीले फाल्गुनन्दको नाम हटाउँदा नेम्बाङ चुप लागेकामा असन्तुष्टि जनाए ।
तर, नेम्बाङले अनेक बहाना बनाउँदै मत मागे पनि रोजाइमा खड्का नै रहेको स्थानीयवासी बताउँछन् । खड्काले गरेको समाजसेवा, विकासका लागि नेता फेर्ने मतदाताको इच्छाले नेम्बाङलाई चुनाव जित्न सहज नरहेको जनाइएको छ ।
त्यसो त कोरोनाकालमा नै खड्कालाई समाजसेवा गर्न नदिने षड्यन्त्रसमेत भएको थियो । काठमाडौंमा अलपत्र परेका इलामेलाई खड्काले घर लैजान थालेपछि स्थानीय जनप्रतिनिधि मिलेर कसैलाई पनि जिल्ला नल्याउने निणर्य गरेका थिए । जसमा अधिकांश जनप्रतिनिधि एमालेकै थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार