‘लिम्बुवानको कुरा गरें भने राष्ट्रद्रोही ठहरिन्छु’

  नयाँ बुलन्द  138 पटक हेरिएको

पूर्व मेचीदेखि पश्चिम कालीसम्मको एउटै बुझाइ र व्याख्या हुनुपर्छ राष्ट्रियताको– एउटा कार्यालयमा दैनिक कामकारबाहीजति हुन्छ, त्योभन्दा बढी देशमा केही भएको छैन

२०१७ सालमा राजा महेन्द्रले निर्वाचित सरकार अपदस्थ गरेर पञ्चायती शासन सुरू गरेपछि विरोधमा उत्रिएका विद्यार्थीको हूलमा थिए, कृष्णविक्रम नेम्बाङ पनि । पाँचथरको पौवासारतापमा जन्मेका उनी त्यसबेला दार्जिलिङको सेन्ट रोबर्ट्समा पढ्दै थिए । त्यहींबाट राजनीतिक अभियन्ता बनेका उनी पछि बीपी कोइरालाको संगतमा पुगेपछि कांग्रेसी प्रचारक, विचारक बनेर निस्किए ।

कांग्रेसमा टुटफुट र गुट स्वार्थ हावी भएपछि राजनीति त्यागेर दुई दशकयता उनी इतिहासको सोध–अनुसन्धान तथा लेखनमा सक्रिय छन् । वेदवेदाङ्गका अध्येतासमेत रहेका नेम्बाङका ‘सत्र सालको क्रान्तिको सम्झना’, ‘स्मृतिमा बीपी आन्दोलन’, ‘इतिहास पहिचान’ लगायतका कृति प्रकाशित छन् । प्रदेश १ को समाज, राजनीति, पहिचान र इतिहासको सन्दर्भमा ८१ वर्षीय इतिहासविद् कृष्णविक्रम नेम्बाङसँग देवेन्द्र भट्टराईले गरेको कुराकानी :

मुलुकको सामाजिक–राजनीतिक मुद्दामा जोडिएर आधा शताब्दीयता संघर्ष, जेलनेल व्यहोर्दै आउनुभएको अग्रज हुनुहुन्छ । मुलुकको आजको अवस्थालाई देख्दा कस्तो लाग्छ ?

मलाई त केही परिवर्तन भएजस्तो लाग्दैन । २०१७ सालदेखि म राजनीतिमा छु, यसबीच राजनीतिलाई मैले राम्रोसँग हेरेको छु, अनुभव गरेको छु । २०१७ को राजनीतिक ‘कु’ पछि म पनि सशस्त्र आन्दोलनमा होमिएँ, केही वर्ष धनकुटा जेलमा बसें । परिवर्तनका लागि यसरी लागेको थिएँ, तर आजसम्म पनि तात्त्विक अर्थमा परिवर्तन केही भएको छैन  ।

एउटा कार्यालय सञ्चालन गर्दा दैनिक कामकारबाही जे जति हुन्छ, त्योभन्दा बढी देशमा केही भएको छैन । केही परिवर्तन हुनु भनेको त फड्को मार्नुपर्‍यो नि । परिवर्तन भनेको जम्प गर्नु हो, ताते गरिरहनु होइन । यही गतिमा हजार वर्ष कुरिबस्यो भने हाम्रैमा पनि एरोप्लेन बन्ला नि, त्यो अर्कै कुरा हो ।

२०१५/१६ सालमै दार्जिलिङ गएर पढ्ने–बस्ने अवसर (हैसियत) रहेका कारण पनि तपाईंलाई ‘परिवर्तनको जम्प गराइ’ ख्याल भएको हो कि ?

त्यसो त भारतमा पनि अंग्रेजले आएर विकास, नियम र थिति नबसालिदिएको भए आज भारतको के हाल हुन्थ्यो होला, भन्न सकिन्न । ती अंग्रेजले भारतमा ‘लेबर कल्चर’ नबसालिदिएको भए आज के हुन्थ्यो होला ? हो, त्यसबेला पाँचथरबाट दार्जिलिङ पुग्न पाउँदा मात्रै पनि अँध्यारो संसारबाट एकैचोटि उज्यालोमा छिरेजस्तो अनुभूति हुन्थ्यो ।

गाउँबाट मसहित दाइ तिलविक्रम नेम्बाङ, अमरसहित ७ जना दार्जिलिङ पढ्थ्यौं । त्यहीबेला नेपालमा २०१७ सालको घटना भएको थियो । केही वर्षदेखि दार्जिलिङ बसेको, भारतीय स्वतन्त्रतालाई देखेको र परिवर्तन बोध गरेको क्षणमा नेपालमा केही बदलाव आउनै लाग्दा राजा महेन्द्रले त्यो गतिमा ‘ब्रेक’ लगाइदिएजस्तो अनुभूत भयो । नेपाल स्टुडेन्ट फेडरेसन (पछि युनियन) मार्फत विद्रोहमा लागियो ।

तपाईंहरूले निर्दलीयविरुद्ध थालेको संघर्ष हुँदै देशले आज लोकतन्त्र, गणतन्त्रसम्मको फड्को मारेको छ । के यो परिवर्तन होइन र ?

तपाईंले सोध्नुभएको जिज्ञासामा ‘हो कि होइन’ भनेर मात्रै जवाफ दिन सकिन्छ, अन्तर्यमा जान सकिन्न । मसहितको पुस्ताले राजा ठीक होइन, निर्दल ठीक होइन भनेर आन्दोलन गर्‍यो । पछि निर्दल पनि गयो, राजा पनि गए । कांग्रेस आयो, एमाले आयो, माओवादी पनि आयो । आखिर के ठीक भयो त ? कुन चाहिँ काम लाग्यो त ? यसकारण हामी यति भुइँमा छौं कि हामी यो लोकका लागि होइन, परलोकका लागि जोड दिन्छौं । पश्चिमाहरू परलोक होइन, यही लोकका लागि जोड दिन्छन् । हाम्रो मानसिकता विकास गरिहाल्ने खालको छैन, किनभने हामी सजिलो कुरा मात्रै खोज्छौं । अप्ठ्यारो फड्को मारिहाल्नेभन्दा सजिलो तातेमै खुसी छौं हामी ।

यसो भनिरहँदा हामीमा देखाउन मिल्ने (खोक्न मिल्ने) स्वाभिमान त छ नि ?

यो बढो अप्ठ्यारो विषय हो । केही भनौं भने गाली खाइन्छ मरिन्जेल । आखिरमा नेपाल किन बाँच्यो ? अंग्रेजले आफ्नो साम्राज्यमा नेपाल, भुटान, सिक्किम (तत्कालीन) वा अफगानिस्तानलाई किन आफूभित्र लिएन होला ? यहाँ हामीलाई विद्यालयका किताबमा पढाएको जस्तो इतिहासले सबै कुरा हुँदैन, हामीलाई इतिहासै गलत पढाइएको छ । यहाँ पढाएजस्तो गोर्खाली–बहादुरको एकोहोरो कथा होइन यो । नेपालको इतिहासभन्दा गलत लेखिएको दुनियाँको कुनै इतिहास छैन, सबै गलत छ ।

अंग्रेजले डराएर, नसकेर वा हार खाएर नेपाल नलिएको होइन । अंग्रेज बढो दूरदर्शी थिए, उनीहरू त्यसबेलाको रस्सासँग दुस्मनी मोल्नै चाहँदैनथे । त्यही भएर यताको हिमाली बेल्ट (नेपालदेखि अफगानिस्तानसम्म) छुनै चाहेनन् । इतिहासमा प्रशस्तै प्रमाण र आधार रहेको ‘नेपाल रसियाका कारण बाँच्यो’ भनेर भन्नै नसकिने स्थिति छ यहाँ । यही कारण भनेको हुँ, हामीकहाँ पढ्ने–पढाइने इतिहासै गलत छ ।

बरु चारकोसे झाडीका कारण अंग्रेज सेना यता (नेपाल केन्द्र) मा आउन सकेन भनेर आत्मरतिको इतिहास पढाइन्छ । यही ‘राष्ट्रियता’का कारण पनि हाम्रो इतिहास छोपिएको छ, यो अर्को यथार्थ हो । जबकि १४०६ मै बंगालदेखि सेना आएर काठमाडौंमै त्यत्रो विध्वंस गरेको थियो, पश्चिमका खस, पाल्पाली सेना र मकवानपुरका सेनहरू यहाँ आएर कत्रो आपत् खेलाएका थिए । चारकोसे र अरू कुरा त्यसबेला थिएनन् कि ?

इतिहासको यत्रो अपव्याख्या हुँदा पनि किन यसमाथि तर्कवितर्क गरिन्न त ?

इतिहास भनेको राष्ट्रनिर्माण गर्ने कुरा हो नि । स्वाभिमान भनेको यथार्थमा राष्ट्रियता हो, राष्ट्रियता र स्वाभिमान एकअर्कामा परिपूरक हुन् । मेरा गुरु बीपी कोइरालाले निकै पटक भन्नु र लेख्नुभएको छ— ‘राष्ट्रियता भनेको भुइँ मात्रै होइन, मान्छे पनि हो । मान्छेसहितको माटो हो राष्ट्रियता ।’ तर, हामीकहाँ कोही बेला माटोलाई राष्ट्रियता भनिन्छ, कोही बेला मान्छेलाई । दुवैलाई जोडेर एकै पटकमा भनिँदैन ।

‘राष्ट्रियता’ भनेर आ–आफ्नै व्याख्या छ, आफ्नै डम्फु पिटाइ छ । ‘राष्ट्रियता’ म एउटा व्यक्तिले होइन, राष्ट्रले व्याख्या गर्ने विषय हो । पूर्व मेचीदेखि पश्चिम कालीसम्मको एउटै बुझाइ र व्याख्या हुनुपर्छ राष्ट्रियताको । हाम्रो संस्कृतिबाट निर्माण हुनुपर्ने साझा आचरण हो ‘राष्ट्रियता’ । तर हामीकहाँ विचित्र छ । यथार्थ भन्यो र बोल्यो भने हाम्रो देशमा अराष्ट्रिय होइन्छ, जबकि इतिहास भनेकै यथार्थ कुरा हो ।

अर्को यथार्थ भनेको जातजाति, भेषभूषा, भाषा मात्रै राष्ट्रियता हुँदै होइन । दौरा–सुरुवाल लगाउने राष्ट्रवादी, बख्खु लगाउने अराष्ट्रिय हुन्छ ? अथवा, मधेसको धोती–गम्छा बेर्ने वा उपत्यकामा हाकुपटासी लगाउने अराष्ट्रवादी ? हाम्रो राष्ट्रियतामा सबै कुरा समेटिनुपर्छ, एउटा ‘मेल्टिङ–पट’ जहाँ सबै घुलमिल हुन सकियोस् । एउटा ‘मेल्टिङ–पट’ जहाँबाट हामी छुट्टिन नसकौं । राष्ट्र र राष्ट्रियताका कुरामा पहिलो सर्त रहनुपर्छ– म नेपाली हुँ । त्यसपछि मात्रै म लिम्बू हो ।

हामीकहाँ धर्मका नाममा पनि राष्ट्रियता खोज्न र केलाउन थालिएको छ नि ?

यही त आश्चर्य छ । एउटा रामको मूर्ति बनाएर वा ठोरी र अयोध्याको ‘सेन्टिमेन्ट’ जोडेर राष्ट्रियता कसरी कसिलो बन्ला र ? यहाँ त बुद्ध, क्राइस्टमार्गी मात्रै होइन, जैन र सिखहरू पनि छन् । कैयौं सनातनी धर्म र भगवान्हरू छन् । मैले ‘मेल्टिङ–पट’ को कल्पना त्यसै गरेको होइन नि । यत्ति हो कि, अतिवाद केहीमा पनि सह्य हुन्न । धर्म वा जाति अथवा भाषामा पनि अतिवाद नहोस्–नरहोस् भन्ने मेरो कामना हो ।

फेरि निकट बन्ने ध्याउन्नमा भगवान् बुद्धकै कुरा गरौं न । ‘बुद्ध वाज बोर्न इन नेपाल’ भनेर खुलामञ्चमा चर्का नारा लगाएर वा माइक्रोबस र ट्रकका पछाडि नारा लेखाएर केही हुन्छ र ? इतिहास नबुझेपछि र नपढेपछि हामीले यो बेहाल बेहोरिरहेका छौं । जब भारतीय प्रधानन्त्री नरेन्द्र मोदीले हाम्रो संसद्मा आएर ‘ये भगवान् बुद्धका पावन जन्मस्थल है’ भनेर बोलिदिनासाथै इतिहासको त्यो खण्ड पुष्टि भइगयो कि बुद्ध नेपालमै जन्मेका थिए भनेर । अनि हाम्रा सांसद पनि मोदीको लाहाछाप भाषणपछि आँखा चिम्लेर टेबल ठोकिरहेका थिए । कस्तो लज्जास्पद । २६ सय वर्षअघि जुनबेला बुद्ध जन्मिए– त्यो बेला न नेपाल थियो, न आजको भारत ।

भारतवर्षमा असंख्य राज्य–रजौटा थिए, त्यसमध्ये लुम्बिनीमा त मगध राज्य थियो । इतिहासको यो पाटोलाई किन छोपिरहने, किन गलत इतिहास पढाइरहने ? आजको नेपालभित्र पर्ने लुम्बिनीमा उनी जन्मिए मात्रै, अरू सबै जीवन, कर्म, मोक्ष त दक्षिणै–दक्षिणमा रहिरह्यो । मैले यति भनेपछि मलाई पनि ‘अराष्ट्रिय तत्त्व’ मानिन सक्छ, मलाई थाहा छ । म हाम्रो इतिहासमा असहमत र असन्तुष्ट हुनाको कारणमध्ये यो पनि हो ।

हाम्रो खण्डित र अपूरो इतिहासको सन्दर्भ निस्किएको छ । के कस्तो हुनुपर्थ्यो इतिहास ?

एउटा कुरा ख्याल गर्नुभएको छ, यहाँ नेपालको इतिहास भनेर काठमाडौं उपत्यकाको मात्रै पढाइँदै छ । गोपाल, महिषपाल, किरात, लिच्छवि, मल्ल, राणा वा शाहका विजय पराक्रमका कथाहरू । मैले किताबमा न पूर्वको इतिहास पढेको छु, न पश्चिमको । हाम्रो इतिहासमा खोइ समग्र नेपाल ? खोइ लिम्बूवान ?

दक्षिणको सिमानामा काँडेतार झैं बसेका तराईका जातजाति, भाषा र संस्कृति–सभ्यताको कुरा कहाँ छ ? नेपालको समग्र इतिहास पढ्न कहाँ पाइएको छ र ? मैले लिम्बूवान, मुन्धुमको हाम्रो आफ्नै इतिहासको कुरा गरें भने म ‘द्रोही’ ठहरिन सक्छु । यी सबै कुराको जरोमा पुग्दा, राजा पृथ्वीनारायण शाहले राज्य विस्तार मात्रै गरेका थिए कि नेपाल एकीकरण ? प्रश्न गर्ने बेला भएको छ । एकीकरण भइदिएको भए त यतिसारो बेमेल, विभेद र खण्डीकृत मानसिकता नहुनुपर्ने थियो ।

यसरी समाज, राजनीति, इतिहास सबैतिर निराशा र समस्या मात्रै देख्नुभयो नि । आशाका कुरा केही छैनन् ?

छन् नि । सबैभन्दा ठूलो आशा भनेको कोही नेपाली अल्छे छैनन् । नेपालीको आचारण र मानसिकता कहिल्यै खराब देखिएको छैन । बाहिरी दुनियाँजस्तो अन्न–अनाजको संकट वा भोकमरीले मरिजाने अवस्थामा हामी छैनौं । यहाँ त खालि खण्डित–राष्ट्रवाद र विचारहीन नेताका कारण अलिक तलबितल देखिएको हो । यसकारण आशा गर्नैपर्छ, कुनै बेलामा त्यसबेलाका बीपीजस्ता ‘भिजनरी’ नेता यहाँ आउनेछन्, अनि हाम्रो दिन फिर्नेछ । राज्यसंस्था बन्नुपर्‍यो सुरुमा, यो संस्था अहिले र धेरैजसो समय अलमलमै देखिन्छ ।

‘म र मेरो देश’ भन्ने पद्धति बसाल्नै सकेनन् नेताहरूले । इलामको पशुपतिनगरमा सीमा मिचिँदा त्यहींका २/४ स्थानीय विरोधमा उत्रने अनि महाकाली दशगजामा बाटो बन्दा पनि उतैकाले विरोध गरेजस्तो गर्ने ? अरू समग्र देश खोइ त ? राष्ट्रियता भनेको प्रत्येकलाई छुने हुनुपर्‍यो, खण्डित छुवाइको के अर्थ ? के राष्ट्रियता ?

-देवेन्द्र भट्टराई/कान्तिपुर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार