गुराँस फुल्दा वनै रमाइलो…

गुराँस फुल्दा वनै रमाइलो...

म्याग्दी : छर्लङ्ग खुलेको छ आकाश । मुसुक्क मुस्कुराय जता देखिएका छन् हिमाल । लालीगुराँस फुलेर राताम्यै भएका छन पहाडहरु ।  प्रकृतिमा वैंस चढेको छ र बैंसालु प्रकृतिसंग रमाउदै आनन्द मनाउन वाख्लै युवायुवतीहरु पहाडतिर उक्लिएका छन् ।

म्याग्दीका वन जंगल यतिबेला बेहुलीको सिउँदो जस्तै रङ्गिएका छन् । ढकमक्कै लालीगुराँस फुल्दिएपछि लेकाली पहाडमा बैंस चढेको छ ।

वसन्त ऋतुको आगमनसँगै हिमाली जिल्ला म्याग्दीको वनपाखामा गुराँस फुलेको छ । वसन्त ऋतु सुरु हुनुअगावै गुराँस फुलेपछि खासगरी म्याग्दीका लेकाली क्षेत्रहरु अहिले नवदुलही जस्तै सिङ्गारिएका छन् । फागुनदेखि जेठ महिनासम्म वनजङ्गलमा लालीगुराँस फुल्ने गर्दछ । नेपालको राष्ट्रिय फूलको मान्यता पाएको लालीगुराँस फुलेसँगै पर्यटकीय गन्तव्यका क्षेत्रहरुमा छुट्टै खालको रौनक छाएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको पर्यटकीय क्षेत्र पुनहिल, घोरेपानी, राम्चे, घारलगायत क्षेत्रको अधिकांश वनपाखामा गुराँस फुलेर राताम्य भएको छ । यसैगरी रघुगंगा, मंगला, मालिका र धवलागिरि गाउँपालिका तथा बेनी नगरपालिकाको पर्यटकीयस्थल केभहिल, भकिम्लीलगायत क्षेत्रमा पनि गुराँस फुलेको छ ।

वनपाखामा लालीगुराँस फुलेर राताम्य देखिएपछि पर्यटकहरु पुगेर रमाउन थालेका छन् । लामो समय कोरोना भाइरस र लकडाउनका कारण घरभित्रै बस्न बाध्य नेपालीहरु पर्यटकीय सिजन सुरु भएपछि विदा मनाउन तथा साथीभाइसँग पर्यटकीय क्षेत्रको भ्रमणमा निस्किएका छन् ।

उत्तरी अन्नपूर्ण गाउँपालिका–६, घारस्थित समुन्द्री सतहदेखि २ हजार ८ सय ७४ मिटरको उचाइमा अवस्थित घोडेपानी तथा ३ हजार २ सय १० मिटरमा रहेको पुनहिल आसपासको वनजङ्गल क्षेत्रमा विभिन्न प्रजातिका गुराँसहरु फुलेको स्थानीयले बताएका छन् । नेपालको वन जङ्गलमा ३१ प्रजातिका लालीगुराँस पाइने पहिचान भए पनि घोरेपानी क्षेत्रमा मात्रै विभिन्न ८ प्रजातिका गुराँसहरु फुल्ने गरेको अनुमान छ । नेपालको राष्ट्रिय फुल लालीगुराँससहित म्याग्दीमा १० प्रकारका गुराँसहरु फुल्ने गर्दछन् । म्याग्दीका वनमा रातो, सेतो र कलेजी रङका गुराँसहरु फुल्ने गरेको स्थानीयको भनाइ छ ।

लालीगुराँस फुलपछि ग्रामीण क्षेत्रको सौन्दर्य समेत बढेको छ । घोरेपानी र पुनहिलसहित जिल्लाको लेकाली क्षेत्रमा फुलेको गुराँसको आकर्षणले पर्यटकहरु लालायित भएका छन् । कोरोनाको त्रासले सहरबाट गाउँ पसेकाहरु, लालिगुराँस फुलेको हेर्न डाँडाकाँडा चहार्न थालिसके । वसन्त ऋतुमा मनै लोभ्याउने गरी फुल्ने लालीगुराँससँगै टाँसिएर फोटो, भिडियो खिच्न र सेल्फी लिन पर्यटकहरु पुग्ने गर्दछन् ।

म्याग्दी जिल्लामा अहिले कुल ३ सय १४ वटा सामुदायिक वनहरु रहेकोमा सबै वन क्षेत्रमा गुराँस प्रजातिका बोटविरुवा पाइन्छन् । पछिल्लो समय जलवायु परिवर्तनको असरले गर्दा तापक्रममा वृद्धि भएपछि समयभन्दा अगावै फुल फुल्ने विरुवाहरु चाँडै नै फुल्ने गरेको डिभिजन वन कार्यालय म्याग्दीका सहायक वन अधिकृत चन्द्रमणि सापकोटाले बताए ।

गुराँसले सजियो स्वार्गाश्रम

बेनी नगरपालिका–३ भकिम्लीमा रहेको धार्मिक पर्यटकीय स्थल स्वर्गाश्रम क्षेत्र यतिबेला ढकमक्क फुलेको लालिगुराँसले रङ्गीविरङ्गी बनेको छ । चैत महिनाको सुरुवातदेखि नै यहाँका जंगलमा रहेका लालिगुराँसका बोटमा फुल फुल्न सुरु भएको थियो । भकिम्लीदेखि स्वर्गाश्रम हुँदै बेलढुंगा सम्मको क्षेत्र यतिबेला आन्तरिक पर्यटकहरुको लागि आकर्षण बनेको छ ।

सडक सञ्जालको पहुँच पुगेको कारण यस क्षेत्रमा गुराँसे जंगलमा रमाउनका लागि विदाको दिनमा आन्तरिक पर्यटकहरुको भिड नै लाग्ने गरेको छ । करिब २ सय बर्ष पुरानो इतिहाँस बोकेको स्वर्गाश्रम ऋषिमुनीहरुले तपस्या गरि ज्ञान आर्जन गरेको ठाउँको रुपमा समेत परिचित छ । समुन्द्री सतहदेखि करिब २ हजार ५ सय मिटर उचाईमा अवस्थित स्वार्गाश्रम प्राकृतिक रुपमा रमणीय र धार्मिक ऐतिहाँसिक महत्व बोकेको भएपनि प्रचार प्रसारले यो क्षेत्र अझै ओझेलमा परेको छ । पछिल्लो समय यस क्षेत्रमा धार्मिक पर्यटन विकासका लागि पूर्वाधार निर्माणले भने तिब्रता पाएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार