हामीले पर्यटनमा बढी ध्यान केन्द्रित गरेका छौं : नगरप्रमुख राई

  नयाँ बुलन्द  425 पटक हेरिएको


प्रदेश–१ को पर्यटकीय नगरी सूर्योदय नगरपालिका प्रमुखको नेतृत्व रणबहादुर राईले सम्हाल्दै आएका छन् । नगरप्रमुखमा निर्वाचित भएपछि राई आफ्नो नगरलाई देशकै एक नमुना नगर बनाउने उद्घोषका साथ विभिन्न अल्पकालीन र दीर्घकालीन योजना बनाएर अगाडि बढिरहेका छन् ।

निर्वाचन सम्पन्न भएको पनि चार वर्ष पूरा भइसकेको छ । यो कार्यकाल कस्तो रह्यो, के कस्ता चुनौतीको सामना गर्नुपर्यो, केकस्ता उपलब्धि हासिल भए, लगायतका विभिन्न विषयमा नगरपालिका प्रमुख रणबहादुर राईसँग नयाँ बुलन्दका सम्पादक लागि राम योङहाङले गरेको संवादको संपादित अंश ।

कार्यकालको अन्तिम वर्षतिर हुनुहुन्छ, यो कार्यकाललाई कसरी मूल्यांकन गर्नुभएको छ ?

मैले यो कार्यकाललाई सफल कार्यकालको रूपमा लिएको छु । हाम्रो बारेमा थप मूल्यांकन सूर्योदय नगरपालिकाको नगरवासी र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीले गर्ने हो ।

जनताले साँच्चिकै संघीयताको अनुभूति गर्न पाएका छन् त ?

जनताले संघीयताको पूर्ण रूपमा अनुभूति गर्न पाएका छैनन् । यो नेपालको निम्ति र जनप्रतिनिधिको निम्ति नयाँ अभ्यास हो । तीन तहमध्ये प्रदेश र स्थानीय तहको सम्पूर्ण भौतिक पूर्वाधारका संरचनाहरू र दक्ष कर्मचारीको व्यवस्थापन हुन नसकेको हुनाले पनि केही समस्याहरू अझै छन् । त्यसलाई व्यवस्थित गर्नु आवश्यक छ ।

शिक्षा, स्वास्थ्य, खानेपानीजस्ता आधारभूत अधिकारका क्षेत्रमा भएका परिवर्तनको बारेमा केही भन्दिनु न ?

सूर्योदय नगरपालिकामा हामीले गुणस्तरीय, प्राविधिक, वैज्ञानिक र रोजगारमूलक शिक्षाको निम्ति धेरै कुराहरू प्रारम्भ गरेका छौँ । सम्भवतः सूर्योदय नगरपालिका प्रदेश–१ को पहिलो स्थानीय पाठ्यक्रम निर्माण गर्ने पहिलो पालिका हो । हामी अहिले स्थानीय पाठ्यपुस्तक निर्माणको क्रममा छौँ । नगरले ‘नगरको इच्छा छोरीबुहारीलाई शिक्षा’ भन्ने नारालाई सार्थक बनाउन सूर्योदय नगरपालिकाको करफोक क्याम्पसमा बुहारी र छोरीहरूलाई छात्रवृत्तिमा स्नातक तहको शिक्षा दिइरहेको छ । यो संख्या झण्डै १ सय ५० को हाराहारीमा पुगिसकेको छ । त्यसैगरी नगरपालिकाको सामुदायिक विद्यालयहरू ब्ल्याक बोर्डबाट इन्टरयाक्टिभ प्यानल बोर्डको चरणमा प्रवेश गरिसकेको छ । ‘गणितसँग खेलौँ गणितीय धारण बसाऔँ’ भन्ने कार्यक्रम, अन्तर विद्यालय विज्ञान प्रदर्शन, बाह्र महिना बाह्रै कार्यक्रमजस्ता थुप्रै कार्यहरू गरी शिक्षामा परिवर्तन गर्ने कार्य गरेको छ ।
स्वास्थ्यको क्षेत्रमा पनि हामीले धेरै परिवर्तनहरू गरेका छौँ । सूर्योदय नगरपालिका नयाँ नगरपालिका भएको हुनाले १४ वडाहरू स्वास्थ्य केन्द्रविहीन थियो । अहिले हामीले १४ वटा वडामा स्वास्थ्य केन्द्र निर्माण गरी कर्मचारी सुरक्षाकर्मी र आधारभूत औषधिहरूको व्यवस्थापन गरी सञ्चालनमा ल्याइसकेका छौँ । यस नगरपालिकाले १६ बेडको अस्पताल निर्माणको कार्यलाई अगाडि बढाइसकेको छ ।
यस्तै खानेपानीको व्यवस्थापन आवश्यकता अनुसार मिलाउँदै आइरहेका छौँ । भविष्यमा हुनसक्ने खानेपानीको समस्यालाई मध्यनजर गर्दै संघीय सरकारसँग समन्वय गरी ६० करोडभन्दा बढीको आयोजना टेन्डर भई कार्यान्वयनमा गइसकेको छ । त्यसैगरी विभिन्न वडाहरूमा करोडौँ बजेटका खानेपानीका आयोजनाहरू सञ्चालनमा ल्याइसकेको छ । किसानहरूको आवश्यकताको आधारमा साना यान्त्रिकीकरणको निम्ति साझेदारी कार्यक्रम, पशुपंछी पालनको निम्ति कार्यक्रम, कृषि संकलन केन्द्र, साना शीतघर, एकल विधुवा महिला, अपांगता भएका व्यक्ति, अविवाहित महिलाहरूको निम्ति स्वास्थ्य बिमाको व्यवस्थाजस्ता सयौँ कार्यक्रमहरू नगरपालिकाले गरी नगरपालिकामा परिवर्तनको संकेत दिएका छौँ ।

तथ्यांकको आधारमा भन्दा कुन–कुन क्षेत्रमा के–के परिवर्तन देखिएको छ त ?

तथ्यांकको आधारमा भन्दा परिवर्तन देखिएको बारेमा मैले भनिसकेँ । त्यस्ता धेरै परिवर्तनहरू देख्न सकिन्छन् जुन यति धेरै छन् कि सबै सम्झेर अहिले भन्न सकिन्न । सामुदायिक विद्यालयहरूमा परिवर्तन भएका छन् । सूर्योदय नगरपालिकाले प्रत्येक सडक संजालका निम्ति नगरपालिका यातायात गुरुयोजना ९एमटिएमपी० तयार गरिसकेको अवस्था छ । त्यहीअनुसार प्रत्येक टोलमा सडक संजाल विस्तार गर्दै अगाडि बढेका छौँ । नगरपालिकाको स्रोत नक्सा तयार गरिसकेको छ । नगरपालिकाको वस्तुस्थिति विवरण तयार गरिसकेका छौँ । त्यही अनुसार यो नगरपालिका कस्तो नगरपालिका हो र यसलाई कस्ता कार्यक्रम गर्दा समृद्ध बनाउन सकिन्छ भन्ने कुरामा ध्यान दिँदै अगाडि बढिरहेका छौँ । नगरपालिकाले आफ्ना वास्तविक तथ्यांकहरू तयार गर्दै त्यहीअनुसार कार्यान्वयन गर्दै गइरहेको अवस्था छ ।
यस नगरपालिकामा पर्यटकलाई बस्न र कम्तिमा पनि केही दिन रहन सक्ने गरी त्यसको व्यवस्थापन गर्दैछौँ । जस्तो, भर्खरै मात्र झण्डै ७२

किलोमिटरको साइक्लिङको रुट तयार बनाउने कामको सर्भे गर्ने काम गरेका छौँ । नगरपालिकालाई नेपालकै पर्यटकहरू घुम्नैपर्ने पर्यटकीय स्थानहरू बनाउनुपर्छ भन्ने हाम्रो योजना थियो । त्यसलाई संघीय सरकारले समावेश गरिसकेको अवस्था छ । प्रदेश–१ सरकारले पर्यटकीय नगरी भनेर घोषणा गरिसकेको छ । अहिले हामी यसका निम्ति विस्तृत परियोजना अध्ययन ९डिपिआर० गर्ने, तथा सर्भेहरू गर्ने कामहरू गरिरहेका छौँ । केही ठाउँहरूमा नमुनाका रूपमा काम गरेका छौँ । जस्तो, सूर्योदयको दृश्यावलोकनका लागि प्रख्यात अन्तुडाँडा, त्यसलाई छुट्टै तरिकाले व्यवस्थापन गर्ने काम गरेका छौँ । हामीसँग भएका साना खोलानालाहरूलाई व्यवस्थापन गरेका छौँ ।
यसै गरी पर्यटकीय नगरलाई समृद्ध नगर र नमुना नगर बनाउन पर्यटकीय नगर बनाएर मात्र पनि हुँदैन । कृषिको पनि एउटा हब्स बनाउनुपर्छ । किसानको आयस्रोत बढाउनुपर्छ । त्यसको निम्ति विभिन्न कार्यक्रमहरू अगाडि बढाएका छौँ । कृषिलाई प्रमुख प्राथमिकता राखेर बजेट विनियोजन गरेका छौँ । प्रत्येक कृषकको घरघरमा नगरपालिका पसेको छ र नगरपालिकाले सबैको ढोका ढकढक्याएको छ भन्ने अनुभूति गरोस् भनेर त्यस्तो प्रकारको कार्यक्रम अगाडि बढाइरहेको अवस्था छ ।

त्यसका लागि ‘एक घर एक उन्नत जातको गाई’ अभियान सञ्चालन गरेका छौँ । हामी भविष्यमा सूर्योदय नगरपालिकालाई गाईको महत्वपूर्ण स्रोत केन्द्र र सम्बन्धित विभिन्न कलकारखाना बनाउनका निम्ति आवश्यक पर्ने कच्चा पदार्थहरू, प्रत्येक दिन दूध उत्पादन गर्नका निम्ति पूर्वाधारहरू तयार गरेर अगाडि बढेका छौँ । यहाँ ६० प्रतिशत बढी किसानहरू चिया कृषक हुनुहुन्छ । चियालाई पनि विशेष प्राथमिकता दिनुपर्छ भनेर लागेका छौँ । सूर्योदय नगरपालिकालाई नेपालकै नमुना टि टेस्टिङ सेन्टरको सुरुआत भइसकेको अवस्था छ । कन्याम जहाँ एउटा गाडी पनि छिर्न नसक्ने अवस्था थियो । त्यहाँ सडक विस्तार गरेका छौँ । पर्यटकलाई आकर्षित गर्न त्यहाँ आगामी वर्ष त्यहाँ १८ प्रजातिको लालीगुराँसहरू रोप्नका निम्ति प्लान्टेसन गर्नका निम्ति विरुवारहरू ल्याएर हाम्रै नर्सरीमा राखिसकेको अवस्था छ । यस्ता धेरै कामहरू गरिरहेका छौँ ।
त्यसैगरी अन्तु पोखरी, बुद्धपार्क, किसानको गाईको गोठ, किसानको बारीमा घाँसको खेती, किसानको बारीमा यान्त्रिकीकरण, घाँस काट्ने प्रविधि, एक वडा एक बाह्रमासे सडक, १४ वडामा नयाँ वडा भवन, १४ वडामा १४ वटै स्वास्थ्य केन्द्रहरू, नगरको आवधिक योजना, नगरको सडक गुरुयोजना अनुसार कार्य प्रारम्भ, कार्यालय भवन निर्माण, चियामा न्यूनतम समर्थन मूल्य निर्धारण, केही उदाहरणहरू हुन् ।

तपाईं निर्वाचित भएर आएपछि सूर्योदय गरपालिकालाई देशकै नमुना नगर बनाउँछु भन्नुभएको थियो । के छ अहिलेको अवस्था ?

यस नगरपालिका नमुना नगरपालिका उन्मुख भइरहेको छ । नमुना नगरपालिका बनाउनको निम्ति आवश्यक पर्ने नीति, ऐन, दीर्घकालीन योजना आवधिक योजना, लक्ष्य र उद्देश्यका साथ निकै लामो अध्ययन गरी कार्यान्वयनको चरणमा प्रवेश गरेका छौँ । यो सूर्योदय नगरपालिका अवश्य नमुना नगर बन्न सक्ने प्रसस्त आधारहरू छन् । नमुना नगरपालिकाको निम्ति सुशासन, शिक्षा, स्वास्थ्य, यातायात भौतिक पूर्वाधार वातावरण महिला तथा बालबालिका, फोहोरमैला व्यवस्थापन, वातावरण संरक्षण, पर्यापर्यटन र युवा तथा ज्येष्ठ नागरिकको क्षेत्रमा योजनाबद्ध कामहरू भइरहेका छन् भने स्थानीय कृषिसँग सम्बन्धित विषयमा अनुसन्धान गर्ने कार्यहरूको निम्ति पनि नगर अगाडि बढिसकेको छ । उदाहरणका लागि, टि टेस्टिङ प्रोमोसन एन्ड रिसर्ज सेन्टर जुन नेपालकै ब्ल्याक अर्थोडक्स चियाको पहिलो अनुसन्धान केन्द्र हो । यसै गरी शिक्षामा करफोक माध्यमिक विद्यालयलाई शिक्षण विधिको मात्र नभई आजको आवश्यकता पूर्ति गर्ने दक्ष जनशक्ति उत्पादन गर्ने संस्थाको रूपमा निर्माण गर्न आवश्यक बजेटको व्यवस्थापन गरी निर्माणको चरणमा गइसकेका छौँ ।

बेरोजगारी समस्याको बारेमा केही परिवर्तन भएको छ ?

कृषिलाई आधुनिकीकरण, व्यवसायीकरण र यान्त्रिकीकरण गराई युवाहरूलाई आकर्षण गराउने नगरपालिकाको लक्ष्य छ । पर्यटन प्रवद्र्धन गरी रोजगार सिर्जना गर्ने नगरपालिकाको योजनाअनुसार विभिन्न पर्यटकीय स्थानहरूमा रोजगार उपलब्ध गराउने काम भएको छ । कन्याम क्षेत्रलाई पर्यटकीय स्थलको रूपमा रूपान्तरण गरी १ सय ३७ भन्दा बढी स्टलहरू निर्माण गराई स्वरोजगार र रोजगारीको अवसर उपलब्ध गराउने काम भएको छ । सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी घोषणा गरि दर्जनौँ होटल, होम–स्टे, रेस्टुरेन्टहरू सञ्चालन गर्न प्रोत्साहन गरिएको छ । आन्तरिक बाह्य पर्यटकहरूलाई नगरपालिकामा भित्र्याई स्थानीयलाई रोजगार र स्वरोजगारको वातावरण बनाउन नगरपालिकाले विविध क्रियाकलापहरू सञ्चालन गर्दै आइरहेको छ । यसरी नगरपालिकाले बेरोजगार समस्या समाधान गर्न भूमिका खेलेको छ ।

स्थानीय सरकार चलाउन खास समस्या के–के रहेछन् ?

स्थानीय सरकार नेपाल संघीयतामा गइसके पछाडि हाम्रा लागि नयाँ अभ्यास थियो । सरकार सञ्चालन गर्न स्थानीय कानुनको आवश्यकता र कानुनहरू निर्माण गर्न सहज थिएन । स्थानीय सरकार सञ्चालन गर्नका निम्ति भौतिक पूर्वाधारको अभाव, कर्मचारीको अभाव, दक्ष जनशक्तिको अभाव, तीन सरकार बीचको सहकार्य र समन्वयको अभाव प्रारम्भिक चरणमा कार्यसम्पादनको अभावहरू थियो । सिंहदरबार जनताको घरघरमा भन्ने नाराले जनताको इच्छा, आशा, चाहाना र आवश्यकता रातारात पूरा भइहाल्छ भन्ने सोचको कारण जनप्रतिनिधि र जनता बीचमा द्वन्द्वहरू सिर्जना हुने जटिल परिस्थिति र चुनौतीहरू थिए । यी सबै समस्या र चुनौतीहरूलाई सही दिशामा ल्याउन र योजनबद्ध अगाडि बढाउन प्रारम्भिक दिनहरू निकै कठिन थिए । हामीले दुई वर्षभन्दा बढी कानुन निर्माण, कर्मचारी समायोजन र वडा कार्यालयहरूको व्यस्थापन गर्न समय खर्चिनु पर्यो ।

स्थानीय प्राकृतिक स्रोतसाधनको उत्खनन् र उपयोग कत्तिको व्यवस्थित गर्नुभएको छ ?

स्थानीय रूपमा प्राकृतिक स्रोत साधनका क्षेत्र हाम्रो नगरपालिकामा त्यति उल्लेख्य मात्रामा छैनन् । अलिअलि भएकालाई ऐनकानुनको निर्माण गरी वातावरणीय प्रभाव मूल्यांकनका आधारमा आवश्यक मात्रामा प्रयोग, उपयोग र संरक्षण गर्ने नीति अवलम्वन गरिएको छ ।
आर्थिक पारदर्शिताका चुनौती के कस्ता छन् रु
आर्थिक पारदर्शिता सुशासनको महत्वपूर्ण अंग हो । आर्थिक पारदर्शिताको निम्ति नगरपालिकाले विभिन्न विधिहरू अपनाएको छ । सूर्योदय नगरपालिका प्रविधिमैत्री नगरपालिका यहि आर्थिक वर्ष ०७८र७९ को पहिलो चौमासिक सत्रदेखि प्रारम्भ हुनेछ । सूर्योदय गगरपालिकाले नियमित रूपमा सार्वजनिक सुनुवाई कार्यक्रम सञ्चालन गर्दै आएको छ । आर्थिक पारदर्शिताकै निम्ति यस नगरपालिकाले इन्टरनेटको पहुँच नभएको अवस्थामा पनि इन्टरनेट प्रयोग गरी सबै वडामा अनलाइनमार्फत कार्यालयको कामहरू प्रारम्भ गरेको थियो । अहिले हामी फाइबर टु द होम अप्टिकल फाइबरमा आइपुगेका छौँ । हामसँग स्क्रिन टच मेसिन, अनलाइन पेमेन्ट, अनलाइन सिफारिस आदि इत्यादि प्रविधि प्रयोग गरी आर्थिक पारदर्शिता दिन खोजेका छौँ । ग्लोबल पोजिसनिङ सिस्टमको निम्ति नगरपालिका मात्रै भएका सम्पूर्ण सवारी साधनहरूमा जिपिएस मेसिन जडान गरिएको छ । जसको कारण इन्धनको वचत, सवारी साधनको समयमै मर्मत संभार, सवारी साधनहरूको ट्रयाकिङ, कुनै सवारी साधन दुर्घटना परेको खण्डमा सहज रूपमा पहिचान र उद्दार गर्ने गरी व्यवस्था मिलाइएको छ । नगरपालिकाले आन्तरिक नियन्त्रण प्रणाली, सुशासन ऐन, सूर्योदय नगरपालिकाको वित्तीय सुशासन, जोखिम मूल्यांकन कार्यविधि २०७७ निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको छ । यसबाट पनि आर्थिक पारदर्शिता कायम गर्न सहज भएको छ ।

संघ र प्रदेश सरकारको व्यवहार कस्तो पाउनुभएको छ ?

स्थानीय, प्रदेश र संघीय सरकारले गर्ने र अधिकारहरू संविधानअनुसार हुनेछ । प्रदेश, संघ र स्थानीयले संविधानले दिएको अधिकार प्रयोग गरी आफ्नो क्षेत्राधिकारभित्र रहेर काम गर्नेछ । स्थानीय सरकार सञ्चालन ऐनले स्थानीय सरकारहरूले गर्ने कामहरूको बारेमा स्पष्ट पारेको छ । संघ, प्रदेश र स्थानीय तह बिचको सम्बन्धको बारेमा सहकार्य, सहअस्तित्व र समन्वयको सिद्धान्तको आधारमा हुने भनेर संविधानले प्रदत्त गरेको अधिकार हो । तर तीन तह सरकार बिचको सम्बन्ध अझै स्पष्ट छैन । संघीय सरकारको सोच अझै केन्द्रिकृत र एकात्मक राज्य व्यवस्थाको भन्दा माथि धेरै कुरामा उठ्न सकेको छैन । राष्ट्रिय योजना आयोगले तीनै तहका सरकारले गर्ने योजना र आयोजनाहरूको कार्यविधि निर्माण गरिसकेको छ । तर, धेरै संघीय सरकारको मन्त्रालयहरूको बजेट स्थानीय र प्रदेश सरकारसँग समन्वय नगरी स्थानीय तहका बजेटहरू भन्दा सानातिना प्रतिफल नदिने खालका रहेका छन् । संघीय सरकारले मापदण्ड, आवश्यकता र क्षेत्राधिकार भन्दा बाहिर गई आफू अनुकूल बजेटहरू निर्माण गर्नाले पनि हामी स्पष्ट हुन सक्छौँ कि संघीय सरकारको व्यवहार कस्तो छ भनेर । साथै प्रदेश सरकार सम्पूर्ण व्यवस्थापनको निम्ति अधुरा रहेका छन् । प्रदेश सरकारले संविधानले दिएको सम्पूर्ण अधिकार प्राप्त गरिसकेको अवस्था छैन । त्यसैले प्रदेश सरकारले स्थानीय सरकारप्रति गरेको व्यवहारको बारेमा धेरै कुरा भन्न अहिले नै चाँडो हुनेछ ।

तपाईंले चाहेर पनि गर्न नसकेका काम केही छन् ?

कोरोना भाइरस ९कोभिड–१९० को कारण जुन गतिमा नगरपालिकाले काम गर्नुपर्ने थियो । त्यो कार्य गर्न सकेन । हामीले प्रारम्भ गरेका आयोजनाहरूको प्रतिफल, उपलब्धी र परिणामहरू स्पष्ट नगरवासीले देख्न सकेनन् । हामीले हाम्रो कार्यलाई म्याराथुन दौडसँग दाँजेर हेरेका छौँ । म्याराथुनमा जसरी प्रारम्भ गरेको दौडलाई अन्तिम विन्दुमा पुगी जित हासिल गरिन्छ, त्यसैगरी हामीले गरेका योजना, आयोजनाहरू प्रारम्भ गरेर पूर्ण रूपले सम्पन्न गर्नुपर्ने थियो, तर कोभिड अवरोधको रूपमा उपस्थित भएर आयो । फलस्वरूप धेरै आयोजनाहरूमा प्रतिफल प्राप्त गर्न सकिएन । तैपनि अझ हामीसँग केही महिनाहरू छन् । उच्च मनोबल र दृढ इच्छाशक्तिका साथ कामहरू गरिरहेका छौँ । भनिन्छ, दृढ इच्छाशक्तिले पहाड सार्न सकिन्छ भने झैँ, रहेका महिनाहरूमा हाम्रो दृढ इच्छाशक्तिले नगरवासीका थुप्रै इच्छा र आवश्यकता पूरा गर्न सकिन्छ भन्ने विश्वास छ ।

सञ्चार क्षेत्रसँग कसरी समन्वय गर्दै हुनुहुन्छ ?

सञ्चार क्षेत्रसँगको समन्वय राम्रै छ । सञ्चार क्षेत्रबाट हामीले पर्याप्त मात्रामा सहयोग पाएका छौँ । नगरले गरेका राम्रा कामहरू नागरिकसम्म पु¥याउन उहाँहरूले राम्रै प्रचार गर्नुभएको छ । नराम्रा कामहरूको बारेमा प्रश्न उठाइदिनु पनि भएको छ । त्यसका लागि हामीले धन्यवाद पनि दिएका छौँ । त्यसले गर्दा हामीले सिक्ने मौका पनि पायौँ । त्यसलाई सुधार गरेर जानुपर्छ भन्ने शिक्षा लिँदै हामी अगाडि बढेका छौँ । यदि सकारात्मक मात्र आउने हो भने त त्यसले त्यति काम नगर्दो् रहेछ तर नकरात्मक पक्ष पनि आइदियो भने अझ सतर्क भएर हामीलाई काम गर्ने वातावरण बन्दो रहेछ भन्ने मेरो हालसम्मको कार्यकालबाट अनुभव गरेको छु ।

अन्त्यमा थप केही भन्न चाहनुहुन्छ ?

मैले गरेका काम र चुनौतीको बारेमा यतिका धेरै कुरा राख्ने अवसर दिनुभएकोमा धेरैधेरै धन्यवाद दिन चाहन्छु । म नगरप्रमुख हुन्जेल होइन भोली मेरो कार्यकाल सकिएपछि पनि नगरपालिकाको विकासमा म सधैँ लाग्ने प्रतिवद्धता गर्दछु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार