म इलामको रैथाने जंगली चरो हुँ, मतदाताले बाबुको काँधमा बसेको चरो नरोज्लान् : मिलन लिम्बू (अन्तर्वार्ता)

  नयाँ बुलन्द
287 Shares

‘रवि लामिछानेसँग लाइन स्पष्ट भएपछि रास्वपासँग सहकार्य गरेको हुँ’

लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील मिलन लिम्बू केही समय अघिसम्म नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) का केन्द्रीय महासचिव थिए। अहिले उनी वैशाख १५ मा इलाम–२ मा हुन लागेको प्रतिनिधि सभा उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका छन्। आउँदो चुनावी प्रतिस्पर्धालाई उनले कसरी लिएका छन्? मिलन लिम्बूसँग रुपक चौलागाईंले गरेको कुराकानी :

उम्मेदवारी घोषणा त भयो, इलाम–२ मा तपाईंका एजेन्डा के छन्?
हाम्रो मस्तिष्कमा इलाम निकै विकसित छ भन्ने चित्र कोरिएको छ। तर, वास्तविकता त्यो भन्दा बिल्कुल भिन्न छ। इलामेली जनता आजको २१औँ शताब्दीमा पनि सडक, खानेपानी, विद्युत्, शिक्षा र स्वास्थ्यजस्ता आधारभूत आवश्यकताको अभावसँग जुधिरहेका छन्। लामो संघर्षपछि स्थापित गणतन्त्रमा पनि उनीहरू आदिम समाजमै बाँचेको अनुभूत गर्नु आफैमा दुःखद र गणतन्त्रको उपहास हो। र, हामीले भन्न हिच्किचाउनु हुँदैन, त्यसमा इलामको नेतृत्वकर्ता दोषी छन्। इलामेली जनताको जीवनस्तर उठाउनका लागि यहाँको नेतृत्वले विगतमा थोरै पनि काम गरिदिएको भए मजस्ता युवाहरू राजनीतिमा भन्दा आफ्नै पेसा, व्यवसायमा रमाउने थिए।

आममानिसले हामी पत्रकारहरूसँग आशा गरेर आफ्ना केटाकेटीको स्कुल भर्नाका लागि, उपचारका लागि, आफूले पाउनु पर्ने वृद्धभत्ताका लागि, गाउँमा विद्युत् ल्याउनका लागि, एउटा स्वास्थ्य चौकी र प्रहरी चौकीका लागि अनुरोध गर्न थालेपछि म पनि उहाँहरूलाई थोरै भए पनि सघाउन सकिन्छ कि भनेर नेताहरूसँग अनुरोध गर्थेँ। तर, कयौँ अनुरोधका बाबजुद जनताको सामान्य भन्दा सामान्य काम पनि नभएको देखेपछि यो अवस्था फेर्न हामी आफै राजनीतिमा आउनु पर्छ भन्ने महसुस भयो। त्यसैले म राजनीतिमा आउनुको कारण नै जनताका सानाभन्दा साना काम र आवश्यकतामा कसरी सघाउन सकिन्छ भन्ने हो।

म एउटा लिम्बूको छोरो, मलाई धेरै कुरा बनाएर बोल्न आउँदैन। त्यसैले यो निर्वाचनमा मेरा धेरै ठूला महत्वाकांक्षी परियोजनाहरू छैनन्। म मेरो इलामबासीको दुःख कसरी हुन्छ, समाधान गर्न आएको हुँ। त्यसैले अबका दिनहरूमा इलामका मेरा मतदाताहरूले मलाई सरकारी अड्डामा टेबुल ठटाइरहेको देख्नु हुनेछ। अबका दिनहरूमा इलामबासीले मलाई जनताको माग पूरा गराउन हुलमा हिँडिरहेको देख्नु हुनेछ। जनतासँग श्रम गरेर इलामबासीको खानेपानी र सडक बनाउन आफै खटिएको देख्नु हुनेछ। त्यसैले चुनावमा देखाउनका लागि मसँग बनावटी मुद्दा, एजेन्डा छैनन्। अब प्रश्न के हो भने जनताले भोगिरहेको दुःख र अमानवीयता अन्त्य गर्नु आफैमा चुनावी एजेन्डा हो वा होइन?

तपाईंले जित्ने आधार के हो?

अन्य क्षेत्रका मतदाता भन्दा इलामेली मतदाता राजनीतिक रुपमा सचेत, भविष्यप्रति जागरुक र जो–कसैले बाँड्ने भ्रमप्रति सजग हुनुहुन्छ। उहाँहरू आफ्नो भावी पुस्ताको जीवनप्रति पनि त्यति नै निष्ठावान् हुनुहुन्छ। वर्तमानको गोरेटोलाई भविष्यको राजमार्ग बनाउन के गर्नु पर्छ, उहाँहरूलाई राम्रोसँग थाहा छ। विगतदेखि वर्तमानसम्म उहाँहरूले खेपेर आएको घाम–पानी, हुरी–बतासले सालझैँ दरिलो मन लिएर उभिनु भएका उहाँहरूलाई मैले सिकाउनु पर्ने र भन्नु पर्ने केही छैन। उहाँहरू परिवर्तनको वेग महसुस गर्न सक्ने जनता हो। उहाँहरू आफ्नो गाउँघरमा हुर्किएको कटुस र विदेशबाट आयात गरिएको स्ट्रबेरीबारे जानकार हुनुहुन्छ। उहाँहरूको जीवन अनुभव र मेरो युवा जोस नै इलाम र मेरो जितको आधार हो।

इलाम घुम्दा के पाउनु भयो?
म माङ्सेबुङको डाँडा–पाखामा ढिँडो–आटो खाँदै, खोला–खोल्सीको पानी पिउँदै आफ्ना पखेटा हालेर हुर्किएको जंगली चरो हुँ। मलाई इलामेली बगरका ढुङ्गाहरूले पनि चिन्छन् भने तपाईंले ‘इलाम घुम्दा के पाउनु भयो’ भन्ने प्रश्न सोधेको मिलेन।

तथापि, इलामेली जनतालाई विगतका नेतृत्वले दिएको बेइमानीको घाउ, मतको अपमानको पीडा र गणतन्त्रमा पनि परिवारवादको सिकार हुनुको दंश, उहाँहरूको अनुहारबाट पसिनासरी बगिरहेको हुन्छ। र, उहाँहरूको अनुहार हेर्दा यो दुःख निवारण मैले गर्नै पर्छ भन्ने भाव दृढ भएर आउँछ। त्यसैले मलाई के लाग्छ भने जनता मेरा शिक्षक हुन् र म उनीहरूको कर्मी मौरी हुँ।

जनताले के खोजिरहेका छन् जस्तो लाग्छ?
एक शब्दमा भन्दा जनताले परिवर्तन खोजिरहेका छन्। परिवर्तन यो अवस्थाबाट। परिवर्तन आफ्नो मतको अवमूल्यनबाट। परिवर्तन पुराना, थोत्रिएका पार्टीहरूबाट। परिवर्तन आफ्नै जीवनमा।

तपाईं त पहिचान पक्षधर तर पार्टी चाहिँ संघीयता र पहिचानका मामिलामा प्रष्ट खुलेको छैन। तालमेल कसरी भयो त?
प्रदेश १ को नामाकरणपछि हाम्रोमा पहिचानको आन्दोलन चलिरहेको छ। म विगतमा जुन राजनीतिक विचारधारासँग नजिक थिएँ, त्यो पार्टी नै देशैभरि पहिचानको मुद्दाको खास जन्मदाता हो। तसर्थ स्वाभाविक रुपमा विविध पहिचानलाई स्वीकारिनु पर्छ भन्ने मत म आजका दिन पनि राख्छु। मैले स्वतन्त्र उम्मेदवारी घोषणा गर्नु अघिदेखि नै रास्वपा नेतृत्व र मबीच विभिन्न चरणमा छलफल चलिरहेको थियो। रास्वपा नेतृत्वसँग मेरा मूलतः दुइटा प्रश्न थिए। पहिचान र संघीयताका विषयमा तपाईंहरूको अडान र लाइन के हो? बाहिर बहस हुने जसरी तपाईंहरू पहिचान र संघीयताको विपक्षमा हो भने हामीबीच सहकार्य हुन सक्दैन भनेको थिएँ।

त्यसपछि पटक–पटकका वार्ता, छलफल र संवादमा रास्वपाको मूल नेतृत्व र सभापति रवि लामिछानेले पहिचानको आन्दोलनमा हाम्रो कुनै पनि विमति छैन र प्रदेश १ का जनताले पहिचानका आधारमा प्रदेश नामाकरण गर्न चाहन्छन् भने जनताको मतलाई रास्वपाले कुनै पनि मूल्यमा अवमूल्यन गर्दैन भनेर प्रतिबद्धता व्यक्त गरे। उनले आफ्नो प्रतिबद्धता व्यक्त गर्ने क्रममा पार्टी संघीयताको पनि विपक्षमा नरहेको स्पष्ट पारे। संघीयतामा प्रदेशलाई जसरी पंगु बनाइएको छ, हामी त्यसको विपक्षमा र प्रदेश संरचनालाई अझै बलियो बनाउनु पर्ने पक्षमा रहेको बताए। यी दुइटा विषयमा पार्टीको मूल राजनीतिक लाइन स्पष्ट भएपछि हामीबीच सहकार्य भएको हो।

निर्वाचनका क्रममा तपाईंको मुख्य चुनौती के हो?
निर्वाचनका क्रममा मेरो प्रतिस्पर्धा अरुसँग होइन स्वयं मसँग हो। थकान मेरो चुनौती हो। आराम मेरो चुनौती हो। जनताको पक्षमा काम नगर्ने सोच मात्र पनि मेरा लागि चुनौती हो। म आफ्नो जितमा वा आफ्नो पराजयमा अरु कसैलाई दोषी देखाउन चाहन्नँ। हामी युवाहरूले थाल्नु पर्ने नयाँ राजनीतिक संस्कार पनि यही हो। हामीले हाम्रा पितापुर्खाबाट सिकेर आयौँ। भावी पुस्ताले हामीलाई हेरेर सिक्नेछन्। उनीहरूले हामीप्रति लज्जाबोध गर्ने कुनै काम गर्न नपरोस्।

बरु हामीबाट सिकेर भावी पुस्तामा नयाँ रुपचन्द्र विष्टको जन्म होस्। नयाँ फाल्गुनन्दको जन्म होस्। जसले इलामको राजनीतिक इतिहासमा नयाँ अध्यायको सुरुवात गरोस्। त्यसको जग हामीले बसाल्नै पर्छ। त्यसैले म तपाईंलाई र इलामेली जनतालाई के भन्न चाहन्छु भने यस्तो राजनीतिक संस्कारको विकास कुनै एउटा चुनावदेखि अर्को चुनावसम्मको यात्राका लागि होइन। तर, वैशाख १५ को चुनाव त्यस सुरुवातको पहिलो पाइला भने पक्कै हो। के इलामेली जनता नयाँ संस्कार र इतिहास लेख्न आतुर नहोलान्?

एमाले उम्मेदवार सुहाङ नेम्वाङ र तपाईंबीच जनताले कसरी फरक छुट्याउने?
जनता इतिहासका निर्माता हुन्। जनतालाई तपाईं–हामीले कम नआँक्दा हुन्छ। हो, उनीहरू २१औँ शताब्दीमा पनि आदिम समाजको विधि र नियति भोग्न विवश बनाइएका छन्, त्यो बेग्लै कुरा हो। तर, उनीहरूलाई केही थाहा छैन भन्ने हुँदैन। जनता बाख्राको पाठो र बाघको डमरु छुट्याउन सक्छन्। छेपारो र गोहीबीच फरक कसरी छुट्याउने भन्ने प्रश्न तपाईं–हामीलाई महत्त्वपूर्ण लाग्ला तर जनताका लागि यो दैनन्दिनको कुरा हो। त्यसैले सुहाङ र मेरो बीच तुलना गर्ने जिम्मा जनतालाई नै छोडिदिऊँ। जनताले आफ्नै डाँडापाखामा पखेटा हालेर उडेको जंगली चरो मन पराउँछन् वा बाउको काँधमा बसी विदेश घुमी पठाएको चरो मन पराउँछन् समयले बताउने छ। अहिलेलाई हामी दुवै राम्रा मित्र हौँ। म मित्रको स्वास्थ्यमा खलल नपरोस् भन्ने चाहन्छु।

केही दिनअघि मात्र दलहरूको विकल्प छोज्नु पर्छ भन्नु भएको थियो। फेरि दल नै रोज्नु भयो नि?
तपाईंले राम्रो प्रश्न गर्नु भयो। म तपाईंलाई धन्यवाद भन्न चाहन्छु। दलहरूको भीडमा र राज्यले तयार पारेको दलहरूको परिभाषामा रास्वपा पनि एउटा दल नै हो। तर, रास्वपा सुनका आभूषण भन्दै नाङ्लोमा पित्तलका आभूषण बेच्ने पसल होइन। यस पार्टीका सभापति रवि लामिछाने कसैको अहंमा चोट पुग्ला कि भनेर सत्य भन्दै झुटको व्यापार गर्ने व्यापारी होइन। उनी बोल्छन् र जनता उनको पछि लाम लाग्छन्। यही वास्तविकता हो।

डा. स्वर्णिम वाग्ले बिरामी परेको अर्थतन्त्रलाई सुधार्न झुटा तथ्यांकमा टेकेर प्रेस्क्रिप्सन लेख्दैनन्। सन्तोष परियारले संसदमा उभिएर जात व्यवस्थाबारे बोल्दै गर्दा बनावटी र नक्कली कुरा गरेर कसैलाई लोभ्याउन अभिप्रेरित हुँदैनन्। उनी सबैलाई वास्तविकतासँग साक्षात्कार गराउने गर्छन्। यसका साथै यो दलको उत्पत्ति पनि अन्य दलहरूको नालायकीको जगमा भएको हो भन्ने त तपाईंलाई पनि थाहै छ।

एमालेको २४ वर्ष लामो चुनावी जितको विरासत तोड्न सक्नुहोला त?
इलामलाई चेतनाको यो विन्दुसम्म ल्याइपुर्‍याउन राणातन्त्र, पञ्चायत, बहुदल, जनयुद्ध र लोकतन्त्रको परिवर्तनको आन्दोलनमा भूमिका खेल्नु हुने सबै सहिद, घाइते, अपांगता भएकाहरू, आदरणीय समाजसेवी, राजनीतिक कार्यकर्ता, सामाजिक संघ–संस्थाका अग्रजहरूप्रति म शिर झुकाएर नमन गर्न चाहन्छु। तर, इलाम कसैको नोस्टाल्जियामा कैद भएर कति दिन बस्न सक्ला र? कसैको विरासतको भारी कसैले कति दिनसम्म बोक्न सक्ला र? समयको गतिलाई नोस्टाल्जिक मुभमेन्टले कति दिनसम्म रोक्न सक्ला र?

समय फेरिँदो छ र परिवर्तन सबैको ढोकाभित्र प्रवेश गरिसकेको छ। निर्वाचनको पूर्वसन्ध्यामा तपाईंसँग कुरा गरिरहँदा जनताले त्यसको आभास गरिसकेको पाएको छु मैले। अब तपाईं आफै बुझ्नुस्, परिवर्तनले विरासतको निरन्तरतालाई अघि बढाउँछ वा परिवर्तनका संवाहकलाई। मलाई लाग्छ तपाईंले मन–मनै उत्तर पाइसक्नु भयो।

-नेपाल खबर

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार