मिक्लाजुङमा किवी प्रशोधन तालिम समापनसंगै फलफूल प्रशोधन उद्योग उद्घाटन

  युद्धबहादुर बोहोरा
833 Shares

पाँचथरः मिक्लाजुङ गाउँपालिकाको वडा नम्बर १ खान्द्रुङमा सात दिने किवी प्रशोधन तालिम समापनसंगै सनम फलफूल प्रशोधन उद्योग मंगलबार उद्घाटन भएको छ ।

घरेलु तथा साना  उद्योग कार्यालय,पाँचथरको आर्थिक वर्ष ०७८/७९ को वार्षिक कार्यक्रम अनुसार ‘स्वदेशी उद्यम र उत्पादनःदिगो औधौगिक पुनरुत्थान’ भन्ने नारा सहित यस वडामा एक हप्ते किवी प्रशोधन तालिम सम्पन्न गरिएको छ ।

यसैबीच,माङ्पाहाङ लावती कृषि फर्मका संचालिका जुनु कुमारी लावतीको माताहामा दर्ता भएको सनम फलफूल प्रशोधन उद्योगको पनि एकैसाथ उद्घाटन गरिएको हो । घरेलु तथा साना उद्योग कार्यालय,पाँचथरबाट जुस बनाउन प्रयोग गरिने ४२ हजार मुल्य बराबरको मेशिन ८० प्रतिशत छुट सहित  यस उद्योगलाई उपलब्ध गराइएको कार्यालयका निमित्त उद्योग अधिकृत इन्द्रमणी पौडेलले जानकारी दिए ।

वडाका किवी उत्पादक अगुवा कृषक ११ महिला र ७ पुरुष गरि जम्मा १८ जना सहभागी रहेको उक्त तालिममा कविता फलफूल प्रशोधन उद्योग धनकुटाकी संचालिका तथा प्रशिक्षक विष्णुमाया कन्दङ्वा(कविता) ले किवीको जाम,सर्वत(जुस) र अचार बनाउने सम्बन्धि तालिमको सहजीकरण गरेकी थिइन् । सहजकर्ता कन्दङ्वा २०६६ सालमा उद्योग मन्त्रालयले आयोजना गरेको कृषि प्रदर्शनीमा उत्कृष्ट उद्यमीको रुपा सम्मानित भएर थाइल्याण्ड भ्रमण गर्ने अवसर समेत पाएको उनले बताइन् ।

तालिम समापन तथा उद्योग उद्घाटन कार्यक्रमका प्रमुख अतिथि १ नम्बर वडाध्यक्ष विष्णुकुमार राई र विशेष अतिथि २ नम्बर वडाध्यक्ष सन्तोष शेर्मा,जनप्रतिनिधि शम्शेर राई,मन माया आङ्देम्बे,फाल्गुनन्द गाउँपालिका आयुर्वेद शाखा प्रमुख वरिष्ठ कविराज निरीक्षक राजु पराजुली,स्थानीय बुद्धिजिवी लगायतले शुभकामना मन्तव्य राखेका थिए । वडा कार्यालयको समन्वयमा  संचालन  गरिएको उक्त तालिम समापनमा मन्तव्य राख्दै जनप्रतिनिधिहरुले किसानका हरेक गतिविधिलाई उच्च प्राथमिकताका साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

सहभागीलाई प्रमुख तथा विशेष अतिथिको हातबाट प्रमाणपत्र प्रदान गरिको साथै प्रशिक्षकलाई सहभागीले मायाको चिनो पनि हस्तान्तरण गरेका थिए । अतिथिहरुलाई  तालिममा सिकेर उत्पादन गरिएका खाद्य सामाग्री वितरण गरिएको थियो ।

उद्योगले सम्पूर्ण प्रकृया पुरा गरि उत्पादन शुरु गरेको छ । यहाँको उत्पादन सामाग्रीलाई स्थानीय बजारदेखि अन्य क्षेत्रमा पनि बजारीकरण गरि व्यावसायलाई अगाडी बढाउने लक्ष्य रहेको संचालिका लावतीले बताइन् । उनले २०६८ सालबाट किवी खेती शुरुगरे तापनि २०७२ सालमा फर्म दर्ता गरि आधिकारीक रुपमा व्यावसायिक खेतिमा लागेकी छिन् । हाल ४० रोपनी जमीनमा खेती गर्दै वार्षिक २० लाख रुपैंया बराबरको फल र बेर्ना बिक्रीबाट आम्दानी गर्दै आएकी छिन् ।  ए र बी ग्रेडको किवी करिब एक सय ५० रुपैंया प्रति किलोग्रामले बिक्रि हुने तर अन्य सानो किवी खेर जाने भएकोले जुस र अरु परिकार बनाएर गाउँको उत्पादनलाई उचित मुल्यमा बिक्रि गर्न  सकिने उदेश्यले उद्योग स्थापना गरिएको उनको भनाइ छ । लावती जिल्लामा किवी उत्पादन गर्ने कृषक मध्ये उत्कृष्ट कृषकको रुपमा परिचित छिन् । हाल उनको फर्ममा २५ देखि ३० हजारसम्म बेर्ना बिक्रिको तयारीमा रहेको उनले बताइन् ।

यसै अवसरमा दुई सय जना अगुवा कृषकलाई एक हजार किवीका विरुवा पनि वितरण गरिएको वडा कार्यालयले जनाएको छ । किवी उत्पादन हुने यस क्षेत्रका किसानलाई गत वर्षदेखि बेर्ना वितरण गरिएको हो ।

फलफूलको राजा भनेर चिनिएको किवी चिकित्सकहरुले पनि स्वास्थ्यको लागि अत्यन्तै लाभदायक मानिएसंगै हाल पूर्वि पहाडका जिल्लामा यसको खेती गर्न किसानमा आकर्षण बढेको छ । किवीको प्रयोगले मोटोपन घटाउने,कब्जियतको समस्यालाई निको पार्ने,रक्तचाप नियन्त्रण गर्ने,रोग प्रतिरोधात्मक क्षमता वृद्धि र गर्भवती महिलालाई रगत बृद्धिमा मद्दत गर्ने  साथै फोक्सोलाई स्वस्थ राख्न सहायता पुर्याउने भएकाले दमका रोगी र सुगर रोगीले समेत खान हुने चिकित्सकले सल्लाह दिने गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार