इलामको पर्यटन, अर्थतन्त्र र एकेडेमिक क्षेत्र चलायमान गराउन महोत्सवले सहयोग गर्नेछ : अध्यक्ष थाम्सुहाङ (अन्तरवार्ता)

  नयाँ बुलन्द
518 Shares

इलाम सदरमुकाममा आउँदो चैत १६ र १७ गते तेस्रो संस्कणको इलाम साहित्य महोत्सव’ हुँदैछ । साहित्यको माध्यमबाट जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना हुँदैछ । ‘पर्यटनका लागि साहित्य’ मूल नारासाथ आयोजना हुने महोत्सवको तयारी तीव्र पारिएको आयोजकले जनाएको छ । यसै सन्दर्धमा आयोजक इलाम नगरपालिका नगर साहित्य कला संगीत प्रतिष्ठानका अध्यक्ष प्रकाश थाम्सुहाङसँग नयाँ बुलन्दले गरेको कुराकानीको सम्पादित अंश :

आउँदो चैत १६ र १७ गते इलाम सदरमुकाममा इलाम साहित्य महोत्सव आयोजना गर्दै हुनुहुन्छ । तयारी कहाँ पुग्यो ?

इलाम नगरपालिका नगर साहित्य कला संगीत प्रतिष्ठान र इलाम साहित्य समाजको आयोजना साथै नेपाल प्रज्ञा प्रतिष्ठान र इलाम समाज हङकङको सहकार्यमा ‘पर्यटनका लागि साहित्य’ भन्ने मुल नाराका साथ यही चैत १६ र १७ गते हुन गइरहेको ‘इलाम साहित्य महोत्सव २०८०’ को तयारी तीव्र रुपमा चलिरहेको छ । महोत्सवमा सहभागी हुनुहुने अतिथि ख्यातनाम कवि साहित्यकार, चिन्तक, रङ्गकर्मी, सिनेकर्मी, राजनीतिज्ञ, चित्रकार संरक्षणविद, पर्यापर्यटन विदहरुको टुङ्गो लागिसकेको छ । यतिबेला हामी व्यवस्थापनको पाटोमा काम गरिरहेका छौँ । एक पर्यटकीय सहर इलामको छवि कला संस्कृतिको माध्यमबाट थप सुन्दर बनाउने हाम्रो प्रयत्न हो । अधिकांश त पहिलो पटक इलाम आउँदै हुनुहुन्छ । उहाँहरुको स्वागतमा कुनै कमजोरी नहोस् भन्ने हाम्रो सोच छ । किनकि अतिथि देवो भवः भन्ने मान्यतालाई इलाम नगरले सदैव आत्मासात गरेको छ ।

महोत्सव आयोजना गर्नुको मुख्य उदेश्यहरु के-के हुन् ?

महोत्सव आयोजना गर्नुको मुख्य उदेश्य इलामलाई कला साहित्यको केन्द्र बनाउनु हो । इलाममा कलापर्यटन सम्भव छ है भनेर जमिनमा काम गर्नु हो । अर्को कुरा, महोत्सव मन्थनबाट इलाममा पठन संस्कृतिको विकास, लेख्न चाहने नयाँ पुस्ताहरुको लागि उत्प्रेरणा साथै इलामको रैथाने ज्ञानको प्रसार गर्नु महोत्सवको उदेश्य रहेको छ । इलामको कृषि अर्थतन्त्र, पर्यापर्यटन, जैविक संरक्षण माथि पनि यथेष्ट विर्मश गरि एउटा निश्कर्षमा पुग्ने महोत्सवको उदेश्य रहेको छ ।

महोत्सवमा कहाँ-कहाँबाट कति साहित्यकारहरु सहभागी हुन्छन् ?

इलाम साहित्य महोत्सवमा भारत र ने

पालका गरि करिब

 दुई सय कवि लेखक, कलाकर्मी, राजनीतिज्ञ, संरक्षणविद, सिनेकर्मीको उपस्थिति रहनेछ । सबैभन्दा टाढा बैङ्लोरबाट, आसामबाट, सिक्किम दार्जिलिङबाट र देशै भरीका विभिन्न क्षेत्रका विज्ञहरु इलाम आउँदैछन् । विश्वकै साहित्य महोत्सवको चलन अनुसार इलाम साहित्य महोत्सवमा साहित्यको मात्र चर्चा नगरी विविध विषयमा विमर्श हुनेछ ।

महोत्सव कसरी गर्दै हुनुहुन्छ ? महोत्सवमा के के कार्यक्रम तय गर्नुभएको छ ?

इलाम साहित्य महोत्सव दुई दिन सञ्चालन हुनेछ । पहिलो दिन विभिन्न रैथाने झाँकी सहित प्रभातफेरी हुनेछ । तत्पश्चात गौतम बुद्घ सभागृहमा चैत १६ गते उद्घाटन सत्र बिहानको १० बजे रहेको छ । उद्घाटन नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईबाट हुनेछ । सूत्रवार्ता पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईको रहेको छ । उनले नेपालको संरचनात्मक संकट र दिगो समाधानको बाटोमा आफ्ना सारगर्भित विचार राख्नेछन् । डा. स्वर्णीम वाग्लेले इलामको अर्थतन्त्रमाथि आफ्ना दृष्टिकोण राख्ने छन् । ‘देश निर्माणको जुक्ति’मा विश्वप्रकाश शर्मा, डा. सिके राउत र प्रदीप ज्ञवालीले आआफ्ना जुक्ति प्रस्तुत गर्नेछन् । दश जना कुशल चित्रकारबाट रेडपाण्डा माथि चित्र बन्नेछ । कविता वाचन र गजल वाचन पनि हुनेछ । भारत नेपालका प्रसिद्ध साहित्यकारहरुले समकालिन लेखनको प्रवृति, गति र दिशा माथि विर्मश गर्नेछन् ।

बर्सेनी इलाम साहित्य महोत्सव गर्दैहुनुहुन्छ । महोत्सव सम्पन्न भएपछि समग्र इलाम र  इलामबासीलाई के फाइदा पुग्छ ?

भर्खरैको तथ्याङले इलाम शिक्षा क्षेत्रमा अग्रणी जिल्ला रहेको पुष्टि भएको छ । बर्सेनी साहित्य महोत्सव गर्दा त्यो तथ्याङलाई थप बल पुग्नेछ । निश्चय नै इलाम शिक्षित र बौद्घिकहरुको ठाउँ हो भन्ने बिम्ब निर्माणमा सहयोग पुग्नेछ । अर्को कुरा यस्ता महोत्सव आयोजनाले इलामबासीको सांस्कृतिक चेतनामा थप वृद्धिविकास हुनेछ भन्ने हाम्रो अपेक्षा रहेको छ । कवि भुपिको कविता झैं महोत्सवका पाहुनाहरुले इलामलाई विश्वभर प्रसार गर्नेछन् भन्ने हाम्रो विश्वास छ । चालिसको दशकमा कवि भुपि इलाम नआएको भए उनको सर्वाधिक चर्चित कविता इलामलाई देशभर छर्न मन लाग्यो सृजना नै हुने थिएन । महोत्सवले इलामको विविध क्षेत्रमा तात्कालिक र दिर्घकालीन महत्व राख्नेछ भन्ने हाम्रो विश्वास छ । इलामको पर्यटन, अर्थतन्त्र र एकेडेमिक क्षेत्र आंशिक रुपले सहि चलायमान गराउन इलाम साहित्य महोत्सवले सहयोग गर्नेछ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार