फाल्गुनन्दमा कानुनी सचेतना कार्यक्रम

  युद्धबहादुर बोहोरा
343 Shares

पाँचथरः फाल्गुन्नद गाउँपालिका भित्रका सात वटै वडामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ ।

पालिकाको आर्थिक सहयोगमा नामसामी लेखापढी कानून व्यावसायी एसोसिएसन पाँचथरको आयोजनामा माघ ९ गतेदेखि शुरूवात गरिएको सचेतना मंगलबार सम्पन्न गरिएको हो ।


कानुनको बर्खिलाप गरेमा अनिवार्य सजाय र कैद हुन्छ भन्ने प्रष्ट जानकारी गराउन साथै अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उदेश्यले पालिकाका सबै वडामा संयुक्तरूपमा कार्यक्रम संचालन गरिएको आयोजक संस्थाका प्रमुख रामकुमार नेम्बाङ(तुम्याहाङ) ले जानकारी दिए ।

वडामा कार्यरत कर्मचारी,मेलमिलाप समिति,महिला समिति,जनप्रतिनिधि,स्वयंसेविका तथा न्यायिक समितिको उपस्थिति रहेको उक्त कार्यक्रम वडा नम्बर ६ र ७ को पिपलबोटेस्थित आङ्साराङ्मामा,वडा नम्बर ४ र ५ को घुर्बिसे पञ्चमी फाक्तेपमा,२ र ३ को पौवासारतापमा र १ नम्बर वडाको नवमीडाँडामा गरि जम्मा चार ठाँउमा संचालन भएको थियो ।


कार्यक्रमलाई अधिवक्ताद्वय कमल चेम्जोङ र लिला प्रसाद राई साथै कानुन व्यावसायी चन्द्र कुमार आङ्देम्वेले सजीकरण गरेको कानुनी सचेतनामा विशेषगरी समाजमा दैनिक उत्पन्न हुने समस्या र जनजीवनमा घटिरहेका घटनामा आधारित विषय वस्तुसंग मिल्दोजुल्दो प्रसङ्गको कानुनी प्रक्रिया बारे प्रशिक्षण गराइएको थियो ।


फौजदारी संहिता,देवानी मुद्दा र संविधान तथा हाल सम्म १९१० देखि २०७२ साल सम्ममा बनेका सात वटा लिखित कानुनको पनि चर्चा गर्दै अन्तर्राष्ट्रिय जगतका कानुनलाई समेत जानकारी गराइएको प्रशिक्षक आङ्देम्बेले बताए ।२०७२ को सविधान भित्र उल्लेख भएका ३२ वटा मौलिकहक तथा कानुनका श्रोत सम्बन्धि व्याख्या गरिएको उनले बताए ।

नवमीडाँडामा समापन गरिएको सचेतना कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक देवित्रा कुमारी आङ्देम्बे र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको उपस्थितमा सम्पन्न भएको थियो ।
अन्त्यमा,अतिथिले समापनमा मन्तव्य राख्दै सहभागीलाई सिकेका कानुनी कुरा समाजमा प्रचारप्रसार गर्दै चेतना फैलाउन समेत आग्रह गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार