“रातो सुन”को राजधानी चिलिङ्देन,करोडौं आम्दानीको श्रोत बन्दै अकबरे खुर्सानी (फोटो फिचर सहित)

  युद्धबहादुर बोहोरा
1.7k Shares

 

पाँचथरः  हरेक हप्ताको बिहान फाल्गुनन्द गाँउपालिका वडा नम्बर ४ स्थित चिलिङ्देनको उकालो बाटोमा डोकोमा भारी बोक्नेको ताँती भेटिन्छन् । उनीहरुको डोकोमा रातो अकबरे खुर्सानी हुन्छ । करिब ५० किलोग्राम बराबरको एकाबिहानै खुर्सानीको भारी बोकेर संकलन केन्द्रमा पसिना पुच्छदै पुग्ने गर्दछन् उनीहरु । त्यहाँ पुग्नलाई लगभग एक घण्टा भन्दा बढी समय लाग्छ तैपनि उनीहरु दुखित छैनन् ।

श्रावणदेखि बेर्ना आफैं उत्पादन गरेर फागुन-चैत महिनामा रोपेको अकबरे खुर्सानीको बिरुवाले असार अन्तिम हप्तादेखि आम्दानी दिन थालेको छ । प्रत्येक वर्ष नयाँ विरुबा रोप्ने गरेको र एक बोटले न्यूनतम पाँचसय ग्रामदेखि एक किलोसम्म उत्पादन हुने किसानहरु बताउँछन् । यतिबेला प्रति किलोग्राम तीन सयदेखि तीन सय ५० रुपैंयासम्म बिक्रि हुने गरेको छ । उनीहरुले रोपेर बचेको बेर्ना प्रति गोटा २ देखि ५ रुपैंयासम्म बिक्रि पनि गर्दछन् । पहाडका कृषकको करोडौ आम्दानीको श्रोत बन्दै गरेको अकबरे खुर्सानी दिनहुँ ग्राहकको माग बढ्दो छ । यो बेला उनीहरुको आम्दानी भित्रयाउन मारामार छ ।

कर्मचारी,राजनितीकर्मी,किसान सबै एकछत्त छन् खेतीमा । घरैपिच्छे व्यावसायिक अकबरे खुर्सानी खेती गर्ने मानिस प्रशस्त भेटिन्छन् । कालो सुनका नामले परिचित अलैची जस्तै अकबरे खुर्सानीले पनि “रातो सुन” उपनाम पाउन थालेको छ । अकबरे खुर्सानीको राजधानी भनेर चिनिएको चिलिङ्देनमा २०-२५ वर्ष अघिदेखि किसानले यसको खेती गर्दै आएका थिए । त्यसपछि २०६९ सालमा सिरिजङ्गा कृषि सहकारी संस्था दर्ता गरि व्यावसायिक खेती र सामुहिक बिक्रि गर्न थालिएको संस्थाका अध्यक्ष तारावीर नेम्बाङ बताउँछन् । विभिन्न संस्थाबाट सम्मानित भएको यस संस्थामा हाल ६० जना सदस्यले लागभग दुई सय रोपनी जमीनमा रोपेको खुर्सानी संस्थाले स्थापना गरेको चारवटा संकलन केन्द्रमा हरेक हप्ता जम्मा गर्ने गर्दछन् । हप्तामा २५ देखि ३० क्वीन्टल जम्मा हुने खुर्सानी झापामा रहेको मगमग चाउचाउको डिलरले खरिद गरिरहेको संस्थाका सचिव इन्द्र नेम्बाङले जानकारी दिए । यसअघि सुनसरी जिल्लाको इटहरीस्थित रिजल टासी ड्रप कम्पनीले लैजाने गरेको थियो । संस्थाका धेरै सदस्यले कतिपय बजारमा व्यक्त्तिगत रुपले बिक्रि गरिरहेको हुँदा खरिद गर्ने डिलरको माग अनुसार खुर्सानी पुर्याउन नसकेको उनको भनाइ छ ।

बचत तथा ऋणको समेत कारोबार गर्ने यस संस्थाको जम्मा ४५ लाख बराबरको आर्थिक कारोबार हुदै गरेको बताइएको छ । यस संस्थामा हाल चारसय सदस्य छन् । संस्थालाई,अकबरे खुर्सानी उत्पादन,प्रसोधन तथा बजारीकरणसंग सम्बन्धित क्रार्यक्रम २०७१-२०७४ सम्म पाँचथर उद्योग वाणिज्य संघको आयोजनामा एक गाँउ एक उत्पादन क्रार्यक्रम संचालन गरेको थियो । नेपाल उद्योग वाणिज्य महासंघ कृषि उद्यम केन्द्र काठमाण्डौको सहयोगमा तालिम सम्पन्न गराइसकेको जनाइएको छ । त्यस्तै, प्रदेश सरकारको सहयोगमा कृषि ज्ञान केन्द्र पाँचथरद्वारा प्राविधिक सहयोग सहित दुईवर्ष पहिलेदेखि अकबरे खुर्सानीको ब्ल्क कार्यक्रम संचालन आएको छ । ब्ल्क क्रार्यक्रम मार्फत मल्चिङ प्लाष्टिक,मिनीटिलर,प्लाष्टिक टनेल,स्प्रे लगायतका सामाग्री उपलब्ध गराउँदै आएको सचिव नेम्बाङले बताए ।

सोही वडाका डम्बर नेम्बाङ(गोवा) ले करीब चार रोपनी जमिनमा ५० हजार रुपैंया लागतमा १८ सय वटा विरुवा रोपेर अहिले हप्ताको ६० किलोग्राम खुर्सानी झापाको दमकमा पठाउने गरेको बताए । उनले गरेको व्यावसायिक खेतीबाट महिनामा लगभग ७० हजार रुपैंया बराबरको आम्दानी हुने उनको भनाइ छ । बिहानै डोकोमा उनको श्रीमतीको साथमा दुई घण्टाको बाटो हुँदै बोकेर ल्याउने र झापा जाने गाडीमा क्यारेटमा भरेर पठाउने गर्दछन् । मेहनत गरे विदेशमा गएर कमाई गरे जति घरैमा कमाई हुने उनको दावी छ ।

मकै खेती गर्नु भन्दा धेरै किसान अकबरे खुर्सानीको व्यावसायिक खेती गर्न रुचाउँन थालेको बताउँछन् इलाम फाकफोकथुम-१, खाम्बाङ निवासी लाल बहादुर र खगेन्द्र बोहोरा । उनीहरुले चार वर्ष पहिले बहुवर्षे अकबरे खुर्सानी लगाएका थिए । अहिले महिनामा ३५ देखि ४५ हजार सम्मको खुर्सानी बिक्रि गर्ने गरेको बताए । शुद्ध अर्गानिक उत्पादन गरेको दावी गर्ने बोहोराले भने, “धेरैजसो खुर्सानी घरैबाट ग्राहकले लैजाने गरेका छन्, अहिले बजार खोज्न टाढा जानु परेको छैन ।”

अकबरे खुर्सानीको यस समयमा सबैतिर चर्चा हुने सिजन छ । यसैबीच,इलाम फाकफोकथुम गाँउपालिका उपाध्यक्ष सरस्वती राई(सरु) वडा नम्बर ५ लुम्देका किसानले बारीमा टिप्दै गरेको खुर्सानी रहरले हातमा देखाउँदै किसानलाई उत्साह थप्न सामाजिक संजालमा हालेकी छिन् । त्यस्तै,फाल्गुनन्द -५ का युवा उद्यमी भीम चेम्जोङ पनि खुर्सानी खेतीको तस्वीर फेस्बुकमा हालेर प्रचार गर्दछन् । वडा नम्बर ४ का स्थानीय अगुवा कृषक बेलाबेला उनको याङ्फुङ् कृषि फर्मबाट हुँदै प्रगति भिडियो सामजिक संजालमा हालेर विज्ञापन समेत गर्छन् । बिभिन्न क्षेत्रबाट सम्मानित भइ प्रशिक्षकको समेत भुमिका निर्वाह गरेका उनले सब्जी खेती सम्बन्धि जानकारी मुलक प्रशिक्षण पनि दिने गरेका छन् । धेरै किसिमको सब्जी खेती गरेर वर्षेनी लाखौं रुपैंयाको आम्दानी गर्ने नेम्बाङले बेर्नाको लागि बियाँ र तयारी बेर्ना बिक्रि गर्दे आएको बताए । उनको फर्ममा उत्पादन भएको तरकारीजन्य वस्तु स्थानीय बजार राँके,देउराली,पुरानो पञ्चमी घुर्बिसे पञ्चमी,उत्तरे,सप्तमी,रवि लगायतका क्षेत्रमा बिक्रि हुने गरेको बताउँछन् ।

 

शुरुवातको समयमा रोप्ने ड्याङ् बनाउन खर्चिलो हुने,मल खरिद गर्न र सामाग्री जस्ता कठिनाई व्होर्नु पर्दा झन्झट भएता पनि बिरुवा राम्रो हुर्किएमा दुहुनो गाई सरह दैनिक आयश्रोत हुने उनको भनाइ छ । तर प्राविधिक ज्ञानको अभाव र रोपेको बिरुवा बढी पानी परेका कारण मर्ने,चिसो,सित,तुसारोको असर भएमा खेती गर्न समस्या हुने उनले बताए ।

प्रत्येक नेपालीले कौशीखेती गर्न समेत रहर गर्ने अकबरे खुर्सानी कतिपय मानिसहरु खुर्सानी विना खाना नखाने पनि छन् । घुर्बिसे निवासी सिता रहपाल सुतकेरी अवस्थामा डाक्टर र परिवारले नखानु भनेको खुर्सानी पनि लुकाएर हरेक समय खाएको बताउँछिन् । त्यसको स्वादले धेरै खाना रुचाउने र अत्यन्तै स्वादिलो हुने उनले बताइन् । मसला,अचारजन्य वस्तुको निर्माण,तयारी खाना,होटल,रेष्टुरेन्ट,खाजा घर,तरकारी लगायतमा प्रयोग हुने अकबरे खुर्सानी पहाडी क्षेत्रमा सामान्यतया गर्मी याममा र न्यानो मौसममा हुने वाली हो । यसले तुषारो र धेरै चिसो पनि सहन सक्दैन त्यसैले टनेल खेती गर्न थालिएको छ । अन्तराष्ट्रिय बजारमा पनि कोशेलिको रुपमा जाने गरेको अकबरे खुर्सानी डाक्टरले ग्याष्ट्रिक र चिसोबाट बच्न पनि प्रयोग हुने समेत सल्लाह दिने गरेको पाइन्छ । पूर्वीपहाडी इलाम,पाँचथर,तेह्रथुम, धनकुटा, सङ्खुवासभा, भोजपुर लगायतका जिल्लाहरूमा राम्रो उत्पादन हुने गर्दछ । पहाडको खुर्सानी निक्कै लोकप्रिय मान्ने गरेको पाइन्छ ।

 

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार