फाल्गुनन्द मार्गमा गुणस्तरीय सामग्री प्रयोग गर्न निर्माण कम्पनी सहमत

  राम योङहाङ/बालकृष्ण बस्‍नेत  595 पटक हेरिएको

निर्माण कम्पनी र स्थानीय सरोकार समितिबीचको छलफल । तस्वीर : बालकृष्ण बस्‍नेत

इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक–चिसापानी–रवि सडक (फाल्गुनन्द मार्ग) कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यमा गुणस्तरहीन सामग्री प्रयोग भएको निर्माण कम्पनीले स्वीकार गरेको छ ।

बुधबार निर्माण कम्पनी गणपति ग्रुप अफ कन्ट्रक्सन प्रा.लि.ले सडक निर्माणको क्रममा गुणस्तरहीन सामग्री प्रयोग भएको स्वीकार गर्दै आगामी दिनमा गुणस्तरयुक्त सामग्री प्रयोग गर्ने प्रतिवद्धता जनाएको छ ।

गुणस्तरहीन सामग्रीको प्रयोग भएको सम्बन्धी समाचार नयाँ बुलन्द डटकममा प्रकाशन भएपछि निर्माण कम्पनीले उपभोक्ताहरुसमक्ष आफ्नो तर्फबाट कमजोरी भएको स्वीकार गर्दै आगामी दिनमा सच्याउने प्रतिबद्धता जनाएको हो । मंगलबार नयाँँ बुलन्द डटकमा ‘फाल्गुनन्द मार्ग कालोपत्रे गुणस्तरहीन : स्थानीयद्वारा विरोध, सरोकार समिति गठन’ शीर्षकमा समाचार प्रकाशन भएको थियो ।

संचारमाध्यममा समाचार प्रकाशन भएपछि निर्माण कम्पनीले चासो दिएको थियो । निर्माण कम्पनीका प्रमुख तुलसीराम भण्डारी स्थानीय सरोकार समितिसँग वार्ता गर्न माङसेबुङ गाउँपालिका ३ चतुरेमा आएका थिए । निर्माण कम्पनीका प्रमुख भण्डारी र सरोकार समितिबीच भएको वार्तामा कम्पनीले उपभोक्ताहरुको माग बमोजिम नै काममा सुधार गर्ने तथा गुणस्तरयुक्त सामग्री प्रयोग गर्ने सहमति भएको हो ।

समाचार प्रभाव

निर्माण कम्पनीले अबको काममा यसअघि ल्याईएका गुणस्तरहीन बालुवा, गिटी, ढुङ्गालाई प्रयोग नगर्ने, नयाँ गुणस्तरयुक्त बालुवा, गिटी र ढुङ्गाको व्यवस्थापन गरी प्रयोग गर्ने, निर्माण गरिएका पेटी, नाली, वाललगायतका संरचनामा अनिवार्य क्युरिङ (सिंचित गर्ने कार्य) गर्ने, गुणस्तरहीन संरचना निर्माण गरेमा कम्पनीले नै भत्काएर पुर्ननिर्माण गर्ने, निर्माण कम्पनीले स्थानीय सरोकार समितिसँग समन्वय गरेका काम गर्नेलगायतको सहमति भएको छ ।

‘यसअघिको काममा हाम्रो तर्फबाट कमीकमजोरी भएकै हो । जुन गुणस्तरको सामग्री प्रयोग हुनुपर्ने हो त्यो प्रयोग नहुनु हाम्रो कमजोरी हो’ निर्माण कम्पनीका प्रमुख भण्डारीले उपभोक्ताहरुसँग भने, ‘काम गर्ने शिलशिलामा कहिलेकाही गल्ती कमजोरी हुन्छ । तर आगामी दिनमा त्यस्तो कमजोरी दोहोरिने छैन । आजको सहमतिलाई पूर्ण रुपमा पालना गनेछौं ।’

यसअघि सो सडक निर्माणको क्रममा गुणस्तरहीन बालुवा, गिटी, ढुङ्गाको प्रयोग भएको र संरचना समेत गुणस्तरहीन भएको भन्दै माङसेबुङ गाउँपालिका वडा नम्बर ३ चतुरे खण्ड आसपासका स्थानीयले विरोध जनाएका थिए । उनीहरुले स्थानीय सरोकार समिति नै गठन गरी विरोधको कार्यक्रम सुरु गरेका थिए ।

सडकको घर्तीदोभानदेखि चतुरे हुँदै चिसोपानी पंचमीसम्मको २६ किलोमिटर सडक खण्ड निर्माणका क्रममा अत्याधिक माटो र लेदो मिसिएको बालुवा र गिटी प्रयोग भएको थियो । साथै निर्माण भएका नाली, पेटी र वाललगायतका संरचनामा क्युरिङ समेत भएको थिएन । यसरी निर्मित संरचना कमजोर भएको भन्दै स्थानीयले बिरोध जनाएका थिए ।

सो सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यका लागि २ फागुन २०७६ मा भएको सम्झौताको म्याद २ फागुन २०७९ सम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार