फाल्गुनन्द मार्ग कालोपत्रे गुणस्तरहीन : स्थानीयद्वारा विरोध, सरोकार समिति गठन

  बालकृष्ण बस्‍नेत  1036 पटक हेरिएको

इलाम : झापाको दमकदेखि इलामको माङसेबुङ हुँदै पाँचथरको रवि जोड्ने दमक-चिसापानी-रवि सडक (फाल्गुनन्द मार्ग) कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्यको काम गुणस्तरहीन भएको भन्दै स्थनीयले विरोध गरेका छन् ।

सडकको भोगटेपानीदेखि चिसापानी सम्मको ११ किलोमिटर सडक खण्ड निर्माणका क्रममा बालुवा र गिटीमा अत्याधिक कालो माटो र लेदो प्रयोग गर्ने गरेका छन् । साथै निर्माण भएका नाली र पेटीमा क्युरिङ समेत गर्दैनन् । यसरी गुणस्तरहीन सामग्रीको प्रयोग र निर्माण गरिएको नाली र पेटीमा क्युरिङ समेत नगरिँदा निर्मित संरचना कमजोर भएको भन्दै स्थानीयले बिरोध जनाएका छन् ।

सो सडक खण्डको ठेक्का श्री लुम्बिनी-गणपति जेभी नयाँ बानेश्वर काठमाडौं निर्माण कम्पनीले पाएको थियो । सो निर्माण कम्पनीले गुणस्तरहीन काम गरेको भन्दै माङसेबुङ ३ मा पर्ने चतुरे खण्ड आसपासका स्थानीय उपभोक्ताहरुले सोमबार भेलाको समेत आयोजना गरेर विरोध जनाएका छन् ।

निर्माण कम्पनीलाई गुणस्तरीय काम गर्न दवाव दिने उदेश्यले भेलाको आयोजना गरेको उनीहरुले बताएका छन् । सो भेलाले गुणस्तर, मापदण्डका विषय र सडक आसपासका क्षेत्रमा सामुहिक पहल गर्न देबहाङ राईको अध्यक्षतामा ३० सदस्यीय सरोकार समिति गठन गरेका छन् । अध्यक्ष राईले निर्माण कम्पनीसँग समन्वय गरी आफ्नो क्षेत्रमा गुणस्तरीय काम गर्न पहल गर्ने बताए ।

यता निर्माण कम्पनीले स्थानीयसँग मात्र होइन, जनप्रतिनिधिहरुसँग समेत समन्वय गर्ने गरेका छैनन् । न त जनप्रतिनिधहरुको सल्लाह र सुझाव नै मान्ने गर्दछन् । माङसेबुङ गाउँपालिका वडा नम्बर ३ का वडा अध्यक्ष मैतराज राईले आफूले पटकपटक ध्यानाकर्षण गराएको भएपनि ठेकदार कम्पनीले चासो नदिएको बताए । ‘मैले यस विषयमा उहाँहरुलाई पटकपटक जानकारी गराएको हुँ । तर उहाँहरुले अहिलेसम्म कुनै चो नै दिनुएभएको छैन’ वडा अध्यक्ष राईले भने ।

स्थानीय डिल्लीकुमार राईले सडक आसपासका बालुवा गिटीमा रहेको अत्याधिक माटो हटाएर काम गर्न निर्माण कम्पनीलाई सुझाव दिदैं  नहटाए उपभोक्ताहरुले काम बन्द गर्न बाध्य हुने चेतावनी दिए ।

उता निर्माण कम्पनीका कन्ट्याक्ट् ईन्जिनियर बशिष्टकुमार सिंहले सुरूमा रतुवा खोलाको बालुवामा ७ प्रतिशत माटो भएको भएपनि पानीको मात्रा बढाएर अहिले सडक डिभिजनले सो बालुवा पास गरेको दावी गरे । उनले पहिले नाली तथा पेटिमा क्युरिङ नगरेको भएपनि अब क्युरिङ हुने दावी गरे । उनले निर्माण कम्पनीलाई क्युरिङ नगरे भुक्तानी रोक्ने जानकारी गराईसकेको पनि बताए ।

सो सडक खण्ड कालोपत्रे स्तरमा स्तरोन्नति गर्ने कार्य सम्पन्न गर्न नेपाल सरकारको ५९ करोड १५ लाख ३५ हजार ८ सय ३४ रूपैयाँ ३६ पैसा (भ्याट र पिएससहित) मा निर्माण कम्पनीसँग सम्झौता भएको छ । २ फागुन २०७६ मा भएको सम्झौताको म्याद २ फागुन २०७९ सम्म रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार