पर्यटन प्रवर्द्धननका लागि तेह्रकुने सिमसार महोत्सव हुँदै

  नयाँ बुलन्द
231 Shares


इलाम : पर्यटन प्रवद्र्धनका लागि इलामको माई नगरपालिकास्थित तेह्रकुने सिमसार क्षेत्रमा पुस दोश्रो साता महोत्सव हुने भएको छ ।

भौगोलीक र जैविक विविधताको दृष्टिकोण महत्वपूर्ण मानिएको माई नगरपालिका १ मा ‘प्रथम तेह्रकुने सिमसार महोत्सव–२०७८’ आयोजना हुन लागेको हो ।

तेह्रकुने सिमसार व्यवस्थापन समितिको आयोजनामा पुस ८ देखि ११ गतेसम्म महोत्सव आयोजना गर्न लागिएको व्यवस्थापन समितिका अध्यक्ष करसिंह राईलो जानकारी दिए ।

चुरे क्षेत्रमा संरक्षण गरिएको पोखरी जैविक र पर्यावरणीय दृष्टिकोणले महत्वपूर्ण रहकाले यसको थप प्रचारप्रसार गरी पर्यटन प्रवद्र्धन गर्ने उदेश्यका साथ महोत्सव आयोजना गर्न लागिएको अध्यक्ष राईले बताए ।

‘सामुन्द्र सतहबाट पाँच सय मिटरको फिटको उचाइमा रहेको सिमसार क्षेत्रको प्रचार खासै हुन सकेको छैन । यतिको उचाईमा रहेको पोखरीले चुरे क्षेत्रमा पानीको रिचार्ज ट्यांकको रुपमा काम गरेको छ’, राईले भने,‘यो उचाईमा यति ठूलो पोखरी अन्यत्र छैन । भौगोलिक, जैविक विविधता र पर्यावरणीय महत्वको यस क्षेत्रको प्रचार गर्न सके पर्यटन प्रवद्र्धमा थप टेवा पुग्ने आशा छ ।’

अन्य पर्यटकीय क्षेत्र जस्तो चर्चामा नरहेको तेह्रकुने सिमसार संरक्षणका लागि स्थानीय बासिन्दा लागिपरेका छन् । सरकारबाट समेत लगानी भएको छ । सिमसार क्षेत्रको संरक्षणका लागि राष्ट्रपति चुरे संरक्षण कार्यक्रम, डिभिजन वन मन्त्रालय र जलाधार व्यवस्थापन कार्यालय उदयपुरले लगानी गरेका छन् । सिमसार क्षेत्रको पुर्नउत्थानमा अहिलेसम्म ४० लाख रुपैयाँ लगानी गरिसकेका छन् ।

सिमसार क्षेत्रको लागि अहिलेसम्म एक सय रोपनी भन्दा बढि जग्गा व्यवस्थापन भइसकेको छ । ३५ रोपनी जग्गामा फैलिएको सिमसार क्षेत्र इलामको पर्यटकीय रुटको गन्तव्य हुने अपेक्षा स्थानीयमा छ । सुखानी सहिद पार्क हुँदै तेह्रकुने पोखरी, इलामको सिद्धिथुम्का, पानीटार, माईपोखरी, श्रीअन्तु कन्याम हुँदै झापा फर्किने पर्यटकीय मार्ग बनाउन सकिनेछ ।

‘भर्जिन ल्याण्ड’ कै रुपमा रहेको चुरे क्षेत्रको पर्यटकीय सम्भावना बोकेको तेह्रकुने सिमसार क्षेत्रको विकासको लागि स्थानीयकै अग्रसरतामा विस्तृत परियोजना अनसन्धान (डिपिआर) समेत भइसकेको छ । डिपिआरमा बालबालिकादेखि बृद्धबद्धासम्मको लागि छुट्टाछुट्टै उद्यान बनाउने, आकाशे पुल, भ्यु टावर र पोखरीलाई सिंघार्ने योजना छन् । तर, अहिले सिमसार क्षेत्रको व्यवस्थापनको मात्रै काम हुँदैछ ।

सिमसार क्षेत्रको व्यवस्थापनसँगै त्यहाँ आउने पर्यटकको व्यवस्थापनको लागि होमस्टे चलाउने र स्थानीय परिकार चखाउने योजना रहेको सीमसार क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष राईले बताए । ‘तेह्रकुनेलाई पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न सकियो भने यहाँका उत्पादनले बजार पाउँछन्, रोजगारीको अवसर हुन्छ र यही क्षेत्रका बासिन्दाको आर्थिक हैसियत उठाउन सकिएला भन्ने विश्वास छ’, उनले भने ।

तेह्रकुने सिमसार क्षेत्रको प्रचार प्रसारको लागि आयोजना गरिएको महोत्सवमा १६ देखि २० हजार आन्तरिक पर्यटक भित्र्याउने आयोजकको लक्ष्य छ ।

सिमसार क्षेत्रको प्रचारको लागि अयोजना गरिएको महोत्सवमा माई नगरपालिका क्षेत्रीमा बसोबास गर्ने विभिन्न जात जातिको झाँकीको प्रतियोगीता राखिएको छ । झाँकीका बिजेताले १७ हजार तेह्र रुपैयाँ र उपविजेताले १० हजार तेह्र रुपैयाँ पाउने छन् ।

यस्तै महोत्वसमा खुला भलिवल प्रतियोगीता हुने छ । भलिवल प्रतियोगीताको विजेताले १७ हजार १३ रुपैयाँ र उपविजेताले १० हजार तेह्र रुपैयाँ पाउनेछन् । महोत्सवमा स्टलहरु बनाएर स्थानीय उत्पादनको परिकार चखाउने आयोजकको योजना छ ।

त्यस क्षेत्रमा उत्पादन हुने कोदोको ढिँडो, रोटी, वाचिपा (खुकुराको मासुको परिकार) केरा, सिमलको विभिन्न परिकार महोत्सवमा उपलब्ध गराउँने आयोजकका अध्यक्षले बताए । महोत्सवको चारदिन विभिन्न साँस्कृतिक कार्यक्रमहरु गर्ने आयोजकको तयारी छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार